Logo

जलवायुमैत्री स्याउखेतीमा जुट्दै किसान

जुम्ला– परम्परागत रूपमा खेती गर्दै आएका जुम्लाका किसान सीप र प्रविधि पाएसँंगै जलवायुमैत्री स्याउखेतीमा जुटेका छन् । पछिल्ला वर्षमा समयमै हिमपात र वर्षा नहुने, सिँचाइ सुविधा नपुग्ने, बिरुवा काँटछाँटबारे ज्ञान नपाउने जस्तो समस्याले चिन्तित बनेका किसान तालिम पाएपछि जलवायुमैत्री स्याउखेतीमा जुटेका हुन् ।

स्याउ बगैंचा व्यवस्थापन, बिरुवा काँटछाँट, रोग किरा नियन्त्रण, मलजल व्यवस्थापन लगायतका विषयमा किसानले प्राविधिक तथा सैद्धान्तिक ज्ञान पाएपछि जलवायुमैत्री स्याउखेती, तरकारी खेतीका लागि कुनै चिन्ता नरहेको किसान कर्ण हमाल बताउँछन् । किर्डाक नेपालको सहकार्य र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन (एएफओ)को सहयोगमा १२ दिने जलवायुमैत्री स्याउखेतीबारे प्रशिक्षक प्रशिक्षण तालिम पाएपछि स्याउखेतीका विषयमा धेरै ज्ञान प्राप्त भएको र खेती गर्न सहज हुने उल्लेख गरे ।

‘जलवायु परिवर्तनका कारण जुम्लामा यसवर्ष हालसम्म हिमपात हुन सकेको छैन । जसले गर्दा स्याउखेती विस्तार (नयाँ बिरुवा रोप्ने) काम अन्योल भएको छ । रोग किरा नियन्त्रणबारे थाहा नपाउँदा सास्ती उस्तै थियो । तर अहिले सहज भएको छ । स्याउ बगैंचामा दलन बालीमात्र रोप्ने, खाडल, दूरी, सिँचाइ, चिस्यान कायम, जैविक मलको मात्र प्रयोग, काँटछाँटमा विशेष ध्यान दिनुपर्ने ज्ञान पाएसँंगै गाउँमा कार्यान्वयन गर्न थालेका छौं ।’

कर्ण हमालसंँगै तिलाका र पातारासीका गरी १२ जनालाई कृषि पाठशाला सहजकर्ता अगुवा जलवायुमैत्री स्याउखेतीबारे तालिम दिइएको हो । किर्डाक नेपालको सहकार्यमा एएफओको सहयोगमा तिला गाउँपालिकाका ९ वटै वडामा ‘जलवायु प्रेरित आप्रवासनको जोखिममा रहेका समुदायमा उत्थानशीलता र सशक्तीकरण वृद्धि’ परियोजना सञ्चालन भएको छ । पातारासीकी अगुवा किसान सन्जीवा विष्टले पनि जलवायु परिवर्तनका कारण स्याउखेतीमा असर परेको बताइन् ।

कालो तुसारो लाग्ने, फूल झर्ने, लाईकिराको प्रकोप फैलिनेजस्ता समस्याले सास्ती भएको बेला जलवायु अनुकूलनका विषयमा तालिम पाएपछि खेतीमा सहज हुने बताए । आफूले सिकेको सीपलाई गाउँका अन्य किसानलाई सिकाउने र जलवायुमैत्री स्याउखेती गरी उत्पादन बढाउने उनको भनाइ छ । एक वर्षे पाइलट परियोजनाका रूपमा सञ्चालित भएको आयोजनाले विशेष जलवायुमैत्री स्याउखेती, तरकारी खेती तथा सिँचाइ व्यवस्थापनका लागि काम गर्ने क्षमता विकास तथा कृषक पाठशाला विशेषज्ञ मधुसूदन पौडेलले बताए ।

उनका अनुसार परियोजनाबाट तिलाका तीन सय घरधुरी प्रत्यक्ष लाभान्वित हुनेछन् । उनका अनुसार १२ दिनसम्म कृषक पाठशाला सञ्चालन कसरी गर्ने, जलवायु परिवर्तन के हो ? यसबाट बच्ने उपाय, स्याउ बगैंचा व्यवस्थापनबारे सिकाइएको छ । उनले भने, ‘एक वर्षका लागि पाइलट परियोजनाका रूपमा आएको हो । एक वर्ष सफल भएमा पछि जिल्लाव्यापी रूपमा आउने छ । जलवायु परिवर्तनको असर तिलामा बढी परेको देखेपछि दातृ संस्थाले नै सिधै तिलाका १–९ वडासम्म कार्यक्रम सञ्चालन गरेको हो ।’

यता कृषि विकास कार्यालयका प्रमुख तथा अर्थविज्ञ रामझ अधिकारीले स्याउको विस्तार तथा रोग किरा नियन्त्रणबारे थुप्रै तालिम सञ्चालन भए पनि कार्यान्वयन नहुने गरेको बताए । सचेतना वृद्धि, आम्दानी वृद्धि, जीविकोपार्जन, जलवायु परिर्वतन तथा समुदायलाई अनुकूलनमा अग्रसर बनाउन परियोजना तथा कृषि विकास कार्यालय संँगसंँगै किसानमाझ जानुपर्ने उल्लेख गरे ।

तालिममा सिकेका कुरा व्यवहारमा लागू भए नभएको, किसानको दैनिकीमा सहज भए नभएको विषयमा जिल्लामा नियमित अनुगमन तथा निरिक्षण परियोजना संयोजक पुंकेश्वर भामले गर्नेछन् । प्रशिक्षक तालिम लिएका १२ जना अगुवा किसानले गाउँमा जलवायु अनुकूलनका विषयमा व्यापक सीप हस्तान्तरण गर्ने र स्याउखेतीलाई विस्तार गर्ने लक्ष्य राखिएको परियोजना संयोजक भामको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्