Logo

निर्यातको प्रवृत्ति फेर

प्रधानमन्त्री केपी ओलीले मुलुकको निर्यात व्यापारको प्रवृत्तिमाथि संशय व्यक्त गरेका छन् । चालु आवको ६ महिनामा झन्डै १ खर्ब रुपैयाँको निर्यात भएको छ । तर, यसमा भएको ‘मूल्य अभिवृद्धि’ प्रति प्रधानमन्त्री ओलीको संशय हो । हाम्रो निर्यातको ठूलो अंश कच्चा पदार्थ विदेशबाट ल्याउने र त्यसलाई सामान्य प्रशोधन गरी निर्यात गर्ने छ । यस्तो निर्यातले वास्तविक अर्थ राख्दैन भने निर्यात दिगो पनि हुँदैन । प्रधानमन्त्रीको चासो यसैमा देखिएको हो, जुन सत्य हो ।

अर्कातिर यही बेला पूर्वी जिल्ला इलामका जडीबुटी व्यवसायी नित्यराज दाहालले स्थानीय स्तरमा उत्पादित जडीबुटीको तेल विदेश निर्यात गरेका छन् । माईजोगमाई गाउँपालिकास्थित दाहालको उद्योगमा उत्पादित तेल अहिले फ्रान्स पुगिरहेको छ । दाहालले १३ वर्षअघि खोलेको उद्योगले गत वर्षदेखि फ्रान्सलगायत अन्य मुलुकमा तेल पठाउन सुरु गरेको हो । दाहालको उद्योगमा गाउँमा नै पाइने पाती, धूपी, मेन्था, धसिंगरेलगायत स्थानीय जडीबुटीबाट तेल निकालिन्छ । यसमध्ये हाल पाती, मेन्था र धूपीबाट प्रशोधित तेल निर्यात हुन थालेको छ ।

यो उद्योगले चाँडै नै जेरेनियम, जंगली सयपत्री, रोजमेरीलगायतबाट पनि तेल उत्पादन गर्ने तयारी गरेको छ । धूपीको तेल प्रतिकिलो २ हजार ५ सय, तीतेपातीको तेल प्रतिकिलो ६ हजार, मेन्थाको तेल प्रतिकिलो ७ हजार र धसिंगरेको तेल प्रतिकिलो ७ हजारमा बिक्री भइरहेको छ । ३५ रोपनी जमिनमा यस्ता विभिन्न वनस्पतिको खेती गरिएको छ । यसका अतिरिक्त उद्योगले स्थानीय किसानबाट पनि कच्चा पदार्थ खरिद गर्दै आएको छ । रुघाखोकी, घाँटी दुखेको, चोट लागेको ठाउँमा मालिस गर्न र हाडजोर्नीको समस्या भएका, ढाड दुखेका बिरामीहरूले यस्ता तेल बढी प्रयोग गर्छन् ।

इलामका दाहालले गरेको जडीबुटीको तेल निर्यात एउटा प्रतिनिधि घटना मात्र हो । मुलुकका अधिकांश भागमा दाहालले जस्तै जडीबुटीको खेती गर्न र त्यसबाट तेल उत्पादन गर्न सकिन्छ । घरआँगन, भीरपाखा र जंगलमा जताततै फेला पर्ने जडीबुटीबाट तेल उत्पादन नगरे पनि यसलाई संकलन गरी सामान्य प्रशोधन गरेर निर्यात गर्ने सम्भावना पनि उच्च छ । खासमा हाम्रो हावापानी र भूभाग जडीबुटी उत्पादनका लागि स्वर्गजस्तै छ ।

