कहाँ चुक्यो नेपाल टेलिकम, के गर्नुपर्छ अब ?

सन्दर्भ : नेपाल टेलिकमको १२ औं वार्षिक साधारणसभा |
कम्पनीमाथि राजनीतिक हस्तक्षेप प्रत्यक्ष वा परोक्ष हुने गरेको सन्दर्भमा अनावश्यक हस्तक्षेपबाट कम्पनीलाई टाढा राख्नुपर्छ ।
नेपाल टेलिकमले २०७४-७५ मा १७.४८ अर्ब खुद नाफा आर्जन गरेकोमा २०७५-७६ मा ९.७६ अर्बमा ओर्र्लिएको छ । यो आँकडा अघिल्लो वर्षभन्दा ४४.१९ प्रतिशत न्यून हो । कम्पनीको आय ओरालो लागेका कारण अघिल्लो वर्ष प्रतिसेयर ५५ रुपैयाँ लाभांश बुझेका लगानीकर्ताले ४५ रुपैयाँमै चित्त बुझाएका छन् । २०७५-७६ मा कुल आय, प्रतिसेयर आय, नेटवर्थ, खुद नाफा अनुपातलगायतका परिसूचकहरू सन्तोषजनक देखिएका छैनन् । २०७६ पुस २९ गते बा-हौं साधारणसभा सम्पन्न गर्दै गर्दा कम्पनी कहाँ–कहाँ चुक्यो र अब के गर्नु पर्छ भन्ने कुरा पहिल्याउने जमर्को तपसिलमा गरिएको छ ।
सेवाग्राही वृद्धि र सञ्चालन आयबीच सीधा सम्बन्ध रहन्छ । ग्राहक वृद्धि हुँदा सामान्यतः प्रतिउपभोक्ता आय वृद्धि हुनुपर्छ, तर २०७५-७६ मा भ्वाइस सेवाग्राही १३.५९ प्रतिशतले र डाटाका सेवाग्राही २६ प्रतिशतले वृद्धि हुँदा कार्य सञ्चालन आय ३९.२ अर्बबाट ३६.८७ अर्बमा ओर्र्र्र्लिएको छ, जहाँ २०७५-७६ मा भ्वाइस सेवाग्राही २७ लाख १५ हजार र डाटा सेवाग्राही २८ लाख २९ हजार वृद्धि भएको प्रतिवेदनले देखाएको छ । यतिविघ्न ग्राहक आधार वृद्धि हुँदा कार्य सञ्चालन आय २.३३ अर्ब घट्नु सोचनीय हुनुपर्छ ।
अन्य सेवाप्रदायकहरूलाई एकाध सेवा सञ्चालन गर्ने लाइसेन्स प्राप्त हुँदा टेलिकमले पीएसटीएन, जीएसएम, सीडीएमए, एफटीटीएच, एडीएसएल, वाईम्याक्सलगायतका सेवा सञ्चालनको अनुमति प्राप्त गरेको छ । यो आफैँमा ठूलो अवसर हो । यसै पनि प्रतिस्पर्धामा टिक्न कार्य सञ्चालन आय बर्सेनि वृद्धि हुनुपर्छ, तर २०७५-७६ मा पीएसटीएन आय ३५.८ करोड, सीडीएमए आय २४.१५ करोड, एडीएसएल आय ४८.६७ करोडले घटेको छ । कार्य सञ्चालन आय नै घट्नु चिन्तनीय कुरा नभइरहन सक्दैन ।
व्यावसायिक संस्थाहरूले नयाँ–नयाँ आयोजना कार्यान्वयन गर्न स्वपुँजीको अभावमा बैंक तथा वित्तीय संस्थाबाट ऋण लिइन्छ । कुनै व्यावसयिक संस्थाले चलपुँजी बैंकमा जम्मा गरेर सुती–सुती ब्याज खाने धृष्टता गर्नु हुँदैन पनि । जबकि २०७५-७६ को वासलातमा ब्याज आय (संस्थागत ऋणपत्र, बैंक निक्षेप, कर्मचारी ऋण) ६.५८ उल्लेख भएको छ । २०७५-७६ मा पीएसटीएन, सीडीएमए, वाईम्याक्स, एफटीटीएच र एडीएसएल सेवा बिक्रीवाट प्राप्त आयलाई यसआयले उछुनेको छ, जहाँ २०७५-७६ मा पीएसटीएन, सीडीएमए, वाईम्याक्स, एफटीटीएच र एडीएसएलबापत कम्पनीले ४.६० अर्ब मात्र आर्जन भएको छ ।
