पाँच महिनाअघि नै बन्याे प्रशासकीय भवन

लमजुङ– लमजुङको मस्र्याङ्दी गाउँपालिकाको प्रशासकीय भवन तोकिएको निर्माण अवधिभन्दा पाँच महिनाअघि नै सम्पन्न भएको छ । दुई वर्ष निर्माण अवधि रहेको सो भवन शिलान्यास भएको १९ महिनामै निर्माण कार्य सकिएको हो । २०८२ जेठ २३ सम्म निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको भवनको २०८१ फागुन १५ गते शिलान्यास भएको थियो ।
निर्माण सम्पन्न भवनको औपचारिक कार्यक्रमका बीच आइतबार उद्घाटनसमेत भएको छ । प्रशासकीय भवन निर्माणका लागि संघीय सरकार स्थानीय पूर्वाधार कार्यालय र मस्र्याङ्दी गाउँपालिकाले ६०/४० लागत साझेदारीमा मूल्य अभिवृद्धि करसहित पाँच करोड ९७ लाख रुपैयाँमा सम्झौता भएको थियो । प्राविधिक र आर्थिक प्रस्तावमा सबै प्रक्रिया पूरा गरेर शैलेन्द्र–जयज्योति–बौद्धनाथ जेभीले भवन निर्माण गरेको हो ।
नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भवनको औपचारिक उद्घाटन गरेका छन् । भवन उद्घाटन समारोहमा निर्धारित मितिभन्दा अगावै सम्झौताबमोजिम भवन निर्माण गरेको भन्दै गाउँपालिकाले निर्माण कम्पनी शैलेन्द्र जयज्योति बौद्धनाथ जेभीलाई सम्मान गरेको छ ।
गाउँपालिकाको सम्पूर्ण सेवालाई एकैस्थानबाट प्रवाह गर्नेगरी निर्माण भएको सो प्रशासकीय भवनको पहिलो तल्ला अपांगमैत्री रहेको छ । भवनको संरचनामा नै बेसमेन्ट पार्किङको समेत सुविधा रहेको छ । २८ वटा कोठा रहेको तीन तले भवनमा अध्यक्ष र उपाध्यक्षको छुट्टाछुट्टै कार्यकक्ष सहितको सचिवालय कक्ष, न्यायिक समितिको कार्यकक्ष, प्रशासकीय प्रमुखको कार्यकक्ष, पालिका अन्तर्गतका सबै विषयगत शाखाका छुट्टाछुट्टै कार्यकक्ष रहेका छन् ।यसअघि गाउँपालिकाको सेवा प्रवाहका लागि भवन नहुँदा
साविकको भुलभुले गाविस भवनमा गाउँपालिका कार्यालय, पञ्चविचार प्राविमा वडा कार्यालय र केही शाखा कार्यालय रहेका थिए । गाउँपालिकाको केही विषयगत शाखा खुदीमा समेत सञ्चालन हुँदै आएको थियो । प्रशासकीय भवन निर्माण सम्पन्न भएपछि नागरिकलाई सहज तरिकाले सेवा प्रवाह गर्नसकिने विश्वास गाउँपालिकाले लिएको छ ।