Logo

प्लान्ट क्वारेन्टाइनको भरमा खाद्यान्न आयात

काठमाडौं– भारत तथा तेस्रो मुलुकबाट आयात हुने अधिकांश खाद्यवस्तु प्लान्ट क्वारेन्टाइन परीक्षणका भरमा मात्र भित्रिने गरेका छन् ।

विदेशबाट आयात हुने चामल, दाल, गहुँ, गेडागुडी, मकै, तोरीजस्ता खाद्यान्नको गुणस्तर जाँच खाद्य आयात निर्यात गुण प्रमाणीकरण कार्यालयले गर्नुपर्नेमा प्लान्ट क्वारेन्टाइनले गरेको भरमा भित्रिने गरेको हो ।

प्लान्ट क्वारेन्टाइनले खाद्यवस्तुमा रोग र किरा लागे–नलागेको मात्र परीक्षण गर्छ । खाद्यवस्तु उपभोग गर्न योग्य भए–नभएको सम्पूर्ण परीक्षण गर्न सक्दैन । त्यसैले नेपाल भित्रिने अधिकांश खाद्यवस्तुको गुणस्तर भगवान भरोसामा छ ।

मुलुकका करिब आधा दर्जन भन्सार नाकामध्ये नेपालगन्ज, धनगढी र कपिलवस्तु भन्सार कार्यालयले आयातित खाद्यान्नको परीक्षण प्लान्ट क्वारेन्टाइनसँगै खाद्य आयात निर्यात गुण प्रमाणीकरण कार्यालयबाट गराउँदै आएका छन् । यसबाहेक भैरहवा, वीरगन्ज, विराटनगर, काँकडभिट्टालगायत अन्य सबै नाकामार्फत आयात हुने खाद्यान्न प्लान्ट क्वारेन्टाइनको जाँचका भरमा मात्र आउने गरेको छ । यी भन्सार कार्यालयले खाद्यान्नको गुणस्तर जाँच गर्न खाद्य प्रमाणीकरण कार्यालयमा पठाउने गरेका छैनन् ।

सरकारले आर्थिक वर्ष २०७७–७८ बाट आयात निर्यातसँग सम्बन्धित सेवालाई सहज बनाउने उद्देश्यले एकद्वार अनलाइन प्रणाली कार्यान्वयनमा ल्याएको थियो । यसमा भन्सार कार्यालय, प्लान्ट क्वारेन्टाइन र खाद्य आयात निर्यात गुण प्रमाणीकरण कार्यालयलाई समावेश गरिएको छ ।

उद्योगी व्यापारीले भन्सार नाकाहरुमा ल्याउने खाद्यान्न वा अन्य वस्तुको अनलाइनमार्फत विवरण भर्छन् । यस्तो विवरणलाई सम्बन्धित निकाय (प्लान्ट क्वारेन्टाइन वा खाद्य कार्यालय) ले जाँचेर आयातका लागि अनुमति दिएपछि मात्र भन्सार कार्यालयले ल्याउन अनुमति दिन्छ । तर, अहिलेको अनलाइन प्रणालीमा आयातित खाद्यवस्तुको गुणस्तर जाँच गर्ने जिम्मेवारी प्लान्ट क्वारेन्टाइनलाई दिइएको छ । प्लान्ट क्वारेन्टाइनले खाद्यवस्तुमा किरा लागेको बाहेक अन्य गुणस्तर (खान योग्य भए–नभएको) हेर्न सक्दैन । यो विषय हेर्ने दक्षता र जिम्मेवारी दुवै खाद्य आयात निर्यात गुण प्रमाणीकरण कार्यालयको हो । तर, यो कार्यालयसँग आयातित खाद्यवस्तु जाँचका लागि नै पुग्ने गरेको छैन ।

भैरहवादेखि पूर्वी क्षेत्रका भन्सार कार्यालयहरुले प्लान्ट क्वारेन्टाइनले अनुमति दिएपछि जस्तोसुकै गुणस्तरहीन खाद्यान्न भए पनि आयात गर्न अनुमति दिने गरेका छन् । खाद्य आयात निर्यात गुण प्रमाणीकरण कार्यालय भैरहवाका प्रमुख रविन्द्र झाले भैरहवा भन्सार नाकाबाट आयात हुने चामल, दाल, गहुँ, गेडागुडी, दलिया, मकै, तोरीजस्ता खाद्यवस्तु प्लान्ट क्वारेन्टाइनले गर्ने परीक्षणबाट मात्र आइरहेको जानकारी दिए । खाद्यवस्तुको गुणस्तर परीक्षण प्लान्ट क्वारेन्टाइनले मात्र हेरेर नपुग्ने उनले बताए । उनका अनुसार अहिले लागु भएको एकद्वार अनलाइन प्रणालीमा कुन वस्तु कुन कार्यालयले हेर्ने भन्नेमा अलमल रहेको छ । ‘खाद्यवस्तुको गुणस्तर प्लान्ट क्वारेन्टाइनले मात्र हेर्ने गरी प्रणालीमा राखिएको छ,’ झाले कारोबारसँग भने, ‘यो अपुरो छ । प्लान्ट क्वारेन्टाइनले मात्र खाद्यान्नको सबै गुणस्तर जाँच गर्न सक्दैन ।’

