आईसीपीका कर्मचारीको कारण राजस्व प्रभावित

वीरगन्ज– नेपालको प्रमुख प्रवेशद्वारको रूपमा रहेको वीरगन्ज एकीकृत भन्सार जाँचचौकी (आईसीपी) का कर्मचारीहरूको कारण व्यापार सहजीकरण र राजस्व प्रभावित भएको तथ्य सार्वजनिक भएको छ । राजस्व लक्ष्य पूरा गर्ने बहानामा भन्सार अधिकृतहरूको मनोमानीले संस्थागत रूपमा अनियमितता हुँदा राजस्व प्रभावित हुने गरेको हो ।
कुल राजस्वको आधा हिस्सा ओगट्ने वीरगन्जस्थित आईसीपी सञ्चालन हुनुभन्दा पहिले पुरानो वीरगन्ज भन्सार कार्यालयबाट निकासी पैठारीमा धेरै राजस्व चुहावट हुने गरेको गुनासो आउने गथ्र्यो । वीरगन्ज भन्सार कार्यालयमा कार्यरत रहेर गएका व्यक्तिहरू विभागमा पुगेर अवकास प्राप्त गर्दासम्म वीरगन्ज भन्सार प्रशासनको प्रणालीमा भने कहिल्यै सुधार हुन सकेको छैन ।
राजस्व चुहावट नियन्त्रण, अवैध व्यापार नियन्त्रण र व्यापार सहजीकरण गर्ने उद्देश्यले भारत सरकारको सहयोगमा निर्माण गरिएको आईसीपी २०७४ चैत २४ गते सञ्चालनमा आएको थियो । आईसीपी सञ्चालनमा आएपछि अवैध व्यापार र नियन्त्रणमा आई राजस्वमा वृद्धि हुने अपेक्षा गरिएको थियो । सरकारले गरेको अपेक्षा विपरित अहिले आईसीपीका कर्मचारी व्यापार सहजीकरण गर्न सकेका छैनन् । नेपालमा आयात गरिने एउटै वस्तुको सामान भन्सार महसुल हुनुपर्ने सामान्य नियम हो ।
तर, आईसीपीले भने अन्य भन्सार नाकाहरूले भन्दा बढी भन्सार महसुल लिएर आयातकर्ताहरूलाई व्यापार सहजीकरण गर्नुभन्दा निरुत्साहित गर्ने गरेको पाइएको छ । वीरगन्ज भन्सार कार्यालयले विभागका महानिर्देशकको आदेश भन्दै एचएस कोड नै परिवर्तन गरेर नयाँ भन्सार दरबन्दीमा सामान पास गरेर बढी महसुल उठाएको पाइएको हो । व्यवसायीलाई भन्सार विभागका महानिर्देशकको लिखित आदेश पनि देखाइएको छैन ।
आयातकर्ताले आयात गरेको साइकलको चेन भैरहवा भन्सार कार्यालयबाट (हार्मोनाइज्ड प्रणाली) एचएस कोड–८७१४९९१० मा जाँचपास हुँदै आएको छ । डिसेम्बर २६ तरिकसम्म पनि यही एचएस कोडबाट भैरहवा भन्सार कार्यालयबाट साइकलको चेन ५ प्रतिशत भन्सार महसुल पास हुँदै आएको देखिएको छ । तर, वीरगन्ज आईसीपी भन्सारबाट भने एचएस कोड नै परिवर्तन गरेर एउटै वस्तु साइकलको चेनमा बढी महसुल लिएको पाइएको छ ।