कम्पनीको आर्थिक स्वास्थ्य त्यस बेला सबल मानिन्छ जति बेला आय वृद्धि वा खर्च कटौती गर्न कम्पनी सक्षम हुन्छ, तर २०७४-७५ मा २३.३४ अर्बमा सीमित कुल खर्च २०७५-७६ मा २८.७६ अर्ब उक्लिएको छ । यो २३.२९ प्रतिशतले उक्लिएको हो । खुद आय ७.७२ अर्बले न्यून हुँदा कुल खर्च ५.४२ अर्बले वृद्धि हुनु वित्तीय स्वास्थ्य विश्रृखलित हुनु हो ।
जीएसएमबाहेकको आयले कम्पनीको सामान्य खर्च समेत धान्न नसकेको अवस्था छ, जहाँ २०७५-७६ मा पीएसटीएन शीर्षकमा ३.९० अर्ब मात्र आर्जन हुँदा, कर्मचारी खर्च शीर्षकमा ६.४१ अर्ब खर्च भएको छ । एफटीटीएच शीर्षकमा ३.०४ करोड आर्जन हुँदा प्रिन्टिङ एन्ड स्टेसनरी शीर्षकमा ४.०४ करोड खर्च भएको छ । वाईम्याक्स शीर्षकमा ३ करोड आर्जन हुँदा सवारी साधन मर्मत–सम्भार शीर्षकमा ६.८५ करोड खर्च भएको छ । सीडीएमए शीर्षकमा ६७.३१ करोड आर्जन हुँदा पावर, हिटिङ एन्ड लाइटिङ शीर्षकमा १.२३ अर्ब खर्च भएको छ । एडीएसएल शीर्षकमा १.०२ अर्ब आर्जन हुँदा बिक्रीबापतको कमिसन शीर्षकमा १.०९ अर्ब खर्च भएको छ । कम्पनी व्यवस्थापनको कार्यकुलतामाथिको औंला ठड्याइ हो यो ।
कुनै एउटै सेवाप्रति अधिक निर्भरता हुनु भनेको जोखिम विविधीकरण नहुनु हो । परन्तु जीएसएममाथि भ्वाइसको ८९.१७ प्रतिशत र डाटाको ९७.२८ प्रतिशत ग्राहक निर्भरता रहेको छ । त्यस्तै कुल आयमा जीएसएमको एकल हिस्सा ५६ प्रतिशत रहेको छ । जबकि जीएसएमका ग्राहक तथा आय आफैंमा चलायमान प्रकृतिको रहेको छ ।
सामान्यतया जुन सेवामा बजार एकाधिकार रहन्छ, त्यस्तो सेवाबाट कम्पनीले एकलौटी ढंगबाट आय आर्जन गर्न सक्नुपर्छ । तर, फिक्स्ड टेलिफोनको व्यापार अवस्था ठीक विपरित रहेको छ । सोचनीय कुरा फिक्स्ड टेलिफोनका सेवाग्राही २०७५-७६ मा ९ हजार ६ सय घटेका छन् । जबकि एडीएसएल व्रोडब्यान्ड फिक्स्ड टेलिफोनमै अनबन्धित भ्यालुएडेड सेवा हो । यहाँसम्म कि फिक्स्ड टेलिघनत्व बर्सेनि घट्दै २०७६ असोजमा २.७ प्रतिशतमा ओर्र्लिएको छ । जबकि विश्वव्यापी फिक्स्ड टेलिघनत्व सन् २०१९ मा १२.१ प्रतिशत रहेको आईटीयूको आँकडाले देखाएको छ ।
कम्पनीको सफलताका लागि मेहनती, इमानदार, क्षमतावान् जनशक्तिको खाँचो पर्छ । अपितु अब्बल जनशक्ति नियुक्त गर्नु र र कुशल जनशक्ति परिचालन गर्नु फरक कुरा हुन्, जहाँ कम्पनीमा रहेका ४ हजार १ जनशक्ति अब्बल रहेको दाबा गरिन्छ पनि । तर, २०७५-७६ मा खुद आय ४४.१९ प्रतिशतले घट्नुले भने उक्त कुरा गलत साबित गरेको छ ।