झाका अनुसार अनलाइन प्रणालीमा यही समस्या भएकाले नेपालगन्ज, धनगढी र कपिलवस्तुका भन्सार कार्यालयले थप परीक्षणका लागि खाद्य आयात निर्यात गुण प्रमाणीकरण कार्यालयमा पनि पठाउने गरेका छन् । भैरहवादेखि पूर्वी क्षेत्रका भन्सार कार्यालयमा भने यो प्रचलन छैन । नेपालगन्ज भन्सारले खाद्यान्नको अतिरिक्त परीक्षण गराएका कारण बेलाबेलामा अखाद्य फेला परेका खाद्यान्न आयातमा रोक लगाएको देखिन्छ । भैरहवा, वीरगन्ज, विराटनगर र काँकडभिट्टा भन्सार नाकाबाट भने जस्तो गुणस्तरका भए पनि निर्वाध रुपमा खाद्यान्न आइरहेका छन् ।

प्रमुख झाले भने, ‘भन्सारमा गुणस्तर चेकजाँच गर्न आफैं नमुना लिने अधिकार हामीसँग छैन । भन्सारले खाद्यवस्तुको नमुना संकलन गरी गुणस्तर परीक्षण गर्न दिएपछि मात्र परीक्षण गर्ने हो । पछिल्लो समय भन्सारले गुणस्तर चेकजाँचका लागि नमुना दिएको छैन ।’ उनका अनुसार अहिलेको अनलाइन प्रणालीलाई सच्याउन संघीय सरकारदेखि भन्सार नाकाहरुलाई जानकारी दिइएको छ । आगामी दिनमा प्रणालीमा सुधार हुँदैछ ।

भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीले भन्सार कार्यालयले अनलाइन प्रणालीमार्फत भन्सार जाँचपास गर्ने गरेको बताए । भन्सारको एकीकृत प्रणालीमा खाद्य गुणस्तर परीक्षणको अनलाइन प्रणाली समाविष्ट भएअनुसार नाकाबाट सामान भित्र्याउने अनुमति दिने गरेको उनले जानकारी दिए ।
उनका अनुसार भन्सारबाट खाद्यवस्तु भित्र्याउँदा गुणस्तर नभएको शंका लागेमात्र खाद्य गुणस्तर परीक्षण गर्न पठाउने गरिएको छ । सबै आयात अनुमति अहिले अनलाइन प्रणालीमा नै भएको हुँदा भन्सारमा फेरि नमुना संकलन गरी परीक्षण गर्दा पठाउँदा व्यापारीलाई हतोत्साहित गरेको आरोप लाग्न सक्छ । भैरहवा नाकाबाट दैनिक तीनदेखि चार टन चामल भित्रिने गरेको छ ।

यस्तै वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले पछिल्लो समय आयात निर्यातको सबै अनुमति अनलाइन प्रणालीबाट नै हुने हुँदा भन्सारले आयातकर्ताले बुझाएको विवरणअनुसार नै सामान भित्र्याउने गरेको जानकारी दिए । कुनै व्यवसायीले खाद्यवस्तु आयात गर्दा सम्बन्धित निकायले अनुमति नदिए भित्र्याउन नपाइने व्यवस्था अनलइन प्रणालीमै रहेको उनले बताए । भन्सारमा व्यवसायीले आयात अनुमति लिएको विवरण कार्यालयलाई बुझाउनुअघि नै नाकाबाट सामान भित्र्याउने अनुमति पाउने गरेको उनको भनाइ छ ।

अर्कोतिर खाद्यवस्तु आयात गर्दा अनलाइन प्रणालीसँगै भौतिक रुपमा नमुना संकलन गरी परीक्षणमा पठाउने गरेको नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले जानकारी दिए । उक्त नाकाबाट खाद्यवस्तु भित्र्याउनु भन्दा पहिले खाद्य आयात निर्यात गुण प्रमाणीकरण कार्यालयलाई वस्तुको नमुना परीक्षणका लागि पठाउने गरिएको छ । कार्यालयले दिएको गुण प्रमाणीकरणका आधारमा मात्र खाद्यवस्तु भित्र्याउने अनुमति दिने गरेको उनले जानकारी दिए ।

खड्काका अनुसार यही माघ १३ मा नेपालगन्ज भन्सारले न्यून गुणस्तरको चना र राजमाको दाल फिर्ता पठाएको थियो । कशौधन ट्रेडर्स नेपालगन्जले भारतबाट आयात गरेको ९ हजार ६ सय किलो चनाको दाल प्रमाणीकरण कार्यालयले परीक्षण गर्दा गुणस्तरहिन देखिएपछि आयात रोकिएको थियो । यसैगरी नेन्शी सप्लायर्स दाङले भारतबाट ल्याएको २३ हजार २८० किलो राजमाको दाल पनि गुणस्तरयुक्त नदेखिएपछि रोकिएको थियो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सन्जीवकुमार कर्णले एकद्वार अनलाइन प्रणालीमा केही समस्या देखिएको जानकारी दिए । उनका अनुसार सम्पूर्ण रुपमा परीक्षण हुन नपाएकाले न्यून गुणस्तरका खाद्यान्न पनि भित्रिने सम्भावना रहेको छ । अहिलेको अनलाइन प्रणालीलाई सुधार गरी खाद्यवस्तुको गुणस्तर परीक्षणबिना भित्र्याउन नपाउने व्यवस्था गर्न आवश्यक रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्