खानेपानी र कालोपत्रे सडकले गाउँ फर्काउन थाल्यो

दोलखा– कालिञ्चोक गाउँपालिका–४ हिलेपानीका घरघरमा पानीका धारा बनेका छन् । एक वर्षअघि बनेका पानीका धारामा केहीमा पानी झरेका छन् भने केहीमा झर्न बाँकी नै छ । घरघरमा खानेपानीका धारा बन्नु भनेको यहाँको वर्षौंदेखिको सपना नै हो । यो सपना बल्ल पूरा हुँदैछ । सुक्खा क्षेत्रजस्तै रहेको यो गाउँमा पानी ल्याउने बाचासहित वडाध्यक्ष दिपक खुलालले चुनाव पनि जिते ।
आफ्नो जागिरका सिलसिलामा दुई दशक गाउँ बाहिर भएका खुलालले पानीकै मुद्दा लिएर मतदातासँग मत मागे । उनको बाचाअनुसार पानीको धारा घरघरमा पुग्न लागेको छ । उमेरले ७५ वर्ष पुगेकी हिलेपानीकी रत्नमाया खतिवडा गाउँका घरघरमा पानीको धारो आएपछि खुशी भएकी छिन् । धारो त एक वर्षअघि नै बन्यो । अब पानी पनि आउनेमा उनी आशावादी छिन् ।
केही माथिल्ला गाउँका धारामा पानी आए तापनि रत्नमायाकोमा आएको छैन । एक दशकअघि बाक्लो गाउँभरि मान्छे थिए । अहिले घरहरू पनि जंगलले ढाकेका छन् । गाउँमा फाट्टफुट्ट मात्रै मान्छे भेटिन्छन् । अब गाउँमा कालोपत्रे चिल्ला सडक र घरघरमा पानीको धारो आएपछि मान्छेहरू गाउँ फर्कनेमा उनी आशावादी छिन् ।
नौ किलोमिटर टाढाको पानी गाउँमा
हिलेपानीमा अहिले नौ किलोमिटर टाढाबाट पानी ल्याएका छन् । कालिञ्चोक गाउँपालिका–१ मेरेक्पा भन्ने मुहानबाट पानी ल्याएका छन् । पानी गाउँसम्म ल्याउनका लागि तीन वर्ष लागेको छ । अघिल्लो वर्षसम्म वडा नं. ४ मा २३४ घरमा धारा बनेका छन् । मेरेक्पा खानेपानी योजना वडा नं. ३ र ४ का लागि बनेको हो । यसले अधिकाँश वडा नं. ४ का गाउँघरमा पानीको सुविधा पुग्छ भने केही वडा नं. ३ मा पनि पुग्छ ।
गत वर्ष वडा नं. ३ मा ७० धारा बनेका छन् । यसका लागि १३ वटा पानी जम्मा गर्ने ट्यांकी बनेका छन् । अपुग यो वर्ष थप एउटा रिजर्भ ट्यांकी र थप २२ वटा धारा पनि बन्ने वडाध्यक्ष खुलालले जानकारी दिए । सुक्खा ठाउँका वडा नं. ४ मा संस्कृतग्राम, हिलेपानी, लामपोखरी, माथिल्लो गुमु, बस्नेत गाउँ, थापा गाउँ र बाघखोरमा धारा बनेका छन् ।
त्यसैगरी वडा नं. ३ का लामबारी, बोझिनी र पोखरेमा पानीको धारा बनेका छन् । यो खानेपानी योजनाका लागि बागमती प्रदेश सरकारबाट अघिल्लो दुई वर्षमा एक करोड खर्च भएको छ भने गाउँपालिकाबाट समेत यसमा खर्च भएको छ । चालु आर्थिक वर्ष पनि ६४ लाख प्रदेश सरकारले बजेट विनियोजन भएको छ । यस वर्ष बाँकी काम पूरा गरेर हरेक घरघरमा खानेपानी सुविधा पुर्याउने गाउँपालिकाको लक्ष्य राखेको छ ।
