रारा पुगे पाँच सय पाहुना चरा

जुम्ला– नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारामा पर्यटकसँगै हरेक हिउँदमा आउने पाहुना चराको संख्या बढ्दै गएको छ । हरेक वर्ष हिउँदमा चिसो छल्न रारा ताल आउने पाहुना चराको संख्या बढेको छ ।
निकुञ्जको तथ्यांकअनुसार मुगुमा यस वर्ष पाँच सय भन्दा बढी पाहुना चरा रारा पुगेका छन् । पुस २९ गतेको अन्तिम गणनाअनुसार १५ प्रजातिका पाँच सय भन्दा बढी चरा रारा ताल पुगेको निकुञ्जका सूचना अधिकारी धर्मजीत साउदले बताए । उनका अनुसार गत वर्षको तुलनामा यस वर्ष पाहुना चराको संख्या उल्लेखनीय रूपमा बढेको छ ।
साइबेरिया, भारत, मंगोलियालगायत देशबाट चिसो छल्न मंसिरदेखि रारामा पाहुना चरा आउने क्रम सुरु हुन्छ । ‘१५ प्रजातिका पाँच सय चरा रारा आइपुगेका छन् । जसमध्ये सबैभन्दा बढी (मुरल) कमनकुथ, कैलो टाउके हाँस, सुनजुरे हाँस, कालिजुरे हाँस, हरियो टाउके, खोया हाँस बढी संख्यामा छन्’ सूचना अधिकारी साउदले भने, ‘गर्मी बढ्दै जाँदा आफै पलायन हुन्छन् भने ढिलोमा वैशाखसम्म रारामै बस्छन् ।’
गत वर्ष सात प्रजातिका करिब तीन सय चरामात्रै रारा पुगेका थिए । त्यतिबेला गणना ढिला भएका कारण पनि संख्या कम देखिएको हो । समुद्री सतहबाट दुइ हजार ९७२ मिटर उचाइमा रहेको रारा ताल पर्यटकसँंगै पंक्षीका लागि आकर्षण केन्द्र बनेको छ । चिसो छल्न रारा पुगेका चराको गणना गरेर उनीहरूको संरक्षणको काम रारा राष्ट्रिय निकुञ्जले गर्दै आएको छ । पाहुरा चरा यतिबेला रारा घुम्न आउने पर्यटकका लागि मुख्य आकर्षक पनि हुन् ।
‘स्वर्गकी अप्सरा उपनामले चर्चित रारा प्राकृतिक रूपमा आफै सुन्दर छ । जहाँ पर्यटकले आफ्ना सबै दु:ख बिर्सन्छन्’ निकुञ्जका प्रमुख महेश न्यौपानेले भने, ‘पाहुना चराको आगमनले पर्यटकको मन लोभ्याउने गरेको छ । त्यसैले आगन्तुक चराको गणनादेखि संरक्षणमा विशेष जोड दिने गरेका छौं ।’ पाहुना चराको बासस्थान रारा निकुञ्जको मिलीचौर, ओखरबोट, मिजार, दोफे, महादेव मन्दिर, आर्मी ब्यारेक क्षेत्रमा रहेको छ । कमन कुट, खोया हाँस, मलाट हाँस, काले, खैरो, पहेले रंगका हाँस रहेको रारा राष्ट्रिय निकुञ्जले जनाएको छ ।
चोरी सिकारीमा संलग्न दुई पक्राउ
निकुञ्ज क्षेत्रभित्र चोरी सिकारीमा संलग्न दुई जनालाई पक्राउ गरिएको छ । उनीहरूलाई भरुवा बन्दुक र सिकार गरिएका संरक्षित पंक्षीसहित पक्राउ गरिएको हो । माघ १३ गते निकुञ्ज कार्यालयका कर्मचारी र नेपाली सेनाको टोलीले निकुञ्ज क्षेत्रमा संरक्षित पंक्षीलगायत अन्य पंक्षी चोरी शिकारी गरी ओसारपसार गर्दै गरेको अवस्थामा भरुवा बन्दुकसहित पक्राउ गरिएको निकुञ्ज प्रमुख न्यौपानले बताए ।
निकुञ्ज क्षेत्रभित्र चोरी सिकारीमा संलग्न जुम्ला जिल्ला कनकासुन्दरी गाउँपालिका–१ रिय गाउँका २६ वर्षीय मानबहादुर कठायत सोही गाउँपालिका–१ काबार गाउँका ३९ वर्षीय गोरे कठायत पक्राउ परेका हुन् । उनीहरूलाई मृत अवस्थामा संरक्षित राष्ट्रिय पंक्षी डाँफेको भाले एक, पोथी दुई र अर्को पंक्षी फक्रास भाले दुई, पोथी एक चोरी सिकारी गरी बिक्री वितरण गर्दै गरेका अवस्थामा एक थान भरुवा बन्दुकसहित पक्राउ गरिएको जानकारी दिएका छन् ।