Logo

ज्योति विकास बैंकको विद्यालयलाई सहयोग

काठमाडौं– ज्योति विकास बैंकले चितवन अवस्थित खैरहनी माध्यमिक विद्यालयलाई बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत ३० थान डेस्क–बेञ्चहरू प्रदान गरेको छ ।

बैंकले विद्यालयमा अध्ययनरत विद्यार्थीको शैक्षिक वातावरण सुधार गर्न न्यूनतम भौतिक पूर्वाधारमा योगदान पुर्‍याउने तथा समग्र शैक्षिक अनुभवमा सुधार ल्याउने उद्देश्यका साथ उक्त सहयोग उपलब्ध गराएको हो । सहयोगपछि विद्यार्थीले डेस्क–बेञ्चको उपयोग गरेर सहज रूपमा अध्ययन गर्ने वातावरण निर्माणमा सुधार हुने अपेक्षा गरेको बैंकले जनाएको छ ।

विद्यालयमा आयोजित एक कार्यक्रममा बैंकका पर्सा शाखाका प्रबन्धक यज्ञराज भट्टद्वारा विद्यालयका प्रधानाध्यापक गोपाल प्रसाद शर्मालाई उक्त डेस्क–बेञ्चहरू हस्तान्तरण गरिएको हो । कार्यक्रममा विद्यालयका शिक्षक र विद्यार्थी तथा बैंकका प्रतिनिधिको समेत उपस्थिति थियो । कार्यक्रममा प्रधानाध्यापक गोपाल प्रसाद शर्माले शिक्षामा गुणस्तरीय पूर्वाधारको महत्त्वमा जोड दिँदै सकारात्मक र समृद्ध शैक्षिक वातावरण निर्माणमा बैंकको सहयोग प्रति कृतज्ञता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्