Logo

करवृद्धिको विरोधमा नगर प्रमुखलाई ज्ञापनपत्र

दाङ– नेपाली कांग्रेस घोराही नगर समितिले घोराही उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा गरेको कर वृद्धिको विरोधमा नगर प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ । सम्पत्ति कर र भूमी करमा गरिएको वृद्धिले जनतालाई मारमा पर्ने काम गरेको भन्दै उक्त निर्णय सच्याउन माग गर्दै नगर समितिले मंगलबार ज्ञापनपत्र बुझाएको हो ।

करमा गरिएको वृद्धि नसच्याए थप संघर्षका कार्यक्रम गर्ने समितिले जनाएको छ । ज्ञापनपत्रमा घोराही उपमहानगरपालिकाले सम्पत्ति कर र भूमि करको दर शीर्षकअन्तर्गत भूमि कर अनुसूची –१ दफा (२) र (३) सँग सम्बन्धित करवृद्धि र व्यावसायिक कर अनुसूची–३ दफा ५ सँग सम्बन्धित सबै व्यवसायमा अधिकतम करवृद्धि हुनुले स्थानीय सरकार जनतामुखी नभएको भन्दै ध्यानाकर्षण जनाएको हो ।

नगर सभापति तिलक रावतको हस्ताक्षरमा जारी ज्ञापनपत्रमा स्थानीय निर्वाचन सम्पन्न भएको भन्दै अढाई वर्षसम्म जिम्मेवार प्रतिपक्षको भूमिका निभाउँदै संगठनका गतिविधि निभाएको अवस्थामा स्थानीय सरकारले कमजोर ठान्नु कुनै नियत र दृष्टि सफा छैन कि भन्ने आभास भएको उल्लेख छ । ज्ञापनपत्र बुझ्दै नगर प्रमुख नरुलाल चौधरीले लामो समयपछि स्थानीय सरकारले करमा हेरफेर गरेको र यो कर जनताकै सेवामा लाग्ने बताए ।

नगरको सुगम क्षेत्रमा विकास भए पनि ग्रामीण क्षेत्रमा अहिले पनि सडक, खानेपानी, सिँचाइलगायतका विकास निर्माणका कार्य गर्नका लागि घोराहीमा सात वर्षपछि करको दरमा हेरफेर गरेको उनको भनाइ छ । वृद्धि गरिएको कर नगर सभावाट सबैको सहमतिमा पास भएको भन्दै नगर प्रमुख चौधरीले बढेको कर नगरवासीकै सेवामा लाग्ने बताए ।

राजस्व बढाउने आफ्नो कुनै उद्देश्य नरहेको भन्दै नगर प्रमुख चौधरीले नगरवासी वा व्यवसायीलाई साच्चिकै मर्का पर्ने गरी वृद्धि भएको भए छलफलका माध्यमबाट पुनर्विचार गर्न तयार रहेको बताए । ‘विरोधका नाममा विरोध गर्नका लागि मात्र होइन, विकास निर्माणका सवालमा नियमित खवरदारी आवश्यक छ । करको विषयमा तपाईहरुले उठाएर राम्रो गर्नु भएको छ’ नगर प्रमुख चौधरीले भने ।

दुई हजारदेखि १२ हजारसम्म बहाल कर
घोराही उप महानगरपालिकाले घोराहीमा व्यावसायिक बहाल कर प्रयोजनका लागि प्रति सटर दुई हजारदेखि १२ हजार रुपैयाँसम्म निर्धारण गरेको छ । उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ का लागि उक्त रकम निर्धारण गरेको हो । अघिल्लो आर्थिक वर्षमा दुई हजारदेखि १० हजार रुपैयाँसम्म लिने गरेको थियो ।

उपमहानगरले निर्धारण गरेको मूल्यअनुसार प्रति सटर घरबहाल कर लिने कार्य लागु भइसकेको छ । तर, यसभन्दा बढी मूल्यमा घर भाडामा लगाउने गरेका छन् । बजारको मूख्य चोकमा प्रति सटर न्यूनतम ५० हजार भाडामा लगाउने गरिएको छ । तर यसतर्फ उप महानगरपालिकाले ध्यान दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्