पर्यटक पर्खाइमा भादा गाउँ होमस्टे

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका–१६ भादा गाउँको थारू होमस्टे पर्यटकको पर्खाइमा छ । विगत १२ वर्षदेखि सञ्चालनमा आएको उक्त क्षेत्रको थारु होमस्टेमा प्रचार–प्रसारको कमजोरीका कारण विदेशी पर्यटकको संख्या भने न्यून छ । भादा गाउँका थारु समुदायको कला, संस्कृति संरक्षण गर्ने र धेरैभन्दा धेरै पर्यटक भित्र्याउने उद्देश्यका साथ नेपाल भ्रमण वर्ष सन् २०११ को अवसर पारेर भादा गाउँमा होमस्टे सञ्चालन गरिएको थियो ।
११ घरबाट होमस्टे सुरु गरिएको भादा गाउँमा अहिले २० वटा घरमा होमस्टे थप भएका छन् भने हाल २० घरपरिवारले होमस्टे चलाइरहेका छन् । २७५ घरधुरी रहेको भादा गाउँमा थप अन्य परिवारको होमस्टे समेत उत्तिकै आकर्षण देखिने गरेको छ । त्यसैगरी धनगढी उपमहानगरपालिका–१६ का वडाध्यक्ष रामलाल चौधरीले जुन हिसाबले बाह्य पर्यटक होमस्टेमा आउनुपर्ने हो त्यो संख्यामा विदेशी पर्यटकको संख्या निकै न्यून रहेको बताए ।
‘१२ वर्षदेखि सञ्चानलमा आएको उक्त होमस्टेमा स्वदेशी पर्यटक भने आइरहेका छन्,’ उनले भने, ‘सबैभन्दा बढी विद्यार्थी आइरहेका हुन्छन् । वार्षिक ६० हजार स्वदेशी पर्यटक होमस्टेमा आउने गरेका छन् भने कहिले काहीँ फाट्टफुट्ट विदेशी पर्यटक पनि आउने गर्छन् ।’ यहाँ आएर थारु समुदायको बारेमा राम्रोसँग अध्ययन अनुसन्धानदेखि थारु समुदायको भेषभूषा, कला, संस्कृति, रीतिरिवाज, थारु भाषा र थारु खानाका परिकार बढी मन पराउने र त्यसमा रमाउने गर्दछन् ।
वडाध्यक्ष चौधरीका अनुसार भादा गाउँमा ८० प्रतिशत थारु समुदायको बसोबास रहेको छ । भादा गाउँमा बसोबास गर्ने अधिकांश मानिस कृषि पेसामा आबद्ध छन् भने, धान र गहुँ खेतीलाई बढी प्राथमिकता दिने गरेका छन् । उक्त क्षेत्रका धेरै जसो व्यक्तिले च्याउखेती गर्दै आइरहेका छन् । वडाध्यक्ष चौधरीले प्रदेश र संघबाट समेत होमस्टेका लागि केही मात्रामा सहयोग भएको बताए । उनले भने, ‘भादा गाउँमा अहिले पनि मुख्य समस्याको रूपमा खानेपानी र बाटोको नै रहेको छ, जसले गर्दा सोचे अनुरुप पर्यटक आउन सकेका छैनन् । भादा गाउँमा खानेपानी आए पनि सबैको घरघरमा खानेपानीको पाइप पुग्न सकेको छैन ।’
यसै आवमा खानेपानीका लागि २० लाख रुपैयाँ बजेट आएको थियो भने, त्यसका लागि समेत आफूले काम गरिरहेको वडाध्यक्ष चौधरीले बताए । त्यसैगरी कञ्चनपुरको सुदूरपश्चिम विश्वविद्यालयबाट धनगढी उप महानगरपालिका–१६ को भादा गाउँमा सर्वेक्षणका लागि विद्यार्थीलाई लगेका विश्वविद्यालयका उपप्रध्यापक अमित यादवले भादा गाउँ पर्यटकका लागि मात्र नभई विद्यार्थीको अध्ययन अनुसन्धानका लागि उपयुक्त रहेको बताए । विद्यार्थीहरूले आफूले सिकेका कुरा आफ्नो जीवनमा कसरी प्रयोग गर्नुपर्छ भनेर भादा गाउँको उदाहरणसमेत दिएका छन् ।
