बैंकिङ प्रणालीमा ३९ अर्ब ४७ करोड पुग्यो गैरबैंकिङ सम्पत्ति

काठमाडौं– सुस्त अर्थतन्त्रलगायत कारण कर्जा असुलीमा समस्या आएपछि बैंकिङ प्रणालीमा गैरबैंकिङ सम्पत्ति थुप्रिन सुरु भएको छ ।
केन्द्रीय बैंकका अनुसार चालु आर्थिक वर्षको पाँच महिना (साउन–मंसिर) सम्ममा बैंक तथा वित्तीय संस्थाहरुको गैरबैंकिङ सम्पत्ति ३९ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । बैंकहरूको गैरबैंकिङ सम्पत्ति गत आवको सोही अवधिको तुलनामा १७ अर्ब ३० करोड रुपैयाँले बढेको हो । गत वर्ष मंसिरसम्ममा गैरबैंकिङ सम्पत्ति २२ अर्ब १६ करोड रुपैयाँ थियो ।
यस्तै, औषतमा बैंकहरुको निष्क्रिय कर्जा ४.४२ प्रतिशत पुगेको छ । गत वर्ष निष्क्रिय कर्जा ३.६६ प्रतिशत थियो । एक वर्षअघिको तुलनामा ०.७६ प्रतिशत विन्दुले बढेर निष्क्रिय कर्जा ४.४२ प्रतिशत पुगेको हो ।
बैंकरहरुका अनुसार अहिले बैंक तथा वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा बढ्दै गएको छ र यसले उनीहरूको गैरबैंकिङ सम्पत्ति पनि बढाइरहेको हो । अर्थतन्त्रमा आएको सुस्तताको असर बैंकिङ प्रणालीमा देखिँदै जाँदा निष्क्रिय कर्जा र गैरबैंकिङ सम्पत्ति दुवै क्रमशः बढ्दै गएको हो । अब बैंकिङ प्रणालीलाई यस्ता विषयहरूको व्यवस्थापनमा ठूलो समस्या देखा पर्न थालेको बैंकरहरुको भनाइ छ ।
खराब कर्जा बढ्दै गएपछि गैरबैंकिङ सम्पत्ति पनि बढ्दै गएकोे हो । बैंक तथा वित्तीय संस्थाहरूले गैरबैंकिङ सम्पत्ति बिक्रीको लागि पटक–पटक सार्वजनिक सूचना जारी गरेका छन् । तर, बिक्री हुन सकेको छैन । अधिकांश बैंकको गैरबंैकिङ सम्पत्तिका रुपमा घरजग्गा छ । अहिले घरजग्गा कारोबारमा पनि सुस्तता आएको छ । प्राइम लोकेसन बाहेकका क्षेत्रमा घरजग्गा बिक्री हुन समस्या छ ।
बैंक तथा वित्तीय संस्थाहरूले नउठेको कर्जाकोे धितो लिलामी बिक्री नभएमा आफैंले सकार्छन् । यसरी सकारेको सम्पत्ति नै गैरबैंकिङ सम्पत्ति हो । बैंकहरूले धितो सकारेपछि पनि त्यस्तो सम्पत्ति सकेसम्म छिटै बिक्री गर्नुपर्ने नियम छ । गैरबैंकिङ सम्पत्ति सकारेपछि बैंकहरूले त्यसको जोखिमबाट बच्न शतप्रतिशत रकम प्रावधानमा राख्नुपर्छ । यही कारण केही बैंकहरूको नाफा खुम्चिँदै गएकोे देखिन्छ ।
गत मंसिरसम्म वाणिज्य बैंकहरूको औषत निष्क्रिय कर्जा ४.२८ प्रतिशत छ भने गैरबैंकिङ सम्पत्ति ३२ अर्ब ६५ करोड रुपैयाँ छ । गत आवको सोही अवधिको तुलनामा यो १४ अर्ब २३ करोड बढी हो । गत वर्ष मंसिर मसान्तमा वाणिज्य बैंकहरूको गैरबैंकिङ सम्पत्ति १८ अर्ब ४२ करोड रुपैयाँ थियो । यस्तै, गत वर्ष निष्क्रिय कर्जा ३.६१ प्रतिशत थियो ।
वाणिज्य बैंकहरूमा मात्र नभई विकास बैंकहरूको पनि गैरबैंकिङ सम्पत्ति बढ्दो क्रममा छ । विकास बैंकहरूमा गत मंसिरसम्म औषत निष्क्रिय कर्जा ४.३७ प्रतिशत छ भने गैरबैंकिङ सम्पत्ति चार अर्ब ५४ करोड रुपैयाँ छ । गैरबैंकिङ सम्पत्ति गत आर्थिक वर्षको मंसिर मसान्तको तुलनामा दुई अर्ब १० करोड रुपैयाँले बढी हो । गत वर्ष मंसिरमा विकास बैंकहरूको गैरबैंकिङ सम्पत्ति दुई अर्ब ४४ करोड रुपैयाँ थियो भने निष्क्रिय कर्जा ३.१९ प्रतिशत थियो ।
यस्तै, वित्त (फाइनान्स) कम्पनीहरूको निष्क्रिय कर्जा औषत १०.८४ प्रतिशत छ भने गैरबैंकिङ सम्पत्ति दुई अर्ब २७ करोड रुपैयाँ छ । फाइनान्स कम्पनीहरूको गैरबैंकिङ सम्पत्ति गत आवको तुलनामा ९६ करोड ८० लाख रुपैयाँले बढेको छ । गत वर्ष मंसिर मसान्तमा गैरबैंकिङ सम्पत्ति एक अर्ब ३० करोड रुपैयाँ थियो भने निष्क्रिय कर्जा ८.३७ प्रतिशत थियो ।
बैंकरहरूले गैरबैंकिङ सम्पत्ति व्यवस्थापनका लागि नियामकीय व्यवस्थाहरूमा लचकता अपनाउनुपर्ने विकल्पसहित केन्द्रीय बैंकलाई सुझाव दिन थालेका छन् । आर्थिक गतिविधि बढेर अर्थतन्त्रमा सुधार हुँदै जाँदा धितो बिक्री हुने अवस्था रहने भए पनि अहिलेको अवस्थामा त्यस्तो नदेखिएको एक बैंकरले बताए । पटक–पटक बिक्रीका लागि प्रयास गर्दा पनि धितो सकार्ने ग्राहक पाउनै मुस्किल भएको उनको भनाइ छ । यस्तै, बैंकहले धितो बिक्रीका लागि तथा निष्क्रिय कर्जा असुलीका कानुनी प्रक्रिया अगाडि बढाउन स्थानीय तहले सहयोग नगरेको समेत गुनासो गर्ने गरेका छन् ।