तनहुँ जलविद्युत आयोजना
अर्थ र ऊर्जा मन्त्रालयको टोलीद्वारा अनुगमन

तनहुँ– अर्थ मन्त्रालय र ऊर्जा मन्त्रालयको उच्चस्तरीय टोलीले तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको अनुगमन गरेको छ ।
अर्थ मन्त्रालय बजेट महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपाल, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव धनीराम शर्मा, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतको टोलीले आयोजनाको स्थलगत अनुगमन गर्दै हालसम्मको प्रगतिका बारेमा जानकारी लिएको छ ।
उक्त टोलीले आयोजनाको प्याकेज १ र प्याकेज २ का निर्माणाधीन संरचनाका बारेमा जानकारी लिएको छ । आयोजनाका तर्फबाट हालसम्मको निर्माण प्रगति, निर्माणमा देखिएको समस्या र चुनौतीका बारेमा जानकारी गराइएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । प्याकेज १ अन्तर्गत बाँधलगायतका संरचनाको निर्माण कार्य भइरहेको छ । यस प्याकेजको काम सोङ्दा कालिका जेभीले गरिरहेको छ ।
यस अवधिसम्ममा समग्र निर्माण प्रगति ३६ प्रतिशत रहेको आयोजनाले जनाएको छ । मुख्य बाँध निर्माण कार्यअन्तर्गत १४० मिटर अग्लो बाँध निर्माण कार्य सुरु गर्न पूर्वतयारीका कार्य भइरहेका छन् । बाँध निर्माणस्थलको तल्लो तटीय क्षेत्रमा सफा गर्न, ड्रिलिङ, ग्राउटिङ लगायतका कार्य जारी छन् । आयोजनाको प्याकेज २ अन्तर्गत विद्युतगृह तथा सम्बन्धित उपकरणमा सिनो हाइड्रोले काम गरिरहेको छ ।
यो प्याकेजमा ६५ प्रतिशत प्रगति भएको छ । प्याकेज ३ प्रसारण लाइनअन्तर्गत दमौली भरतपुर २२० केभी ३४.७ किलोमिटर प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये यस अवधिसम्म ७८ वटा टावरहरुको जग हाल्ने र ६९ वटा टावर जडान कार्य सम्पन्न भएका छन् । यो प्याकेजमा ७४ प्रतिशत प्रगति भएको छ । आयोजनाको समग्र निर्माण विसं २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ ।
कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारणलाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत प्राधिकरणले आठ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।