Logo

सुस्त गतिमा चलायमान बन्दै अर्थतन्त्र

काठमाडौं– पछिल्ला महिनाहरूमा अर्थतन्त्र चलायमान बन्दै गएको तथ्यांकले देखाएका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको छैटौं महिनासम्मको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनअनुसार निर्यात तथा आयात दुवै बढ्दो क्रममा छ भने निक्षेप तथा कर्जा वृद्धि पनि बढ्दै गएको छ । यसबाट अर्थतन्त्रले गति लिइरहेको बुझ्न सकिने राष्ट्र बैंकको भनाइ छ ।

केन्द्रीय बैंकको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१–८२ को ६ महिनामा कुल वस्तु निर्यात ३१.८ प्रतिशतले बढेर ९८ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । यस्तै, कुल वस्तु आयात ७.१ प्रतिशतले वृद्धि भई ८ खर्ब २२ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा निर्यातमा ७.२ प्रतिशतले र आयातमा ३.१ प्रतिशतले कमी आएको थियो ।

गत आवको तुलनामा आयात तथा निर्यात दुवै बढ्दै जानु अर्थतन्त्रले गति लिएको संकेत हो । अर्थतन्त्रले गति नलिँदा आयात बढ्न सक्दैन । गत आवमा अर्थतन्त्र सुस्त रहेकाले आयात घटेको थियो । तर, अहिले बजारमा विस्तारै माग सिर्जना हुँदै गएकाले आयात बढ्न पुगेको हो ।

आयात र निर्यातको वृद्धिसँगै निजी क्षेत्रमा जाने कर्जा पनि बढेको केन्द्रीय बैंकको प्रतिवेदनले देखाएको छ । चालु आवको ६ महिनासम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ५.२ प्रतिशत अर्थात् २ खर्ब ६५ अर्ब रुपैयाँले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ४ प्रतिशत अर्थात् १ खर्ब ९२ अर्ब रुपैयाँले बढेको थियो ।

पछिल्लो समय अर्थतन्त्रमा विस्तारै मनोबल बढ्दै गएको देखिन्छ । यसकारण निजी क्षेत्रले कर्जाको माग बढाउन सुरू गरेको हो । बैंकरहरूका अनुसार क्रमशः कर्जाको माग पनि बढ्न थालेको छ । यद्यपि, मागको वृद्धि तीव्र गतिमा भने देखिएको छैन ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् आर्थिक अनुसन्धान विभाग प्रमुख गुणाकर भट्टले अर्थतन्त्रले विस्तारै गति लिँदै गएको देखिएको बताए । आयात बढ्दो क्रममा रहेकाले बैंकिङ प्रणालीमा रहेको तरलताको उपयोग विस्तारै बढ्दै जाने देखिएको भट्टको भनाइ छ । ‘आर्थिक क्रियाकलाप केही भए पनि चलायमान भइरहेको देखिएको छ,’ उनले भने ।

पूर्वबैंकर पर्शुराम कुँवर क्षेत्री पछिल्लो समय राजस्व केही बढ्दै गएको, आयात–निर्यात दुवै बढेको आदि कारणले अर्थतन्त्र विस्तारै गतिशिलतातर्फ अगाडि बढ्न थालेको बताउँछन् । आयात कर्जासमेत बढ्दै गएकाले अर्थतन्त्रलाई यसले बल पुगेको उनको बुझाइ छ । ‘विभिन्न किसिमले पछिल्लो समय निर्माण क्षेत्रमा कर्जा बढ्दै गएको छ । यसले अर्थतन्त्रलाई गतिशिलता प्रदान गर्न सहयोग गर्दै गएको बुझ्न सकिन्छ,’ उनले भने । निजी क्षेत्रको मनोबल पनि क्रमशः बढ्दै गएको उनको बुझाइ छ । यसले गर्दा अर्थतन्त्रमा केही हदसम्म सहयोग गरेको उनी बताउँछन् । ‘जति मनोबल बढ्नुपर्ने हो, त्यति भने बढेको छैन । सरकारले अध्यादेशमार्फत विभिन्न कानुन संशोधन गरेको छ । यसबाट निजी क्षेत्रको मनोबल बढ्नुपर्ने हो । निजी क्षेत्र यसबाट थप अगाडि बढ्नुपर्छ,’ उनले भने ।

राष्ट्र बैंकका अनुसार २०८१ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४.२ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३५.८ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.२ प्रतिशत र ३६.८ प्रतिशत थियो ।

यस्तै, यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फ ८.४ प्रतिशत, निर्माण क्षेत्रतर्फ ७.७ प्रतिशत, थोक तथा खुद्रा व्यापारतर्फ ४.८ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फ ५.७ प्रतिशत, सेवा उद्योग क्षेत्रतर्फ ५.७ प्रतिशत, उपभोग्य क्षेत्रतर्फ ५.८ प्रतिशत र कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०.०२ प्रतिशतले बढेको छ ।

यसैगरी आवधिक कर्जा ३.१ प्रतिशत, मार्जिन प्रकृतिको कर्जा २६.३ प्रतिशत, ट्रष्ट रिसिट (आयात) कर्जा ५६.६ प्रतिशत, हायर पर्चेज कर्जा ३.८ प्रतिशत, नगद प्रवाह कर्जा ४.७ प्रतिशत र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ३.२ प्रतिशतले बढेको छ । अधिविकर्ष कर्जा ९.८ प्रतिशतले घटेको छ ।
चालु आवको ६ महिनासम्ममा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३.७ प्रतिशत अर्थात् २ खर्ब ३९ अर्ब रुपैयाँले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा निक्षेप ६.६ प्रतिशत अर्थात् ३ खर्ब ७७ अर्ब रुपैयाँले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ९.९ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्