Logo

बुटवल–नारायणगढ सडक निर्माणमा फेरि अवरोध

बुटवल– स्थानीयले अवरोध गरेपछि बुटवल–नारायणगढ सडक खण्ड विस्तारको काम रोकिएको छ । सडकको नाली सुखौरा खोलामा जोड्न नपाइने भन्दै स्थानीय विरोधमा उत्रिएका हुन् ।

बुटवलको रामनगर–शिवनगर क्षेत्रका स्थानीयले कामदारले काम गरिरहेकै स्थानमा पुगेर अवरोध गरेपछि बुटवलतर्फ काम अघि बढ्न नसकेको हो । सडक निर्माणका क्रममा बुटवलको गोलपार्कबाट आउने वर्षाको सम्पूर्ण पानीले बस्तीलाई डुबान गर्ने गरी नाली मिसाउने डिजाइन गरेका कारण अवरोध गर्नुपरेको आन्दोलनको नेतृत्व गरेका बलबहादुर आचार्यले बताए । यो समस्याका बारेमा दुई वर्ष अगाडिदेखि नै कुरा उठाउँदै आए पनि परियोजनाले चासो नदिएको उनको भनाइ छ । आचार्यले डिजाइन परिवर्तन नगरेसम्म काम अगाडि नबढाउन आयोजनालाई दबाब दिइएको जानकारी दिए ।

पूर्वपश्चिम राजमार्ग विस्तार अन्तर्गत झण्डै ९ महिना काम रोकिएको थियो । लामो समय रोकिएर अहिले सडक निर्माणले तिव्रता लिएको थियो । तर, स्थानीयको अवरोधपछि शनिबारदेखि बुटवल खण्डको काम रोकिएको सडक आयोजनाका प्रमुख शशांक मिश्रले बताए । सडकको पूर्वी साइडको नालीबाट बग्ने पानी यसअघि नै सुखौरा खोलामा लैजाने गरिएको र सडक विस्तारका क्रममा पनि सोहीअनुसार नै डिजाइन भएको उनले जानकारी दिए ।

पूर्वतर्फको निर्माणमा स्थानीयको विरोध आएपछि पश्चिमतर्फको साइटमा काम गर्न खोजेको तर त्यता पनि अवरोध भएको मिश्रको भनाइ छ । सुखौरा खोलामा मिसाइएको सडकको उत्तरतर्फको नालीलाई औद्योगिक क्षेत्र अगाडि पु¥याएर खसाउनुपर्ने स्थानीयको माग छ । सुखौरा खोला र औद्योगिक क्षेत्रको दूरी लामो भएकोले त्यति टाढा नाली लैजान नमिल्ने आयोजनाको तर्क छ । स्थानीयसँग पटक–पटक छलफल गरे पनि सहमति हुन नसकी काम रोकिएको मिश्रले बताए ।

२०७५ चैत ८ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले बुटवल–नारायणगढ सडक स्तरोन्नतिको शिलान्यास गरेका थिए । दाउन्ने पूर्व र दाउन्ने पश्चिम दुई खण्डको लागि छुट्टाछुट्टै ठेक्का लगाइएको थियो । सडक विभाग र चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनबीच २०७९ साउन २२ गते काम सम्पन्न हुने गरी ठेक्का सम्झौता भएको थियो । बर्दघाटदेखि पश्चिम ११३ किलोमिटर सडक विस्तारको ५५ प्रतिशतमात्र काम भएको आयोजना प्रमुख मिश्रले बताए । सडक निर्माणको लागि तेस्रो पटक म्याद थप भएको छ ।

प्रतिक्रिया दिनुहोस्