उपप्रध्यापक यादवले सुदूरपश्चिममा आफू पहिलो पटक आएको र थारु समुदायको संस्कृतिसमेत पहिलो पटक देख्न पाएको भन्दै थारु समुदाय र भादा गाउँको बारेमा प्रशंसा गरे । उनले भादा गाउँमा सबैले एक पटक आएर यहाँको संस्कृति र परम्पराका बारेमा अवलोकन गर्न आवश्यक रहेको बताए । थारू होमस्टे भादा गाउँ पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले भादा होमस्टेमा अपेक्षाकृत फस्टाउन नसक्नुमा समयअनुसार सुविधा थप गर्न नसक्नु रहेको बताए ।
‘अहिले हेर्दा विगत १२ वर्षको तुलनमा होमस्टेमा धेरै परिवर्तन आएको छ,’ उनले भने, ‘तर धनगढीसहित अन्यतिरबाट भादासम्म पुग्ने बाटो अझै कच्ची छ । होमस्टे रहेको गाउँमा खानेपानीको सुविधा छैन । गाउँ नजिकको खोलामा दुई वर्षदेखि पुल नभएकाले पनि पर्यटनमा असर परिरहेको छ ।’ भादा गाउँका स्थानीयले पर्यटकका लागि नीति–नियमसमेत बनाएका छन् । गाउँका युवालाई स्वयंसेवकक रूपमा खटाइन्छ । उनीहरूले पर्यटकलाई असुरक्षा महसुस भएका बेला सुरक्षा दिने गर्छन् ।
तर, स्थानीय बासिन्दाको नीति नियममा नबसेर अरूलाई असर पुर्याउने पर्यटकलाई स्वयंसेवकले आफ्नो नियन्त्रणमा राख्ने गरेका छन् । नवनिर्मित घरमा ओढ्ने ओछ्याउनेदेखि लिएर सबै कुरा नयाँ नै व्यवस्था गरिएको छ । पर्यटककै लागि भनेर शौचालय र स्नान घरसमेत छुट्टै तयार गरेका छन् । कोहीलही ताल, बेहडाबाबा र होमस्टे जाने ठाउँमा होर्डिङ बोर्ड राखिएको छ । होर्डिङ बोर्डको सहायताले उक्त क्षेत्रमा जाने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज हुने अपेक्षा गरिएको छ ।
भादा गाउँमा आउने पर्यटकले थारू समुदायको परम्परागत जीवनशैलीको अवलोकन गर्ने गर्दछन् । पर्यटकका लागि तयार गरिएका घरसमेत परम्परागत तवरले नै निर्माण भएका छन् । ‘गाउँनजिकै रहेको जोगिन्या ताल, पाँच किलोमिटरमात्रै टाढा रहेको बेहडाबाबा मन्दिर, गणेश सामुदायिक वन पर्यटकका लागि अवलोकन गर्ने महत्त्वपूर्ण स्थान हुन्,’ उनले भने, ‘ताल वरपर क्षेत्रको शान्त वातावरणले यहाँ घुम्न जाने जो कोहीको मन लोभ्याउँछ । उक्त क्षेत्रको सामुदायिक वनमा जंगली जनावर र जडिबुटीको भण्डार नै छ । वन क्षेत्रमा स–साना जंगली जनावर सजिलै देख्न सकिन्छ ।’
पर्यटकलाई घुमाउन दुईवटा लहरू (परम्परागत गोरूगाडा) समेत तम्तयार हुन्छन् । लहरूमा एक पटक चारजनासम्म बस्न मिल्छ । लहरूमा बसेवापत केही शुल्क भने तिर्नुपर्ने हुन्छ । पर्यटकलाई गाउँ घुमाउन गाइडको व्यवस्था छ । तिनले विभिन्न जानकारी दिँदै गाउँ घुमाउँछन् । चौधरीका अनुसार खानपिनका लागि थारू समुदायमा पाइने प्राय: सबै परिकार यहाँ पाइन्छ । पर्यटकलाई नाचगान देखाउन सांस्कृतिक टोली बनाइएको छ ।