ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ खुल्यो

काठमाडौं– ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले सोमबारदेखि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको हो । कम्पनीले आफ्नो जारी पुँजी ६० करोड रूपैयाँको ३० प्रतिशत अर्थात् १८ करोड रूपैयाँ बराबरको १८ लाख कित्ता सेयर आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो ।
सोमध्ये १० प्रतिशतले हुन आउने १ करोड ८० लाख रूपैयाँ बराबरको १ लाख ८० हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्न गरेको हो । कम्पनीले ५ प्रतिशत अर्थात ९० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ३ प्रतिशत अर्थात ५४ हजार कित्ता सेयर कम्पनीका कर्मचारीलाई छुट्याएको छ ।
बाँकी रहेको १४ लाख ७६ हजार कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि निष्कासन गर्नेछ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । फागुन ५ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।
कम्पनीलाई केयर रेटिङ नेपालले केयरएनपी डबल बी माइनस इस्युअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमता मध्यम रहेको जनाउँछ । कम्पनीले सेयर जारी गरेपछि चुक्ता पुँजी ६० करोड रूपैयाँ पुग्ने भएको छ । यो उद्योगको लागि आवश्यकमध्ये ६७ प्रतिशत पुँजी ऋणबाट जुटाइएको हो । ३३ प्रतिशत पुँजी सेयरबाट जुटाइने भएको हो । ३३ प्रतिशतमध्ये ३० बराबर रकम सेयर जारी गरेर उठाइने भएको हो ।