वीरगन्ज आईसीपी भन्सार कार्यालयले ‘साइकलको चेन’ लाई (हार्मोनाइज्ड प्रणाली) एचएस कोड–७३१५५१२०० मा भर्न लगाएर १५ प्रतिशत भन्सार महसुल, एक्सपोर्ट कन्ट्रोल सिस्टम (इसीएस) ०.२५ प्रतिकेजी र मूल्य अभिवृद्धि कर १३ प्रतिशत लिएको पाइएको छ । इसीएस प्रणाली एकभन्दा बढी सदस्य राष्ट्रका भन्सार कार्यालयहरूको निर्यात सञ्चालनमा संलग्न रहेका सदस्य राष्ट्रबीच सन्देशहरूको आदानप्रदानलाई समर्थन गर्ने आर्थिक अपरेटरहरू र भन्सार प्रशासकहरूले लगाउने प्रणाली हो ।
त्यही प्रणालीअन्तर्गत यो शुल्क लगाइएको छ । ‘साइकलको चेन’ मा यसअघि साइकलको पाटर््स सरह नै भन्सार दरबन्दीमा पास गर्ने गरिएको थियो । डिसेम्बर १ तारिकदेखि वीरगन्ज आईसीपी भन्सारले भने नयाँ दरबन्दी कायम गरेर बढी महसुल लिएर ‘साइकलको चेन’ पास गराइ रहेको छ । एउटै वस्तुको भैरहवा भन्सार नाकाबाट आयात गर्दा व्यवसायीलाई १८.६५ प्रतिशत कर तिर्नुपर्छ ।
वीरगन्ज भन्सार नाकाबाट आयात गर्दा २९.९५ प्रतिशतको कर तिर्नु पर्ने परेको छ । वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले साइकल चेनमा १५ प्रतिशत नै लाग्ने दाबी गरे । उनले यस विषयमा महालेखा परीक्षकको प्रतिवेदनमा बेरुजु देखाइएकोले त्यो असुल उपर गर्नै पर्ने बताए । साइकलको पाटर्स भनेर आउने भएकोले त्यसमा १५ प्रतिशत र इसिएस पनि लाग्ने बताए ।
भन्सार कर्मचारीहरूकै अनुसार एउटै प्रकृतिको वस्तुमा भन्सार महसुल फरक फरक हुँदैन । भन्सार जाँचपास प्रयोग हुने प्रविधिहरू समेत भन्सारका कर्मचारीहरूकै कारणले प्रभावकारी हुन सकेको छैन । वीरगन्ज भन्सारले राजस्व संकलन गर्ने बाहानामा व्यवसायीहरूलाई दुख दिने गरेको उनीहरूको गुनासो छ । वीरगन्ज आईसीपी भन्सारको बेथिति यतिमा मात्रै सीमित छैन ।
कुनैपनि सामान पाटर्सको रूपमा आयात गर्दा भौतिक परीक्षणमा भन्सार अधिकृतलाई चित्त नबुझेमा उनीहरूले मनोमानी कायम गरेको भन्सार दरबन्दी अनुसार महसुल लिने गरेको व्यवसायीको गुनासो छ । व्यापार सहजीकरण, अवैध व्यापार नियन्त्रण गरी राजस्व संकलन वृद्धि गर्ने आईसीपी तस्करीको अखडा बनेको संसदीय टोलीकै सामु आरोप लागेको छ । आईसीपी हुँदै ग्रिन लाइनबाट प्रवेश हुने मालवाहक ट्रक वा कन्टेर प्रहरीले चेकजाँच गर्न नपाउने प्रवन्ध रहेको छ ।
यही प्रवन्धका कारण ग्रिनलाइनबाटै तस्करी बढेको हुनाले भन्सार विभागले तोकेको राजस्व असुली लक्ष्य उठ्न सकेको छैन । यति मात्रै नभई भन्सारमा कार्यरत कर्मचारीहरूको मनोमानी र व्यवसायीहरूलाई गर्ने व्यवहारले पनि आईसीपी बदनाम हुँदै गएको छ । भन्सार अधिकृतहरूको दुहुनो गाईको रूपमा रहेको भन्सार मूल्यांकनको व्यवसायीहरूले बर्षौदेखि विरोध गर्दै आएका छन् । तर, उक्त विषयको अहिलेसम्म सम्बोधन हुन सकेको छैन ।