एक खर्ब १३ अर्ब पुग्यो सेयर धितो कर्जा

काठमाडौं– सेयर बजारमा ठूला लगानीकर्ताले लगानी बढाएसँगै सेयर धितो कर्जा प्रवाह बढेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार मार्जिन प्रकृतिको सेयर धितो कर्जा ६ महिनामा २३ अर्ब ६८ करोडले वृद्धि भएर १ खर्ब १३ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ ।
गत असार मसान्तमा ९० अर्ब ९ करोड रहेको मार्जिन प्रकृतिको सेयर धितो कर्जा पुस मसान्तमा १ खर्ब १३ अर्ब नाघेको हो । गत आवको पुससम्ममा ७ अर्ब ९८ करोडले वृद्धि भएकोमा चालु आवको सोही अवधिमा यस्तो कर्जा २३ अर्ब ६८ करोड रुपैयाँले बढेको राष्ट्र बैंकको तथ्यांक छ । गत आवको पुससम्ममा ५ अर्ब ८० करोडमात्रै सेयर धितो कर्जा बढेको थियो ।
चालु आर्थिक वर्षका ६ महिनामा गत आर्थिक वर्षमा समग्रमा भएको सेयर धितो कर्जाको वृद्धिभन्दा दोब्बरले बढी कर्जा बढेको देखिन्छ । यसबीचमा ठूला लगानीकर्ताले यस्तो कर्जा बढाउँदै लगेका छन् । करिब २४ अर्ब रुपैयाँ सेयर धितो कर्जा बढेकोमा साढे १९ अर्बभन्दा बढी कर्जा १ करोडभन्दा माथिको रहेको राष्ट्र बैंकको तथ्यांक छ । गत असार मसान्तमा १ करोडभन्दा ठूलो सेयर धितो कर्जा ५५ अर्ब ९३ करोड रहेकोमा पुस मसान्तमा ७७ अर्ब ४४ करोड पुगेको छ ।
गत असार अन्तिमसम्ममा ९० अर्ब ९ करोड रुपैयाँ रहेको सेयर धितो कर्जा साउनमा ९१ अर्ब ४४ करोड, भदौमा ९९ अर्ब ७६ करोड, असोजमा १ खर्ब ५ अर्ब ८२ करोड र कात्तिकमा १ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ । यसैगरी मंसिरमा १ खर्ब ७ अर्ब ९४ करोड रुपैयाँ छ ।
सेयर धितो कर्जाको वृद्धि पनि बढ्दै गएको देखिन्छ । साउनमा १ अर्ब ३५ करोडले वृद्धि भएकोमा भदौमा ८ अर्ब ३२ करोड, असोजमा ६ अर्ब ६ करोड, कात्तिकमा १ अर्ब ९४ करोड, मंसिरमा १८ करोड र पुसमा २३ अर्ब ६८ करोड रुपैयाँले सेयर धितो कर्जा बढेको छ ।
बैंकिङ प्रणालीमा तरलता रहनु तथा ब्याजदर न्यून हुँदा सेयर बजारमा ठूला लगानीकर्ताको प्रवेश बढेको छ । उनीहरूले कर्जा बढाउँदै जाँदा त्यसको असर सेयर बजारमा पनि विस्तारै पर्दै गएको सेयर बजारका जानकार छोटेलाल रौनियार बताउँछन् । पछिल्ला दिनहरूमा सेयर बजारमा भइरहेको सुधार पनि त्यसकै परिणाम भएको उनले बताए । सेयर बजारमा लगानी बढ्दा नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढ्दै गएको छ । ‘अहिले सकारात्मक माहोल हुँदा ठूला लगानीकर्ताको प्रवेश पनि बढ्दै गएको छ । यसले बजारलाई सहज समेत बनाइरहेको छ,’ रौनियारले भने ।
बैंकरहरू अहिले सेयर धितो कर्जाको माग पनि क्रमशः बढ्दै गएको बताउन थालेका छन् । सेयर धितोतर्फ मात्र नभएर आयात तथा निर्माण क्षेत्रमा पनि क्रमशः कर्जा बढेको केन्द्रीय बैंकले जनाएको छ । अहिले कर्जाको माग बढाउनका लागि ब्याजदर न्यून विन्दुमा भएर केही सहज भएको छ । कर्जाको भारित औसत ब्याजदर घटेर ३९ महिना (२०७८ असोज मसान्त) यताकै न्यून विन्दुमा झरेको छ । अझै ब्याजदर घट्दो क्रममा रहेको र पुँजीकोषको केही दबाब भए पनि बैंकहरुसँग पर्याप्त लगानीयोग्य तरलता रहेको अवस्थामा बैंकहरुले सेयर धितो कर्जामा लगानी बढाउँदै गएका छन् ।
चालु आर्थिक वर्षको ६ महिनामा बैंकहरुको समग्र कर्जा ५.२ प्रतिशतले मात्रै वृद्धि भएको छ । तर, मार्जिन प्रकृतिको सेयर धितो कर्जा भने २६.३ प्रतिशतले बढेको छ । केन्द्रीय बैंकको नीतिगत सहजताका कारण सेयर बजारमा लगानी बढिरहेको जानकारहरू बताउँछन् । साथै बैंकहरूले पनि अन्य क्षेत्रमा कर्जा नगइरहेको सन्दर्भमा यसतर्फ कर्जा बढाइरहेका छन् ।