नेपाल लाइफको सेल्स ट्रान्सफर्मेसन सम्पन्न

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एक दिवसीय सेल्स ट्रान्सफर्मेसन सेसन सम्पन्न भएको छ ।
काठमाडौंमा आयोजित कार्यक्रममा चालु आर्थिक वर्षको दोस्रो त्रैयमासको व्यापार समिक्षा गर्दै आर्थिक वर्ष २०८१/०८२ को बाँकी समयावधिको लागि सेल्स रणनीतिको तर्जुमा गरिएको थियो । यस कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवाल सहभागी कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नेशनल सेल्स हेड उमापति पोखरेल लगायत उच्च व्यवस्थापकहरु तथा प्रादेशिक प्रमुखहरुको सहभागिता रहेको थियो ।
कम्पनीका सञ्चालक अग्रवालले प्रतिकूल आर्थिक अवस्थाको बावजुद पनि कम्पनीले प्राप्त गरेको उपलब्धिका निम्ति अहोरात्र खट्ने सम्पूर्ण नेपाल लाइफकर्मीलाई अन्तरमनदेखि धन्यवाद ज्ञापन गरे । उनले नेपाल लाइफ जीवन बीमा उद्योगको मार्ग प्रदर्शकको रुपमा रहेको र अहिले हासिल गरेको उपलब्धि भन्दा धेरै माथिको उपलब्धि ल्याउन सक्ने सम्भावना बोकेको बताए ।
प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले आम नेपाली नागरिकमा अझै पनि बीमा सम्बन्धी सचेतना पर्याप्त रुपमा नपुगेको हुँदा बीमा जागरण गराउन आवश्यक रहेको बताए । कम्पनीले इनोभेटिभ प्रोडक्ट मार्केटमा ल्याइरहेको र आगामी दिनमा पनि यस्ता प्रोडक्टहरु मार्केटमा ल्याएर बीमा बजारको विस्तारमा भूमिका निर्वाह गर्नका निम्ति कार्यारम्भ भइसकेको बताए ।