सुदूरपश्चिममा सहुलियत र विपन्न वर्ग ऋण घट्दो

धनगढी– नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनका अनुसार सुदूरपश्चिम प्रदेशमा सहुलियत र विपन्न वर्ग ऋण घट्दै गएको छ । लक्षित वर्गलाई व्यवसाय तथा उद्यम गर्न नेपाल सरकारको उपलब्ध गराउने सहुलियत पूर्ण ऋण र राष्ट्र बैंकको निर्देशनमा विपन्न वर्गलाई व्यवसाय तथा उद्यम गर्न प्रदान गर्ने ऋण घट्दै गएको हो । आर्थिक वर्ष २०८०/०८१ को वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनअनुसार २०८०/०८१ सहुलियत ऋण २९.६२ प्रतिशतले घटेको छ भने आर्थिक वर्ष २०७९/०८० मा ८.३९ प्रतिशतले घटेर ९ अर्ब ६७ करोड पुगेको थियो ।
प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७८/०७९ मा सहुलियत ऋण ४०.२४ प्रतिशतले वृद्धि भएको थियो । ‘२०८१ असार मसान्तसम्म सहुलियतपूर्ण कर्जा २०८० असार मसान्तको तुलनामा २९.६२ प्रतिशतले घट्न गई ६ अर्ब ८१ करोड पुगेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘गतवर्ष सोही अवधिमा यस्तो कर्जा ८.३९ प्रतिशतले घटेको थियो ।’
सुदूरपश्चिम प्रदेशको आर्थिक गतिविधि अध्ययन गर्ने राष्ट्र बैंकको प्रादेशिक कार्यालय धनगढीका अधिकृत भोजाराज भट्टले नेपाल सरकारले नै सहुलियत कर्जा रोक्का गरेकोले पुरानो ऋणीको संख्या र ऋण रकम घट्दै गएको बताए । उनले नेपाल सरकारले १२ वर्ष शीर्षकमा उपलब्ध गराउँदै आएको सहुलियत कर्जा वितरण नभएको र पुराना ऋणहरुले ऋण तिर्दै गएकोले सो ऋण घटेको बताए ।
युवाहरूले सरकारबाट सहुलियत ऋण पाउन छोडेपछि यसको असर वैदेशिक रोजगार र बेरोजगार दरमा देखिन थालेको छ । प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/०८१ मा यस प्रदेशबाट २१ हजार ७४३ जना पुरुष तथा २२ सय ८२ जना महिला गरी जम्मा २४ हजार २५ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएका छन् । आर्थिक वर्ष २०७९/०८० मा यस प्रदेशबाट २५ हजार ९३७ जना पुरुष तथा १५ सय २६ जना महिला गरी जम्मा २७ हजार ४६३ जनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगारीमा गएका थिए ।
आर्थिक वर्ष २०७८/०७९ मा वैदेशिक रोजगारीमा जानेको को तुलनामा १७२.५ प्रतिशतले वृद्धि भएको थियो भने आर्थिक वर्ष २०८०/०८१ मा यो संख्या १२.५ प्रतिशतले घटेको छ । सुदूरपश्चिम आर्थिक सरोकार मञ्चका संयोजक प्रा. डा. राजेन्द्रवीर चन्दले युवा र विपन्न वर्गलाई राज्यले लगानी घटेको कारण उत्पादन क्षेत्रमा असर पर्नुका साथै बेरोजगारको संख्या बढ्ने बताए । ती वर्गले पाउने सुविधायुक्त कर्जा नपाएको कारण उनीहरूले व्यवसायमा जान नसक्ने स्थिति बन्नुका साथै रोजगारको अभावमा विदेश जानुपर्ने अवस्था सिर्जना भएको बताए । कतिपयले विपन्न वर्गले आयआर्जनको काममा जोडिन नपाएको चन्दले बताए ।
यसैगरी, राष्ट्र बैंकको परिपत्रअनुसार कुल कर्जा लगानीको पाँच प्रतिशत विपन्न वर्गलाई बैंकहरूले लगानी गर्नुपर्ने विपन्न वर्ग ऋण आर्थिक वषै २०८०/०८१ मा १.३९ प्रतिशतले घटेको छ भने २०७९/०८० मा यो ऋण ३ प्रतिशतले घटेर ११ अर्ब ७१ करोड पुगेको थियो । आर्थिक वर्ष २०७८/०७९ मा यस्तो कर्जा ४.४३ प्रतिशतले वृद्धि भएको थियो । ‘२०८१ असार मसान्तसम्म विपन्न वर्ग कर्जा २०८० असार मसान्तको तुलनामा १.३९ प्रतिशतले घट्न गई ११ अर्ब ५४ करोड पुगेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘गत वर्ष सोही अवधिमा यस्तो कर्जा ३.० प्रतिशतले घट्न गएकोे थियो ।’
राष्ट्र बैंक धनगढीका अधिकृत भट्टका अनुसार कुल कर्जा रकम घट्न जाँदा विपन्न वर्ग ऋण पनि घट्न भएको हो । उनले राष्ट्र बैंकले परिपत्र गरी बैंक तथा वित्तीय संस्थालाई विपन्न वर्गलाई दिनुपर्ने ऋणको प्रतिशत निर्धारण गर्ने गरेको बताए । ‘बैंकहरूले विपन्न वर्गलाई कर्जा लगानी गर्न नचाहने भएको हुँदा राष्ट्र बैंकले कुल ऋणको निश्चित प्रतिशत विपन्न वर्गलाई लगानी गर्नैपर्ने बाध्यकारी निर्देशन जारी गर्छ,’ उनले भने, ‘बैंकहरूले प्रवाह गर्ने कर्जा बढ्दा यस्तो कर्जा बढ्छ र घट्दा घट्छ ।’
यद्यपि, २०८१ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जा २०८० असार मसान्तको तुलनामा ०.७५ प्रतिशतले वृद्धि भई एक खर्ब ५२ अर्ब ८४ करोड ५९ लाख रुपैयाँ पुगेको छ । २०८० असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जा
२०७९ असार मसान्तको तुलनामा १.५० प्रतिशतले वृद्धि भई एक खर्ब ५१ अर्ब ७१ करोड २९ लाख पुगेको थियो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १७.४२ प्रतिशतले वृद्धि भएको थियो । कुल ऋणीको संख्या आर्थिक वर्ष २०७९/०८० को तुलनामा आर्थिक वर्ष २०८०/०८१ मा ४.३० प्रतिशतले बढ्न गई एक लाख ४ हजार ५३ पुगेको छ । गतवर्ष कुल ऋणीको संख्या अघिल्लो वर्षको तुलनामा ७.६० प्रतिशतले घट्न गई ९९ हजार ७६१ पुगेको थियो ।
२०८१ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाले संकलन गरेको कुल निक्षेप २०८० असार मसान्तको तुलनामा ११.३२ प्रतिशतले बढ्न गई एक खर्ब ४९ अर्ब ४६ करोड ४३ लाख पुगेको छ । २०८० असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाले संकलन गरेको कुल निक्षेप २०७९ असार मसान्तको तुलनामा १६.०९ प्रतिशतले बढ्न गई एक खर्ब ३४ अर्ब २६ करोड २० लाख पुगेको थियो । अघिल्लो वर्ष सोही अवधिमा यस्तो निक्षेप ५.८६ प्रतिशतले वृद्धि भएको थियो ।