नेपाल जडीबुटीको भण्डार भएको मुलुक हो । हाम्रा पहाडी, हिमाली र उच्च हिमाली क्षेत्रमा अनेकौँ किसिमका जडीबुटी पाइन्छन् । विश्वका अन्य मुलुकमा नपाइने जडीबुटीसमेत नेपालमा पाइने गरेको छ । तर हामीले ‘माल पाएर चाल नपाएको’ भनेजस्तै यसबाट फाइदा उठाउन सकेका छैनौँ । जडीबुटी संकलन गरी निर्यात गर्न सके अर्बौं रुपैयाँ आम्दानी गर्न सकिन्छ । त्यो सम्भावना हामीसँग छ । अर्को, संकलित जडीबुटीलाई सामान्य रूपबाट भए पनि प्रशोधन गरेर निर्यात गर्न सके झनै फाइदा लिन सकिन्छ ।

तर विडम्बना भन्नुपर्छ, हाम्रा अमूल्य जडीबुटी जंगलमा कुहिएरै खेर गइरहेका छन् । मुलुकमा तीन तहका सरकार बने पनि जडीबुटीलाई केन्द्र बनाएर कार्यक्रम र योजना ल्याएको कसैको देखिँदैन । गाउँगाउँमा पुगेका स्थानीय तहले मात्र जडीबुटीमा ध्यान दिने हो भने अर्बौं रुपैयाँ कमाउन कतै जानु पर्दैन । अहिले नेपालका युवा २०–४० हजार रुपैयाँ कमाउन मध्यपूर्व, मलेसिया, युरोपेलीलगायतका मुलुक पुगिरहेका छन् । गाउँघरमै सुनजस्तो जडीबुटी भएको धेरैलाई पत्तो छैन ।

जडीबुटीको अन्तर्राष्ट्रिय बजार निकै राम्रो छ । त्यसमा पनि विश्वमा नपाइने जडीबुटी नेपालबाट निर्यात गर्न सके अन्य कुनै पनि मुलुकसँग मूल्यमा प्रतिस्पर्धा गर्न नपर्ने अवस्था आउँछ । आफूले चाहेको मूल्यमा बेच्न सके जडीबुटीबाटै मुलुक उन्नत बन्न सक्छ । अहिले नेपालको जडीबुटी सबैभन्दा धेरै छिमेकी मुलुक भारतमा निर्यात भइरहेको छ । भारतले नेपाली जडीबुटीलाई आफ्नो नाममा ब्रान्डिङ गरेर विश्वका कुना–कुनमा पुर्‍याइरहेको छ ।

नेपालको जडीबुटी मात्र होइन, अलैँची, अदुवा, चिया, कफीजस्ता अन्य कृषिउपजलाई पनि भारतले आफ्नो नाममा संसारभर बेचिरहेको छ । नेपाली अलैँचीको माग मध्यपूर्वका अधिकांश मुलुकमा उच्च छ । हामीले त्यहाँ सीमित मात्रामा निर्यात गर्न सकेका छौँ । हाम्रै उत्पादन भारतले निर्यात गरेर अतिरिक्त नाफा कमाइरहेको छ । हामी पछि परिरहेका छौँ । जडीबुटीदेखि कृषिजन्य वस्तुको निर्यात बढाउने हो भने सरकारले निजी क्षेत्रलाई सहयोग गर्नुपर्छ । अहिले यस्ता वस्तुको हाम्रो निर्यात सामान्य प्रशोधनबिनै धेरै छ ।

सबैभन्दा पहिले सरकारले प्रशोधन गरेर मात्र निर्यात गर्ने वातावरण बनाउन सहयोग गर्नुपर्छ । अर्को, नेपाली वस्तुको ब्रान्ड पनि नेपाली बनाउनुपर्छ । खासमा जडीबुटी र केही कृषिजन्य वस्तुको निर्यातको सम्भावना निकै उच्च छ । त्यसमा पनि यस्ता वस्तुलाई विश्व बजारमा पठाउँदा अर्को ठूलो प्रतिस्पर्धी मुलुक छैन । हाम्रो मनोमानी चल्न सक्छ । दाहालका जस्ता पौरखी हातले जडीबुटीबाट तेल उत्पादन गरी बेच्न सक्छन् भने अरूले नसक्ने भन्ने हुँदैन । चाहिएको सरकार र निजी क्षेत्र दुवैको ‘कमिटमेन्ट’ मात्र हो ।

प्रतिक्रिया दिनुहोस्