कम्पनीको कार्यसम्पादनमाथि आंैला ठड्याउनु एकवर्षे आँकडा अपर्याप्त हुन सक्छ । कम्पनी ठीक गोरेटोतर्फ हिँडिरहेको छ कि छैन भनेर नियाल्न पछिल्लो पाँच वर्षको आँकडा नियाल्नुपर्छ । तर, पछिल्लो पाँच वर्षको वार्षिक प्रतिवेदनले कम्पनीको वित्तीय र व्यावसायिक परिसूचक खासै सन्तोषजनक देखिएको छैन, जहाँ २०७१-७२–७५-७६ को अवधिमा कुल आय ४२.६४ अर्बबाट ४३.८४ अर्ब मात्र पुगेको छ, जुन वार्षिक औसत २४ करोड अर्थात् ०.५६ प्रतिशतले मात्र वृद्धि भएको हो । खुदनाफा १४.५५ अर्बबाट ९.७६ अर्बमा ओर्लिएको छ, जुन वार्षिक औसत ९५.८ करोड अर्थात् ६.५८ प्रतिशत घट्न गएको हो ।
सोही अवधिमा पुँजी लगानीमा प्रतिफल १५.२१ प्रतिशतबाट ८.८४ प्रतिशतमा, लगानीकर्ताको कोषमा प्रतिफल १७.९८ प्रतिशतबाट १०.६२ प्रतिशतमा, प्रतिसेयर आय ९७.०५ रुपैयाँबाट ६५.०५ रुपैयाँमा, खुद नाफा अनुपात ३४.१२ प्रतिशतबाट २२.२६ प्रतिशतमा, सेयर पुँजीमा लाभांश ५० बाट ४५ प्रतिशतमा ओर्लिएको छ भने कर्मचारी खर्च ४.११ अर्बबाट ६.४१ अर्ब, कुल खर्च २२.६३ अर्बबाट २८.७६ अर्बमा उक्लिएको छ ।
कम्पनीमा सर्वसाधारणको ८.४८ प्रतिशत र नेपाल सरकारको ९१.४९ प्रतिशत लगानी रहेका कारण स्वाभाविक रूपमै कम्पनीप्रति सर्वसाधारणको चासो रहेको छ । कम्पनीको वित्तीय अवस्था खस्कँदै गरेकाले तपसिलबमोजिम सुधारात्मक कदम वाञ्छनीय हुन्छ ।
बजार एकाधिकार रहेको एक शताब्दीको विरासत रहेको फिक्स्ड सेवाले कर्मचारीको खर्चसमेत धान्न नसक्नु भनेको त्यसभित्र निहित कमजोरीहरू छन् भनेर बुझ्नुपर्छ । फिक्स्ड टेलिफोनको ग्राहक आधार र आय वृद्धि गर्न भ्यालुएडेड सेवाहरू बढाउनुपर्छ । वाईम्याक्स, इभिडिओ, एडीएसल, एफटीटीएच सम्भावना बोकेका प्रविधिहरू भएकाले गुणस्तर सुधार, नयाँ–नयाँ भ्यालु एडिसन, भर्जिन एरिया पहिचान गरी प्रतिउपभोक्त आय वृद्धिको उपाय पहिल्याउनुपर्छ ।
कम्पनीमाथि राजनीतिक हस्तक्षेप प्रत्यक्ष वा परोक्ष हुने गरेको सन्दर्भमा अनावश्यक हस्तक्षेपबाट कम्पनीलाई टाढा राख्नुपर्छ । सार्वजनिक खरिद नियमावलीका कारण खरिद प्रक्रिया कठिनाइ सिर्जना हुने समान लेभल अफ प्लेइङ फिल्डमा उतार्न राज्यको ध्यान जानुपर्छ ।
