Logo

प्रभु स्टील्सले शेयर ब्रोकर कम्पनी खरिद गर्ने, प्राइभेट ईक्युटीको लागि प्रस्ताव आह्वान

काठमाडौं- प्रभु होल्डिङ्गस, हाईड्रो होल्डिङ्गस लगायत प्रभु ग्रुप्सको लगानीमा संस्थापित प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले शेयर ब्रोकर कम्पनी खरिद गर्ने भएको छ । सो सम्बन्धमा एक कम्पनीसँग अन्तिम सम्झौता गर्ने तयारीमा रहेको कम्पनीका कार्यकारी अधिकृत दिलप्रसाद अधिकारीले जानकारी दिए ।

कम्पनीले प्राइभेट ईक्युटी र भेञ्चर क्यापिटलमा समेत लगानी गर्ने भएको छ । कम्पनीले निकट भविष्यमा हकप्रद शेयर निष्काशन गरी थप आवश्यक पूँजीको जोहो गर्न लागेको छ । यस कम्पनीले यही माघ २४ गतेदेखि आफ्ना शेयरधनीहरुलाई एक बराबर एक (१:१) का दरले हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

यस कम्पनीले थप अन्य शेयर ब्रोकरमा समेत लगानी गर्ने इच्छा राखेको छ । धितोपत्र कारोबार गरिरहेका शेयर दलाल कम्पनीहरु मध्ये धेरै जसो पुराना कम्पनीले पूँजी पुर्‍याउन नसकिरहेको बेला यस कम्पनीले त्यस्ता शेयर ब्रोकर कम्पनीमा लगानी गर्ने उद्देश्यले सूचना प्रकाशित गरेको हो । कम्पनीले प्राइभेट ईक्युटी, भेञ्चर क्यापिटल, म्युचुअल फण्ड र एसआइपीमा समेत लगानी गर्ने भएको छ ।

यसरी लगानी विविधीकरण गर्दा आफ्ना शेयरधनीहरुले भविष्यमा राम्रो प्रतिफल प्राप्त गर्न सक्ने देखिएकाले लगानी गर्ने निर्णयमा पुगेको कम्पनीका कार्यकारी अधिकृतले जानकारी दिए । यस कम्पनीले सर्वसाधारणका लागि सार्वजनिक शेयर निष्कासन गर्ने उद्देश्यले आईपीओ निकाल्न कुमारी क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

यस कम्पनीको ९८ करोड बराबरको आईपीओ निष्काशन हुनेछ । कम्पनीले लगानी गरेको सिद्धार्थ केवलकार परियोजना गत भदौदेखि सञ्चालनमा आइसकेको छ । यस केवलकार मार्फत् एक लाख बीस हजार भन्दा बढी पर्यटकहरुले नुवाकोट गढी र ऋषि कालदेवल क्षेत्रको भ्रमण गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्