बाँकेमा ‘ट्राफिक लाइट’को नियम लागू

बाँके- बाँकेमा पहिलोपटक ट्राफिक लाइटको नियम लागू भएको छ । गत पुसको २८ गतेदेखि ट्राफिक लाइटको नियम लागू भएसँगै सवारी साधन चालक र यात्रुहरुले उक्त नियमको पालना गरेको अस्थायी ट्राफिक प्रहरी पोष्ट नेपालगञ्जका ट्राफिक प्रहरी वरिष्ठ नायब निरीक्षक प्रवीण आचार्यले बताए ।
उनका अनुसार तीन–चार पटकसम्म सम्झाइबुझाइ गर्दा पनि रातो बत्तीको नियम पालना नगरेका आठ जनालाई जरिवाना स्वरुप चिट काटेर कारबाही गरिएको छ । ई–सेवा, खल्ती, ई चलान र राष्ट्रिय वाणिज्य बैंकको माध्यमबाट हालसम्म आठ जनाबाट चार हजारसम्मको राजस्व संकलन भएको अस्थायी ट्राफिक प्रहरी पोष्ट नेपालगञ्जका प्रमुख आचार्यले जानकारी दिए ।
नेपालगञ्जमा ट्राफिक लाइटको नियम लागू भएसँगै जरिवानाभन्दा पनि यात्रुलाई सडक लेनको प्रयोग कसरी र कस्तो अवस्थामा गर्ने भनेर जनचेतना दिने विषयमा आफूहरु केन्द्रित रहेको आचार्यको भनाइ थियो । प्रमुख आचार्यका अनुसार ट्राफिक लाइटको नियम लागू भएसँगै पहिलाको तुलनामा अहिले धम्बोझीदेखि विपी चोकमा हुने दुर्घटनामा कमी आएको छ ।
पहिला हप्तामा आठ दश वटा सामान्य दुर्घटना हुन्थ्यो भने अहिले सोही ठाउँमा ट्राफिक लाइटको नियम लागू भएपछि दुर्घटना नभएको ट्राफिक प्रहरी वरिष्ठ नायब निरीक्षक आचार्यले बताए । उनका अनुसार ट्राफिक लाइटको नियम सञ्चालन भएसँगै हालसम्म रातो बत्ती कारबाहीमा १६५ परेका छन् भने गलत तरिकाले बाटो काट्ने ३२३ जनालाई कारबाही गरिएको छ ।