Logo

नबिल एसएसई ‘सर्टिफिकेट कोर्स’ जनकपुरमा

काठमाडौं– नबिल बैंकले जनकपुरको मोनास्टिक हाइयर सेकेन्डरी अंग्रेजी बोर्डिङ स्कुलमा नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिपअन्तर्गतको नबिल एसएसई ‘सर्टिफिकेट कोर्स’ सुरु गरेको छ ।

एक कार्यक्रम आयोजना गरेर बैंकले मधेस प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंह तथा बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल लगायतको उपस्थितिमा कोर्सको औपचारिक सुरुवात गरिएको हो । बैंकका अनुसार उक्त कोर्सका लागि पहिलो समूहमा खुला आवेदनमार्फत २५ जना छनोट भइसकेका छन् । कोर्सको सुरुवात गर्दै मुख्यमन्त्री सिंहले बैंकले सामाजिक उद्यमशीलता बढाउने उद्देश्यले सुरु गरेको उक्त प्रयासको प्रशंसा गरे ।

सो अवसरमा नेपाल राष्ट्र बैंकका निर्देशक डिलाराम सुवेदीले नबिलले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सुरु गरेको सामाजिक उद्यमशीलता सम्बन्धी कार्यक्रम सराहनीय भएको बताए । नबिलका अध्यक्ष पौडेलले सर्टिफिकेट कोर्सको पहिलो समूहका सहभागीलाई सम्बोधन गर्दै बैंक नाफामा मात्रै नभइ दिगो नतिजा ल्याउने क्षेत्रमा समेत केन्द्रित रहेको उल्लेख गरे ।

साथै, स्टार्टअप सुरुआत गर्न चाहने र सुरुआत गरिसकेकालाई लक्षित गरी बैंकले नबिल एसएसई कार्यक्रम सुरु गरेको उनको भनाइ थियो । बैंकले सामाजिक उद्यमशिलतामा रुची राख्ने, नवीन सोच भएका तथा उद्यमशील क्षेत्रमा संलग्न नव–उद्यमीलाई आवश्यक ज्ञान र मार्गदर्शन प्रदान गर्ने उद्देश्यले उक्त कोर्स सञ्चालन गर्दै आएको छ ।

कोर्सको पहिलो समूहमा जनकपुर, मिथिला बिहारी नगरपालिका र पिरारी चोकका १२ महिला र १३ पुरुष सहभागी छन् । जसमध्ये तीन जनाले मिथिला कला, आर्ट ग्यालरी र सिक्की कला जस्ता क्षेत्रमा योगदान पुर्‍याएका छन् । साथै, पाँच जना थोक बजार, अचार, विद्युतीय सेवा, गद्दा उत्पादन र अनलाइन व्यवसायमा केन्द्रित छन् भने दुईजनाले खुद्रा व्यापार, एक जनाले जैविक ताजा फलखेतीमार्फत उद्यम सुरु गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्