कम्पनीमा अहिले पनि काबिल र क्रिम जनशक्तिको अभाव छैन, तर विकट क्षेत्रमा कर्मचारी अभाव हुने, सुगम क्षेत्रमा कर्मचारीले कुर्सीसमेत नपाउने, कतिपय सेवा आउट सोर्स गरी बाह्य पक्षलाई पोस्ने गरिएकाले विद्यमान जनशक्ति सही उपयोग गर्ने कर्मचारी योजना अगाडि सार्नुपर्छ ।
नयाँ नयाँ प्रविध र रणनीतिक महŒवका आयोजनामै कम्पनीको भविष्यको निर्धारक तŒव हो, तर कतिपय रणनीतिक महŒवका आयोजनाहरू समयमै पूरा हुन नसकेको अवस्था छ । आयोजना समयमै सम्पन्न गर्न कार्यसम्पादन सम्झौता, दण्ड तथा पुरस्कारको व्यवस्था कडाइका साथ लागू गर्नपर्छ ।
कम्पनीको पोल्टामा पीएसटीएन, जीएसएम, सीडीएम, वाईम्याक्स, एडीएसएल, इभिडिओ, थ्रीजी, फोरजीसँग अनुबन्धित करिब दुई दर्जन भ्यालुएडेड सर्भिसहरू भईकन पनि सम्भाव्य उपभोक्ताले जानकारी नपाएको हुन सक्छ । सेवाबारे जानकारी गराउन प्रवद्र्धन प्रभावकारी हुनुपर्छ । २०७५-७६ मा कुल आयको औसत ०.३८ प्रतिशतमात्र सेवाको विज्ञापन तथा प्रवद्र्धन शीर्षकमा खर्च भएको छ । जबकि बहुराष्ट्रिय कम्पनीहरूले कुल आयको १ देखि ३ प्रतिशतसम्म प्रवद्र्धनमा खर्च गर्ने गरेको पाइन्छ । यसै पनि विज्ञापन खर्च नभई लगानी हो । पस्किएका सेवाको जानकारी गराउन होर्डिङ बोर्ड, बिलवोर्ड, फिलेक्स, वालपेन्टिङ, सामाजिक सञ्जालका सेवाको उच्चतम उपयोग गर्नुपर्छ ।
कम्पनीको पोल्टामा तरल पुँजीको अभाव छैन ।
बैंक तथा वित्तीय संस्था, जलविद्युत्, कृषि, उत्पादनमूलक क्षेत्रको तुलनामा दूरसञ्चार क्षेत्र क्षेत्रको प्रतिफल दर अधिक नै रहेको टेलिकमकै अध्ययनले देखाएको छ । २०७५-७६ को वासलातले बैंक ब्याजबापत ६.५८ अर्बको देखाएको सन्दर्भमा बैंकमा पैसा जम्मा गरेर बैंकहरूलाई मोटो गराउनु अतिरिक्त नयाँ–नयाँ दूरसञ्चार प्रविधिमा लगानी गर्नुपर्छ ।
टेलिकम र बहुर्राष्ट्रिय कम्पनी एक्जिएटाबीच गलाकट प्रतिस्पर्धा चल्दो छ । अर्कातर्फ कर्मचारी वर्गको परम्परागत कार्यशैली अहिले पनि ज्यूँका त्यूँ रहेको छ । यथास्थितिमा कार्यसंस्कृति त्यति सजिलै सुधार भइहाल्ने संकेत देखिँदैन पनि । खासमा प्रक्रियामुखी निर्णय पद्धति, युनियनको सोच, खरिद कार्यशैली तथा निर्णय प्रक्रियामा परिवर्तन ल्याउन रणनीतिक साझेदार एकमात्र विकल्प ठानिएको छ । यसै पनि कम्पनीले छ–सात वर्ष पहिलेदेखि रणनीतिक साझेदारको आवश्यकता महसुुस गरेकै छ । यसका निमित्त दूरसञ्चार क्षेत्रमा कम्तीमा २५ वर्ष अनुभवप्राप्त, फिक्स्ड, जीएसएम, सीडीएमए र डाटा आधार कम्तीमा पनि ५ करोड रहेको, वार्षिक कारोबार कम्तीमा २ अर्ब डलर पुगेको क्षमतावान् कम्पनी रणनीतिक साझेदारका रूपमा भिœयाउनुपर्छ ।