Logo

सामाजिक सुरक्षा योजनाको भुक्तानी दायित्व १७.३७ प्रतिशत

काठमाडौं– योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा संकलित योगदान रकमको तुलनामा लाभग्राही भुक्तानी दायित्व बढ्दै गइरहेको छ । गत आवको माघ महिनाको तुलनामा चालु आवको सोही अवधिमा लाभग्राही भुक्तानी रकम १५ प्रतिशतबाट बढेर १७.३७ प्रतिशत पुगेको हो । कोषका प्रवक्ता कृष्ण अधिकारीले संकलित योगदान रकम पनि बढ्ने र भुक्तानी पनि बढ्दै जाने भएकाले कोषमा असर नपर्ने बताए ।

उनले विभिन्न योजनाको लाभ दायरा परिवर्तन भइरहने हुनाले दाबी भुक्तानी बढ्दा सन्तुलन मिलाउन सकिने बताए । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा ७३ अर्ब ४५ योगदान रकम संकलन हुँदा १२ अर्ब ७६ करोड रुपैयाँबराबरको सामाजिक सुरक्षा रकम लाभग्राहीलाई भुक्तानी गरिएको छ । २०७५ मंसिरबाट सुरु भएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा औपचारिक तथा अन्य क्षेत्रमा कार्यरत श्रमिक तथा कर्मचारीले हालसम्म ७३ अर्ब ४५ करोड रुपैयाँ योगदान रकम जम्मा गरिसकेका छन ।

हालसम्म जम्मा भएको योगदान रकममध्ये विभिन्न ४ योजनाअन्र्तगत लाभग्राही श्रमिक र उनीहरूका परिवारले १२ अर्ब ७६ करोड रुपैयाँ सामाजिक सुरक्षा रकम प्राप्त गरिसकेको कोषका उप कार्यकारी निर्देशक कृष्ण अधिकारीले जानकारी दिए । लाभग्राहीलाई गरेको भुक्तानी जम्मा भएको रकमको करिब १७.३७ प्रतिशत हो । सेवाग्राहीलाई भुक्तानी गरेको १२ अर्ब ७६ करोडमध्ये अवकाश दाबीमा १० अर्ब ७१ करोड ८९ लाख रुपैयाँ वितरण भएको छ ।

यसैगरी औषधी उपचार, स्वास्थ्य तथा मातृत्व दावी रकम १ अर्ब ६७ करोड ५६ लाख रुपैयाँ वितरण गरिसकेको कोषले जनाएको छ । आश्रित परिवार सुरक्षा दाबीबापत २० करोड १९ लाख र दुर्घटना तथा अशक्तता सुरक्षा अन्र्तगत १६ करोड ७६ लाख रुपैयाँ भुक्तनी भएको कोषले जनाएको छ । सामाजिक सुरक्षा योजनामा योगदानकर्ताले ७३ अर्ब रुपैयाँ जम्मा गरेकोमा चार वटा योजना दाबी गर्न मापदण्ड पूरा भएका श्रमिक तथा उनीहरूका परिवारले लगभग १२ अर्ब ७६ करोड सामाजिक सुरक्षा रकम लिएका छन् ।

कोषमा हालसम्म २० हजार ८५ रोजगारदाता प्रतिष्ठान सूचीकृत भइसकेका छन् भने सूचीकृत हुने श्रमिकको संख्या १९ लाख ७३ हजार रहेका छन् । तत्काल औपचारिक रोजगारीको क्षेत्रबाट अनिवार्य गरिएको सामाजिक सुरक्षा कार्यक्रममा हाल औपचारिक क्षेत्रका २० हजार ८५ रोजगारदातासँग आवद्ध ५ लाख ५८ हजार ५३० श्रमिकहरू सूचीकृत भई योगदान गरिरहेको कोषले जनाएको छ । यस बाहेक बाँकी वैदेशिक रोजगारीमा रहेको संख्या १४ लाख १४ हजार ३४३, अनौपचारिक ३३६ तथा स्वरोजगार २८२ रहेका छन् ।

कोषमा आबद्ध हुन रोजगारदाता सूचीकृत भई आफ्ना श्रमिक तथा कर्मचारीहरूको समेत सम्पूर्ण विवरणसहित सूचीकरण गराउनु पर्ने नियम रहेको छ । सूचीकरण भएका हरेक रोजगारदाता र योगदानकर्तालाई कोषले सामाजिक सुरक्षा नम्बर प्रदान गर्ने र सोही नम्बरमा जम्मा हुने गरी हरेक महिना समाप्त भएको १५ दिनभित्र रोजगारदाताको तर्फबाट आधारभूत पारिश्रमिकको २० र योगदानकर्ताको तर्फबाट ११ प्रतिशत रकम कट्टा गरी कोषमा अनलाइन भुक्तानी प्रणालीमार्फत रकम जम्मा गर्नु पर्ने नियम रहेको छ ।

यसैगरी कोषले सामाजिक सुरक्षा योजनामा नियमित योगदान गर्ने श्रमिक तथा कर्मचारीले घर, शैक्षिक, सामाजिक कार्य र विशेष सापटी गरी ४ वटा सुविधा दिँदै आएको छ । सरकारले सामाजिक सुरक्षा योजनामा योगदान गर्ने श्रमिकका लागि योगदानकर्ता सापटी निर्देशिका जारी गरेपछि सापटी योजना सुरु गरेको हो । कोषले सापटी योजनाअन्र्तगत घर सापटी, शैक्षिक सापटी, सामाजिक कार्य सापटी र विशेष सापटी योजना भदौ १ बाट सुरु गरेको हो । यी ४ वटा सापटी योजनाअन्र्तगत विशेष सापटी सेवा लिनेको संख्या बढी रहेको कोषले जनाएको छ ।

योगदानकर्ता सापटी निर्देशिका अनुसार प्रक्रिया सरल मानिएको विशेष सापटी योजनामा कोषमा जम्मा भएको रकम ८० प्रतिशत लिन पाइने छ । योगदानकर्ता विशेष सापटी लिन कोषमा कम्तीमा ३६ महिना योगदान रकम जम्मा गरेका र उमेर वा सेवा अवधिको आधारमा अनिवार्य अवकाश हुन कम्तीमा दुई वर्ष सेवा अवधि बाँकी रहेका योगदानकर्तालाई निजको अवकाश कोष योजनामा जम्मा भएको रकमको अधिकतम असी प्रतिशत रकमसम्म प्रदान गर्न सकिने प्रावधान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्