Logo

जनवरीमा भित्रिए ८० हजार पर्यटक यस वर्षकाे संख्या गत वर्षकै जस्तै

फाइल तस्बिर ।

काठमाडौं– यस वर्षको पहिलो महिना (सन् २०२५) जनवरीमा झण्डै ८० हजार पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार जनवरीमा ७९ हजार ९९१ पर्यटक नेपाल भ्रमणमा आएका हुन् । यो गत वर्षको जनवरीमा आएको बराबर संख्या हो । २०२४ जनवरीमा पनि ७९ हजार एक सय पर्यटक नेपाल आएका थिए ।

बोर्डका अनुसार पर्यटक आगमनमा पहिलो महिना कुनै थप सुधार भएको देखिँदैन । अर्कोतिर नेपालमा सबैभन्दा धेरै पर्यटक आउने मुलुक भारतबाटको आगमन घटेको छ । यस वर्ष जनवरीमा भारतबाट २० हजार ४८५ पर्यटक आएका छन् । यो अघिल्लो वर्ष जनवरीको तुलनामा करिव १५ प्रतिशतले कम हो । अघिल्लो वर्ष जनवरीमा २४ हजार १३९ भारतीय नेपाल आएका थिए ।

बोर्डका अनुसार अहिले भारतीय पर्यटक भारतकै कुम्भ मेलामा सहभागी हुन गएका छन् । मेलामा जानेको संख्या धेरै हुँदा नेपालतर्फको आगमन प्रभावित हुन पुगेको उनीहरुको अनुमान छ । भारतीय पर्यटक घट्दा बंगलादेशीलगायत अन्य मुलुकबाट आउने पर्यटक आगमनमा भने उच्च सुधार आएको छ । त्यही कारण समग्रमा पर्यटकको संख्या घटेको छैन ।

यो जनवरीमा बंगलादेशबाट ५ हजार ४०६ पर्यटक नेपाल आएका छन् । अघिल्लो वर्षको तुलनामा यो ४९ प्रतिशत धेरै हो । २०२४ जनवरीमा बंगलादेशबाट ३ हजार ६२९ पर्यटक नेपाल आएका थिए । बोर्डको तथ्यांकले दक्षिण एसियाली भेगको समग्र पर्यटक आगमन खस्किएको देखाएको छ । यसो हुनुमा भारतीय पर्यटकको संख्यामा कमी आउनु पहिलो कारण हो ।

बंगलादेशी पर्यटक आगमन बढे पनि श्रीलंकाली पर्यटक घटेका छन् । श्रीलंकाबाट ४०७ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । यस्तै पाकिस्तानी पर्यटक आगमनमा भने सुधार आएको छ भने भुटानबाट आउने पर्यटक पनि बढेका छन् । एसियाली मुलुकमध्ये भियतनाम, इन्डोनेसियासहितबाट पर्यटक बढ्दा थाइल्याण्ड, फिलिपिन्स, सिंगापुर, दक्षिण कोरियालगायतबाट घटेका छन् ।

एसियाली भेगको आगमन समग्रमा घटेको छ । अर्कोतिर यो जनवरीमा युरोपबाट आउने पर्यटक संख्यामा सुधार भएको छ । युरोपेलीमध्ये सबैभन्दा धेरै बेलायतबाट ३ हजार ५२१ पर्यटक आएका छन् । यो अघिल्लो वर्षको तुलनामा ७.५ प्रतिशतले धेरै हो । २०२४ जनवरीमा ३ हजार २७६ पर्यटक बेलायतबाट आएका थिए । जर्मनीबाट १ हजार ३२१, फ्रान्स १ हजार १०, रुस ६१६ पर्यटक आएको देखिन्छ ।

यी सबै देशबाट आगमनमा सुधार भएको छ । यस्तै यस वर्षको जनवरीमा अस्ट्रेलिया–न्युजिल्याण्डबाट आउने पर्यटक संख्यामा पनि सुधार देखिएको छ । अस्ट्रेलियाबाट ४ हजार ३०१ पर्यटक नेपाल आएका छन् । अघिल्लो वर्ष यो संख्या ३ हजार ४२१ थियो । यस्तै अमेरिकाबाट एक महिनामा ८ हजार ६३ जना नेपाल आएका छन् । अघिल्लो वर्ष ७ हजार ४७ आएका थिए । यस वर्ष मध्यपूर्व र अफ्रिकी देशबाट पर्यटक आगमन घटेको छ । अर्कोतिर चिनियाँ पर्यटक आगमन भने बढेको छ । यो नेपाली पर्यटन क्षेत्रका लागि सुखद सन्देश हो ।

चिनियाँ पर्यटक बढ्न सुरु भए आगामी दिनमा कुल पर्यटकको संख्या ह्वात्तै वृद्धि हुनेछ । चीनबाट जनवरीमा ८ हजार १९१ पर्यटक आएका छन् । यो २०२४ जनवरीको तुलनामा १२.७ प्रतिशतको सुधार हो । गत वर्ष ७ हजार २६७ चिनियाँ पर्यटक नेपाल आएका थिए । चिनियाँ पर्यटकको आगमन कोभिड–१९ अगाडिको तुलनामा भने अझै पुगेको छैन । २०१९ जनवरीमा समग्र पर्यटक आगमन ८१ हजार २७३ रहँदा चिनियाँ १२ हजार ९१६ आएका थिए । त्यो वर्ष भारतीय भने १७ हजार ६९० मात्र आएका थिए ।

प्रतिक्रिया दिनुहोस्