कालोपत्रे सडकले जोडियो गाउँ सहर
कालिञ्चोक गाउँपालिकाको वडा नं. ३ र ४ मा एक केही महिनाअघि कालोपत्रे सडकले सहरसँग जोडेको छ । सदरमुकाम चरिकोटबाट ४० किलोमिटर उत्तरमा रहेको यो गाउँबाट अब सरर कालोपत्रे सडक भएपछि गाउँ आउजाउमा पनि कुनै समस्या छैन । गाउँपालिका अध्यक्ष अर्जुनप्रसाद शिवाकोटीले अब विद्यालय, बिजुली, पानी, कालोपत्रे सडकजस्ता पूर्वाधार भएपछि सहरका सुविधा गाउँमै पुगेको बताए । अत्यावश्यक कामभन्दा बाहेकका मानिस अब गाउँ फर्के गाउँपालिकाले थप गाउँ बस्ने वातावरण बनाउने बताए ।
सहर पसेका गाउँ फर्कन थाले
पानीकै अभावका कारण गाउँ छाड्नेका लागि वडाध्यक्ष दिपक खुलालले पानी घरघरमा ल्याउने जिम्मा आफ्नो भएको तर गाउँ फर्कन पनि आफ्ना मतदातालाई बाचा गराएका छन् । उनीसँग बाचा गरेका पानी घरघरमा पुगेपछि केही गाउँ फर्कन थालेका छन् । केहीले गाउँ फर्केर घर र बगैंचा सरसफाइ गरेका छन् । केही मानिस घर थप पुनर्निर्माणको काम पनि गर्दैछन् ।
नेपाली सेनामा लामो समय सेवा गरेर निवृत्त भएका पूर्वप्रमुख सेनानी ताराबहादुर कार्की अहिले गाउँमै बसेर घर निर्माण गर्दैछन् । अहिले उनी गाउँ फर्केपछि पुराना साथीभाइसँग पनि भेटघाट भइरहेको उनले बताए । गाउँमा सडक, पानी, बिजुली सबै भएपछि निवृत्त जीवन अब गाउँमै बिताउने गरी फर्केको उनले बताए । कार्की जस्तै दिपक घिमिरे, ताराशंकर घिमिरे, चित्रशंकर घिमिरेलगायत गाउँ फर्केको वडाध्यक्ष खुलालले बताए । धेरै जना गाउँ फर्कने तयारी गरेको उनले बताए ।
पानीकै अभावका कारण एक दशकअघि गुल्जार हिलेपानी गाउँ अहिले जंगलमा परिणत भएको छ । हिलेपानी बाहुन गाउँ कुनै बेला चर्चित गाउँ हो । बाक्लो बस्ती, घिमिरेहरूको बाहुल्य रहेको यो बस्तीकै कारण हिलेपानी संस्कृत विद्यालय पनि खुलेको हो । १० वर्ष अघिको भूकम्पपछि गाउँ सुनसान झैं छ । राहतमा बनेका घरमा पनि सिस्नो उम्रेको छ । सुक्खा क्षेत्रझै रहेको यो गाउँमा पानीका लागि घण्टौं लगाएर स्कुल छेउको ढुङ्गेधारो र वरपरका केही कुवामात्रै हुन् । ती पनि सुक्दै गएपछि स्थानीयले गाउँ नै छाड्नु परेको बाध्यता हो ।
घरमा सिस्नु उम्रिनु राम्रो मानिन्न । तर यहाँका भत्केका पुनर्निर्माणपछि ३६ घर बनेका छन् तर २१ घर खाली छन् । खाली घर भएकै कारण घर वरपर सिस्नु र वनमारा उम्रेका हुन् । पुरानो घर वरपर पहिला लगाएका फलफूलका बगैंचा अहिले नाममात्र भएका छन् । गाउँमा केही घरमा बसोबास छ । त्यसमा पनि बूढाबूढी मात्र बसेका छन् । बारीमा खेतीपाती गर्न छाडिएको छ । युवा भने सहरतिरै बसाइँ सरेका छन् ।