हेटौंडा सिमेन्ट उद्योग चार महिनादेखि बन्द

हेटौंडा– सरकारी स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योगको उत्पादन चार महिनादेखि ठप्प छ । किलमा समस्या आएपछि मर्मतका लागि गत असोज ७ गतेबाट बन्द भएको सिमेन्ट उद्योगको मर्मत सकिए पनि पुनः सञ्चालनमा आउन सकेको छैन ।
उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले उद्योगका उपकरण मर्मतको काम सकिए पनि विद्युत प्राधिकरणले अघोषित लोडसेडिङ गरेका कारण उत्पादन सुरु गर्न नसकिएको बताए । ‘अहिले प्राधिकरणले बिहान ३ घण्टा र बेलुका ३ घण्टा लाइन काट्ने गरेको छ । उद्योग सञ्चालनका लागि हामीलाई नियमित लाइन चाहिन्छ । हामीसँग वैकल्पिक व्यवस्थाको लागि जेनेरेटर पनि छैन । त्यसैले उद्योग सञ्चालन गर्नेबारे हामी अन्योलमा छौं,’ पाण्डेले भने । उद्योगलाई नियमित विद्युत उपलब्ध गराउन आफूले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेटेरै अनुरोध गरेको जानकारी दिँदै पाण्डेले केही दिनमा बिजुलीको समस्या समाधान हुने विश्वास व्यक्त गरे ।
उद्योग चालु आर्थिक वर्ष २०८१–८२ मा जम्मा २६ दिनमात्रै चलेको छ । गत साउनमा १ दिन, भदौमा १८ दिन र असोजमा सात दिनमात्रै उद्योगले उत्पादन गरेको थियो । महाप्रबन्धक पाण्डेले उपकरण मर्मत सकिएको र नियमित विद्युत उपलब्ध भए उद्योग चलाइने बताए । करिब १० दिन निरन्तर चल्न पुग्ने करिब ११ सय टन कोइला उद्योगमा स्टक रहेको उनको भनाइ छ । यसबाट एक लाख बोरा सिमेन्ट उत्पादन हुनेछ । हाल उद्योगसँग मौज्दात सिमेन्ट नरहेको पाण्डेले बताए ।
पुराना उपकरणका कारण बारम्बार बिग्रँदा उद्योगले विगतका वर्षहरुदेखि नै नियमित रुपमा सिमेन्ट उत्पादन गर्न सकिरहेको थिएन । उद्योग निरन्तर घाटामा रहेको छ । उद्योगमा कोइला आयात, कर्मचारी खर्च, विद्युत खर्चलगायत दायित्व दैनिक बढिरहेको छ । महाप्रबन्धक पाण्डेका अनुसार उद्योगले तत्काल तिर्नुपर्ने सबै दायित्व करिब ७० करोड रुपैयाँभन्दा बढी छ । उद्योग विगत ६ वर्षदेखि निरन्तर घाटामा रहेको छ । उद्योग घाटामा जानुको एकमात्र कारण उत्पादन लागत बढ्नु नै रहेको महाप्रबन्धक पाण्डेको भनाइ छ ।
उद्योगमा रहेका ४० वर्ष पुराना मेसिनका कारण उत्पादन क्षमतामा ह्रास आउनु, बिजुली खपत पनि उत्तिकै मात्रामा हुनुले उत्पादन लागत बढी भएको उद्योग प्रशासनको तर्क छ । ‘निजी सिमेन्ट उद्योगले अत्याधुनिक मेसिन प्रयोग गरी निकै कम मूल्यमा उत्पादन गर्छन् र उनीहरु सस्तोमा बेच्छन् । पुरानो मेसिन, पुरानै नीतिनियम र शैलीमा चल्नु परिरहँदा उत्पादन लागत धेरै माथि छ,’ महाप्रबन्धक पाण्डेले भने ।
सिमेन्ट उद्योग स्तरवृद्धि नगरेसम्म निरन्तर सञ्चालनको ग्यारेन्टी नहुने उद्योग प्रशासनको ठहर छ । उद्योगमा रहेका जीर्ण उपकरण विस्थापन गर्दै नयाँ उपकरण जोड्ने तथा अन्य नीतिगत सुधार गरेर उद्योगलाई निरन्तर नाफामा लैजान सकिने उद्योग व्यवस्थापनको भनाइ छ । सरकारले केही समयअघि निजीकरणका लागि सिफारिस गरेका नौवटा सरकारी उद्योगमा हेटौंडा उद्योगलाई समेत समेटेको थियो । निरन्तर घाटामा रहेको हेटौंडा सिमेन्टले उद्योग सञ्चालनका लागि ठूलो रकम आवश्यक पर्ने औंल्याएपछि सरकारले निजीकरण गर्ने निर्णय गरेको थियो । तर, हालसम्म उद्योगको बारेमा कुनै निर्णय हुन सकेको छैन ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गत असोजमा सिमेन्ट उद्योगको निरीक्षण गर्दै हेटौंडा सिमेन्टलाई सरकारले चलाउन नसक्ने तर निजी क्षेत्रलाई भाडामा दिनुपर्ने आशय व्यक्त गरेका थिए । त्यतिबेला मन्त्री भण्डारीले उद्योग सञ्चालनको विभिन्न मोडेलको विषयमा छलफल भइरहेको बताएका थिए ।
२०४२ मंसिर २५ गतेबाट व्यावसायिक उत्पादन थालेको हेटौंडा–९ स्थित लामसुरेधापमा रहेको हेटौंडा सिमेन्ट १२० बिगाहा क्षेत्रमा फैलिएको छ । प्लान्ट र आवासीयबाहेक कैयौं रोपनी जग्गा खाली नै रहेको छ । उद्योगको कच्चा पदार्थका लागि मकवानपुरको ओखरे, भैंसे, मजुवा र धादिङको जोगिमारामा चुनढुंगा खानी सञ्चालनमा छ । खानी क्षेत्रमा समेत गरी उद्योगको स्वामित्वमा ३ सय ३८ बिगाहा जग्गा रहेको छ ।