Logo

वैदेशिक रोजगारीमा जाने ३३ प्रतिशत अदक्ष

काठमाडौं– चालु आवको साउनदेखि पुससम्म एक तिहाइ युवामात्र सीप सिकेर वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार विदेश गएका मध्ये ३३ प्रतिशत युवा सीप तथा क्षेत्रगत तालिम लिएर गएका छन् ।

यसैगरी पुनः श्रमस्वीकृति लिएर जाने श्रमिक विदेशमा सीप हासिल गरेर आए पनि सीप परीक्षण नगरी अदक्ष हैसियतमा जाने गरेको पाइ्एको छ । सीप भएर पनि त्यसको परीक्षण नगरी वैदेशिक रोजगारीमा जाने गरेका कारण ९४ हजार २०४ अर्थात् ३३ प्रतिशत श्रमिक अदक्ष रहेको सरकारी तथ्यांकले देखाउँछ ।

यसैगरी दक्ष र अर्धदक्ष भएर यो अवधिमा २ लाख ९३ हजार युवा विदेश गएका छन् । यसमध्ये पनि महिला श्रमिकको हिस्सा अझ कम छ । सरकारले २०७६ भदौबाट तोकिएको क्षेत्रअनुसार एक महिनाको सीपसम्बन्धी तालिम नलिएका युवा वैदेशिक रोजगारीमा जान नपाउने नियम बनाएको थियो ।

विदेश जानेमध्ये पुनः श्रमस्वीकृति लिनेको संख्या ठूलो रहेकोमा अदक्ष श्रमिकको रुपमा जाने संख्या उच्च छ । विदेशी भूमिमा सिकेको सीपलाई मान्यता नदिई पुनः अदक्ष हैसियतमा जानुले अन्तर्राष्ट्रिय बजारमा नेपाली श्रमिकको शोषण भइरहेको तथ्य स्थापित भएको विज्ञको भनाइ छ । तालिम नलिई विदेश जाने श्रमिकले कम तलबमा जोखिमपूर्ण काम गर्नुपर्ने हुन्छ ।

वैदेशिक रोजगार विभागका निर्देशक लोकनाथ भुसालले विगत ५ वर्षको तुलनामा तालिम लिएर जानेको संख्या बढ्दै गइरहेको बताए । सरकारले वैदेशिक रोजगारमा जानुअघि तालिमको व्यवस्था गर्न नसक्दा सीप सिकेर जानेको संख्या नबढेको हो । रोजगारीका लागि विदेश जानुअघि अनिवार्य रुपमा कामसँग सम्बन्धित तालिम लिनुपर्ने भए पनि हाल फर्किएका युवाका लागिमात्र कार्यक्रम सञ्चालन हुँदै आएको छ । सरकारले अनिवार्य गरेको तालिम प्रावधानलाई प्रभावकारी रुपमा लागु गर्न पूर्वाधार तयार गर्न नसकेका कारण ठूलो संख्यामा युवा तालिमविहीन भएर वैदेशिक रोजगारीमा जाने गरेको देखिन्छ ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का महासचिव जनक चौधरीले वैदेशिक रोजगारीमा जाने युवाको कामलाई आम्दानी र सुरक्षाका हिसाबले मर्यादित बनाउन चार वर्षअघि नै सीप विकास तालिम अनिवार्य बनाए पनि कार्यान्वयन नभएको बताए । रोजगारमूलक सीप विकास तालिम सञ्चालन कार्यविधि, २०७५ लागु भएपछि वैदेशिक रोजगारीमा जाने सबै युवा सीपयुक्त प्रमाणपत्रको आधारमा जानुपर्ने थियो । वैदेशिक रोजगार ऐनमा वैदशिक रोजगारीमा जाँदा अनिवार्य तालिम लिनुपर्ने व्यवस्था छ । सरकारले कानुनी रुपमा तालिमलाई अनिवार्य गरे पनि यसका लागि बजेट विनियोजन नगर्दा कार्यान्वयन हुन सकेको छैन ।

गत वर्ष वैदेशिक रोजगारीमा जाने ८० प्रतिशत श्रमिक अर्धदक्ष, दक्ष, सीपयुक्त र व्यावसायिक हैसियतले गएको देखिन्छ । विभागका अनुसार गत आवमा श्रमस्वीकृति लिएका कुल ७ लाख ४१ हजार युवामध्ये १ लाख ४५ हजार कुनै सीप नै नलिई विदेश गएका छन् । ऐनले गरेको व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्दै आफ्नो क्षेत्रबाट वैदशिक रोजगारमा जान बाध्य व्यक्तिलाई सीपयुक्त बनाउनुपर्ने चौधरी बताउँछन् । रेमिटेन्सको सदुपयोग गर्दै पुनः वैदेशिक रोजगारको चक्रमा फसिरहने अवस्थाबाट बाहिर निकाल्न र उनीहरूले प्राप्त गरेको सीप र उद्यमशिलतालाई मुलुकको विकासका लागि सदुपयोग गर्ने वातावरण निर्माण गर्न सबै स्थानीय तहलाई आग्रह गर्नुपर्ने महासचिव चौधरीको सुझाव छ ।

वैदेशिक रोजगार बोर्डले रोजगारीका लागि विदेश जाने युवाले अनिवार्य सीप विकास तालिम लिनुपर्ने बताउँदै आए पनि यसका लागि प्राविधिक र भौतिक पूर्वाधारको काम प्रभावकारी बनाउन सकेको छैन । विगतमा तालिम नै नलिई नक्कली प्रमाणपत्र लिई विदेश जाने प्रवृत्ति देखिएपछि चार वर्षअघि अनलाइन प्रणालीमार्पmत तालिमको ट्रयाकिङसमेत गर्ने गरी तालिमलाई बाध्यात्मक बनाउने निर्णय भएको थियो ।

वैदेशिक रोजगार विभागका अनुसार व्यवसायीले कामदार भर्ना गर्दा मागपत्रमा एक प्रकारको काम भनेर प्रक्रिया अघि बढाउने अनि विदेश पुगेर अर्को काम गराउने गरेको गुनासो धेरै आउन थालेपछि तालिम अनिवार्य गरिएको हो । तर, यसको कार्यान्वयन भने हुन सकेको छैन । बोर्डले भने सीप तालिमलाई वैदेशिक रोजगार विभागको अनलाइन पद्धतिमा एकीकृत हुनेगरी र सीप तालिम लिएका व्यक्तिको समग्र विवरण लिने गरी तालिम व्यवस्थापन सूचना प्रणाली (टिएमआइएस) सफ्टवेयर निर्माण गरी कार्यान्वयनमा ल्याइएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्