Logo

अर्थतन्त्रमा आशालाग्दा संकेत

कोभिड महामारीपछिका वर्षहरूमा मुलुकको अर्थतन्त्र विभिन्न कोणबाट समस्यामा पर्दै आएको छ । तीन वर्षअघि उच्च आयात र घट्दो रेमिटेन्सका कारण मुलुकमा वैदेशिक मुद्राको सञ्चितिमा डरलाग्दो अवस्था आयो । हामीकहाँ पनि श्रीलंका वा पाकिस्तानको जस्तै अवस्था आउने हो कि भन्ने संशय पैदा भयो । शोधनान्तर र चालु खाता घाटा उच्च बन्यो । अर्थतन्त्रको बाह्य क्षेत्रमा ठूलो समस्या देखियो । सरकारले तत्कालै वस्तु आयात नियन्त्रण गर्न केही नीतिगत कदम चाल्यो ।

केही वस्तुको आयातमा प्रतिबन्ध लगाइयो । सरकारको नीतिगत व्यवस्थापछि आयातमा उच्च दरले कमी आयो । रेमिटेन्स आयमा पनि बढोत्तरी भएकाले विदेशी मुद्रा सञ्चिति बढ्दै गयो । अर्थतन्त्रको बाह्य क्षेत्रमा क्रमश: सुधार आयो । सरकारी कदमले एकातिरको अवस्था ठीक पारे पनि अर्कातिर त्यसको असर देखियो । आयात रोकिएसँगै मुलुकको अर्थतन्त्रमा पनि सुस्तता छायो, जुन समस्या अहिलेसम्म कायमै छ । तर, पछिल्ला महिनाहरूको केही तथ्यांकले सुस्त अर्थतन्त्रमा धिमा गति आएको हो कि भन्ने संकेत गरेका छन् ।

नेपाल राष्ट्र बैंकले यो वर्षको ६ महिना (साउन–पुस) सम्मका तथ्यांक सार्वजनिक गरेको छ । ती तथ्यांकले आन्तरिक अर्थतन्त्र पनि चलायमान बन्न सुरु गरेको संकेत गरेका छन् । पुससम्ममा निर्यात तथा आयात दुवै बढ्दो क्रममा छन् । कुल वस्तु निर्यात ३१.८ प्रतिशतले बढेर ९८ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । यस्तै, कुल वस्तु आयात ७.१ प्रतिशतले वृद्धि भई ८ खर्ब २२ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा निर्यात ७.२ ले र आयातमा ३.१ प्रतिशतले कमी आएको थियो ।

वैदेशिक व्यापार आयात तथा निर्यात दुवै घट्दा अर्थतन्त्र सुस्त बनेकाले बढ्दै जानु अर्थतन्त्रले गति लिएको संकेत मान्नुपर्छ । अर्को, निक्षेप संकलन तथा निजी क्षेत्रमा जाने कर्जा प्रवाह पनि बढ्दै गएको छ । बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ३.७ प्रतिशत अर्थात् २ खर्ब ३९ अर्ब रुपैयाँले बढेको छ । पुससम्ममा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ५.२ प्रतिशत अर्थात् २ खर्ब ६५ अर्ब रुपैयाँले बढेको छ । अघिल्लो वर्ष यो बेला कर्जा प्रवाह ४ प्रतिशत अर्थात् १ खर्ब ९२ अर्ब रुपैयाँले मात्र बढेको थियो ।

पुससम्ममा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४.२ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३५.८ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमश: ६३.२ प्रतिशत र ३६.८ प्रतिशत थियो । यस्तै, औद्योगिक उत्पादन क्षेत्रतर्फ ८.४ प्रतिशत, निर्माण क्षेत्रतर्फ ७.७ प्रतिशत, थोक तथा खुद्रा व्यापारतर्फ ४.८ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फ ५.७ प्रतिशत, सेवा उद्योग क्षेत्रतर्फ ५.७ प्रतिशत, उपभोग्य क्षेत्रतर्फ ५.८ प्रतिशत र कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०.०२ प्रतिशतले बढेको छ ।

यसैगरी आवधिक कर्जा ३.१ प्रतिशत, मार्जिन प्रकृतिको कर्जा २६.३ प्रतिशत, ट्रस्ट रिसिट (आयात) कर्जा ५६.६ प्रतिशत, हायर पर्चेज कर्जा ३.८ प्रतिशत, नगद प्रवाह कर्जा ४.७ प्रतिशत र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ३.२ प्रतिशतले बढेको छ । यो अवधिमा अधिविकर्ष कर्जा मात्र ९.८ प्रतिशतले घटेको छ । खासमा मुलुकको बाह्य क्षेत्र मजबुत हुँदा पनि आन्तरिक क्षेत्र कमजोर भएकाले अर्थतन्त्र सुस्त हुन पुगेको थियो ।

अब आयात बढ्दा निजी क्षेत्रमा जाने कर्जामा पनि वृद्धि भएको छ । यसले पछिल्ला दिनमा निजी क्षेत्रको मनोबल बढ्दै गएको देखाउँछ । आयातमा सुधार आउनु भनेको आन्तरिक बजारमा माग बढेको हो । वस्तु तथा सामान बिक्री भएकै कारण आयात बढेको हो । बजारमा माग बढ्न सुरु भएपछि खुम्चिएको आन्तरिक औद्योगिक उत्पादन पनि बढ्न सुरु गर्नेछ । अहिले नै सरकारको राजस्व करिब १२–१५ प्रतिशतले बढेको छ ।

यस्तै पुँजीगत बजेट खर्चमा पनि सुधार देखिएको छ । सरकारले अध्यादेशमार्फत विभिन्न कानुन संशोधन गरेको छ । यसबाट निजी क्षेत्रको मनोबल बढेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले केही दिनअघि सार्वजनिक गरेको यो वर्षको पहिलो त्रैमासका तथ्यांकले पनि अर्थतन्त्रमा सुधारका संकेत गरेका थिए । निर्माण क्षेत्र अझै ऋणात्मक भए पनि अरू सबै क्षेत्रमा केही न केही सुधार आएको छ । यी सबैको प्रभावस्वरूप आगामी दिनमा अर्थतन्त्रको गति बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस्