Logo

टेलिकमलाई फाइभजी सेवा विस्तार गर्न निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालका प्रमुख सहरहरूमा फाइभजी सेवा तुरुन्तै सुरु गर्न टेलिकमलाई निर्देशन दिएका छन् । मंगलबार नेपाल टेलिकमको २१ औं वार्षिकोत्सव कार्यक्रममा मन्त्री गुरुङले उक्त निर्देशन दिएका हुन् ।

विश्वभर ‘सिक्सजी’ प्रविधि अगाडि बढिरहेको अवस्थामा नेपालमा फाइभजी प्रविधिको तत्काल कार्यान्वयन आवश्यक रहेको उनले बताए । टेलिकमले फाइभजी नेटवर्क परीक्षण थालेको दुई वर्ष बितिसकेको छ । तर, व्यावसायिक रूपमा मोबाइल सेवाको यो पछिल्लो पुस्ता कहिलेदेखि सुरु हुन्छ भन्ने विषय अनिश्चित रहँदा मन्त्री गुरुङले तत्काल कार्यान्वयन गर्न टेलिकम व्यवस्थापनलाई सुझाएका हुन् ।

टेलिकमले आफ्नो १९औँ वार्षिकोत्सवको अवसर पारी २०७९ माघदेखि काठमाडौंमा फाइभजीको आन्तरिक परीक्षण थालेको थियो । यो अवधिमा बबरमहल, सुन्धारा, पोखरा र वीरगन्जमा रहेका टेलिकमका कार्यालयमा फाइभजी उपकरणहरू जडान गरी आन्तरिक परीक्षण गरिएको छ । एक वर्षका लागि परीक्षणको अनुमति पाएको टेलिकमले दुई वर्ष बित्दासम्म समेत व्यावसायिक विस्तारका लागि रणनीतिक योजनासहित अगाडी बढ्न सकेको छैन ।

त्यसैले अब भने टेलिकमलाई फाइभजी विस्तार गर्न नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरण र तालुक मन्त्रालय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जोड दिन थालेका छन् । नियामक प्राधिकरणले २०७८ साउनमा सर्वसाधारणले समेत नि:शुल्क चलाउन पाउने गरी फाइभजी परीक्षण गर्न टेलिकमलाई २६ सय मेगाहर्ज ब्याण्ड अन्तर्गत ६० मेगाहर्ज फ्रिक्वेन्सी नि:शुल्क उपलब्ध गराएको निर्णय गरेको थियो ।

मन्त्री गुरुङले नेपाललाई डिजिटल युगमा अगाडि बढाउन र कृषि, स्वास्थ्य, शिक्षा, ऊर्जा, पर्यटनलगायतका क्षेत्रमा फड्को मार्न टेलिकमले थप योगदान गर्नु पर्ने धारणा राखे । फोरजी सेवा विस्तार र स्थानीय तहसम्म ब्रोडब्यान्ड सेवा पुर्‍याउने कार्यलाई प्राथमिकता दिनुपर्नेमा पनि उनले जोड दिए । टेलिकम कम्पनीहरूको राजस्व डेटा सेवामा निर्भर हुनुपर्ने समय आएकोले सोही अनुसार अगाडि बढ्न उनले सुझाव दिए ।

प्राधिकरण अध्यक्ष भुपेन्द्र भण्डारीले टेलिकमले सधैं ग्राहक सन्तुष्टिलाई ध्यानमा राखेर आफ्नो एक्सन प्लानसहित अगाडि बढ्नुपर्ने बताएका छन् । टेलिकमका सम्बन्धमा अहिले पनि गुणस्तर, सेवालगायतका विषयमा गुनासा रहेको भन्दै त्यसको सम्बोधन हुने गरी नेटवर्क अप्टिमाइजेसन, फोरजी विस्तारलाई तीव्रता दिँदै फाइभजीमा पनि लगानी गर्न आग्रह गरेका छन् ।

उनले प्राधिकरणको तर्फबाट गर्नुपर्ने सहयोगका सम्बन्धमा सधैं खुला रहेको बताउँदै फ्रिक्वेन्सी पनि पर्याप्त भएको बताएका छन् । यता नेपाल टेलिकम सञ्चालक समितिमा कर्मचारीको प्रतिनिधित्व गर्ने सञ्चालक लोकबहादुर कटुवालले भने फाइभजी विस्तारका लागि धेरै ठूलो लगानी चाहिने भएकोले एउटा निश्चित समयसम्मका लागि सरकारले संरक्षण गर्नुपर्ने बताए ।

घरमै बसेर लिन सकिन्छ टेलिकमको सिम
टेलिकमको इ–सिम अब एप र वेबसाइटबाटै पाइने भएको छ । मंगलबारबाट इ–सिम सेवा लिन सकिने टेलिकमले जनाएको छ । २१ औं वार्षिकोत्सवको अवसर पारेर उक्त सेवा सुरु गरेको टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडीले बताइन् । उनका अनुसार अहिलेसम्म ग्राहकहरूले इ–सिम लिनका लागि काउन्टरमा जानुपर्ने बाध्यता थियो अब ग्राहकहरूले यो सेवा नेपाल टेलिकम एप र वेबसाइटमार्फत् सहजै प्राप्त गर्न सक्नेछन् । इ–सिम एक प्रकारको भर्चुअलअर्थात् इलेक्ट्रोनिक सिम हो । इ–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रूपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन ।

यसका लागि इ–सिम सपोर्ट गर्ने ह्यान्डसेट भने आवश्यक हुन्छ । यसबाट फोन गर्ने र डाटा चलाउनेलगायतका विभिन्न कार्य गर्न सकिन्छ । इ–सिम प्रयोगमा आए पश्चात सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन । साथै, टेलिकमले ‘भो–वाईफाई’ सेवाको व्यावसायिक सुरुवात पनि गरेको छ । यस प्रविधिमार्फत भो–वाईफाई सपोर्ट गर्ने र भोल्ट सेवा सुरुवात गरिएका जुनसुकै मोबाइल फोनबाट देश तथा बाहिरबाट पनि वाईफाई नेटवर्कमार्फत् टेलिकमको मोबाइल नम्बरबाट भ्वाइस तथा एसएमएस प्रयोग गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्