एक अर्ब लागतमा राराको मुर्मा टपमा चार तारे रिर्सोट बन्ने

मुगु–राराको मुर्मा टपमा कर्णाली प्रदेशकै पहिलो चार तारे रिर्सोट बन्ने भएको छ । १ अर्ब लागत लाग्ने उक्त रिर्सोटको सोमबार भूमि पुजा गरी निर्माण सुरु गरिएको हो । कर्णाली प्रदेशमा तीन तारेसम्मका होटलहरू सञ्चालनमा रहे पनि एनआरएनए अष्टे्रलियाको लगानीमा कर्णालीकै पहिलो चार तारे सुविधा सम्पन्न रिर्सोट निमार्ण सुरु भएको हो ।
गत वर्ष काठमाडौंमा नेपाल सरकारले आयोजना गरेको तेस्रो लगानी सम्मेलनमा अष्ट्रेलियामा रहेका नेपाली एनआरएनए अभिषेकबिक्रम शाहलगायतको टोलीले ड्रिम प्रोजेक्टका रूपमा रारामा चार तारे रिर्सोट निर्माण गर्ने प्रतिबद्धतासहित सरकारसँग रारा होल्डिङ्स रिर्सोट प्रा.लीले १८ महिना भित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो ।
सोही सम्झौता अनुसार राराको मुर्मा टपमा चारतारे रिर्सोटको सोमबार हिन्दु धर्म अनुसार भूमि पुजा गरी निमार्ण कार्य सुरु गरिएको हो । कुल ७३ रोपनी क्षेत्रफलमा निर्माण हुने यो रिर्सोटको पहिलो फेजमा कुल लागत १ अर्बमा निर्माण हुने छ । पहिलो फेजमा ३६ र दोस्रो फेजमा १९ वटा सुविधा सम्पन्न कोठामा ९८ शैंया हुने छन् । दैनिक १ सय जना आन्तरिक तथा बाह्य पर्यटकलाई सेवा दिने यो रिर्सोटको लक्ष्य रहेको छ ।
रिर्सोटको विविध रूपमा माघ ३० गते काठमाडौंमा पर्यटन वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले शिलान्यास गर्ने कार्यक्रम रहेको रारा होल्डिङ्सले जानकारी दिएको छ । रारा आउने आन्तरिक तथा बाह्य पर्यटकहरूले रारा क्षेत्रमा सुविधा सम्पन्न होटल नभएका कारण दुखेसो पोख्दै आएका बेला सिंजा भ्याली, रारा, छाँयानाथ र खप्तडलाई जोड्दै कर्णालीका धार्मिक क्षेत्रको पर्यटन
प्रवर्द्धनका लागि यो रिर्सोट निमार्ण गरिन लागेको रारा होल्डिङ्स परियोजनका प्रबन्धक अरुण चन्दले जानकारी दिए । समुन्द्री सतहबाट ३ हजार ५ सय मिटर उचाइमा निर्माण हुने यो रिर्सोटको चैत महिनाबाट पूर्वधारको काम थालनी हुने छ । निमार्ण पश्चात रिर्सोट सञ्चालन आएपछि प्रत्यक्ष १ सय २० जनाले रोजगारी पाउने छन् भने १ हजारभन्दा बढीलाई अप्रत्यक्ष रूपमा रोजगारी सिर्जना गर्ने आकलन गरिएको छ ।
यो परियोजनाले विशेष गरी भारतीय नागरिकलाई धार्मिक पर्यटकका रूपमा भित्र्याउने लक्ष्य राखेको रिर्सोटका प्रतिनिधि ऐटन मल्लले बताए । स्थानीय समुदाय र पुराना घर शैलिका ५५ कोठामा ९८ शैंया निर्माण हुने यो रिर्सोटमा १ सय जना क्षमता भएको सेमिनार हल, प्रत्येक कोठाका झयालबाट रारा र हिमाली श्रृंखलाको अवलकनसमेत गर्न सकिने गरी निर्माण गरिने छ । रिर्सोटबाट आधा घण्टामा माथि रहेको मुर्मा टप पुगेपछि ७ जिल्लाको भू-भाग अवोलकन गर्न सकिने बताइएको छ ।
रारा आउने आन्तरिक तथा बाह्य पर्यटकहरू सबैले रारामा गाँसबाँसका लागी राम्रो व्यवस्था नभएको भन्दै गुनासो राखेर जाने गरेका छन् । केही वर्ष यता रारा क्षेत्रका माझ घट्ट, सल्लेरीमा एक दर्जनभन्दा बढी होटल सञ्चालनमा छन् । तर सिजनमा यी होटलहरूले समेत पर्यटकलाई सेवा दिन सकेका छैनन् । रिर्सोट बनेपछि पर्यटकलाई बस्न र खानका लागी कुनै समस्या नहुने छाँयानाथ रारा नगरपालिका—८ का होटल व्यवसायी बिर्ख रोकायाले बताए ।