कोल्टीमा निर्माणाधीन विद्युत सबस्टेसन अलपत्र

बाजुरा– बाजुराको बूढीनन्दा नगरपालिका–१ कोल्टीमा निर्माणाधीन सबस्टेसनको काम अलपत्र अवस्थामा रहेको छ । नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको ३३ केभीए लाइनको सबस्टेसन निर्माण सम्पन्न मिति सकिन लाग्दा पनि काम भने अलपत्र अवस्थामा छ ।
नेपाल विद्युत प्राधिकरणको नेपाल वितरण प्रणाली स्तरोन्नति तथा वितरण आयोजनाको प्रोजेक्टअन्तर्गत कोल्टीमा सबस्टेसन निर्माण हुन लागेको हो । परियोजनाको काम गर्ने सुरुवात मिति ०१ मार्च २०२३ बाट सुरु हुने सम्झौता छ । सम्झौता हुँदा ७३० दिन अर्थात् दुई वर्षमा काम सक्नुपर्नेछ । आयोजना र निर्माण कम्पनीको लापरबाहीले काम अस्तव्यस्त रहेको स्थानीयबासीले बताएका छन् ।
नेपाल वितरण प्रणाली स्तरोन्नति तथा वितरण आयोजनाको नामाकरण गरिएको आयोजनालाई युरोपियन इन्भेष्टमेन्ट बैंकको ऋण सहयोग गरेको छ । उक्त ऋण सहयोगको रकमले बाजुरा र बझाङ जिल्लाभरि विद्युतीकरण गर्नका लागि अर्बाैं लगानीमा विभिन्न काम भइरहेको छ । कोल्टीको सबस्टेसन निर्माण कम्पनी भारतीय अब्सोलुट प्रोजेक्टस इन्डिया लिमिटेड रहेको छ । परामर्शदाता कम्पनीका रूपमा पावर ग्रिड कर्पोरेसन अफ इन्डिया लिमिटेड-जेट कन्सल्ट प्राइभेट लिमिटेड रहेको छ ।
१६ करोडमा लगानी हुन लागेको उक्त सबस्टेसन निर्माणको काम ४० प्रतिशत जति सम्पन्न भएको उक्त परियोजना प्रमुख सन्तोष पन्तले बताए । भारतबाट सामान आउन ढिलाइ र भन्सारमा समस्या हुँदा समयमै काम सम्पन्न हुन नसकेको पन्तले बताए । अब भने चाँडै काम सम्पन्न गर्ने उनले बताए । हामी जतिसक्दो चाडो काम सम्पन्न गर्ने योजनामा छौं । काम सम्पन्न गर्ने मिति एक महिना बाँकी रहँदासम्म काम कहिले सम्पन्न हुने कुनै अत्तोपत्तो नभएको स्थानीय सामाजिक अगुवा अनिलबहादुर शाहीले बताए ।
बाजुराका पूर्वीउत्तर क्षेत्रका ४ पालिका, मुगु र हुम्लाका केही पालिकालाई लक्षित गरेर सबस्टेसन निर्माण हुन लागेको छ । सबस्टेसन निर्माण हुने बित्तिकै मार्तडीबाट कोल्टीसम्म विद्युत लाइन विस्तार गर्ने लक्ष्य रहेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बाजुराले जनाएको छ । बाजुराको दोस्रो ठूलो बजार कोल्टीलगायत चारवटा पालिकामा विद्युत नहुँदा स्थानीयले समस्या भोग्दै आएका छन् ।
कोल्टी सबस्टेसन निर्माण भएर विद्युत प्रवाह भएमा त्यस क्षेत्रका बासिन्दा अँध्यारोबाट मुक्त हुने थिए । तर काम नै लथालिंग रहेको स्थानीय अनिलबहादुर शाहीले बताए । उक्त परियोजनाबारे बाजुराबासी तथा स्थानीय तह प्रशासनसमेत बेखबर छन् । कोल्टीमा निर्माण हुन लागेको सबस्टेसन मात्र नभई बाजुरामा निर्माण भइरहेका अन्य सबस्टेसनदेखि विद्युत लाइन विस्तारसमेत अस्तव्यस्त रहेको छ । विद्युतका पोल तार तथा अन्य काम लथालिंग अवस्थामा छन् ।