Logo

भारतले नेपाललाई सात सय करोड भारु अनुदान दिने

काठमाडौं– भारत सरकारले नेपाललाई आर्थिक वर्ष २०२५–२६ मा ७ सय करोड भारु अनुदान दिने घोषणा गरेको छ । शनिबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणले संसद्मा प्रस्तुत गरेको वार्षिक बजेटमा नेपाललाई गत वर्षबराबर नै ७ सय करोड (करिब सवा ११ अर्ब रुपैयाँ) अनुदान दिने घोषणा गरेको हो ।

भारतले गत आर्थिक वर्षमा नेपालका लागि अनुदान बढाएको थियो । आर्थिक वर्ष २०२३–२४ मा ६५७.३८ करोड भारु छुट्याएकामा गत वर्ष ७ सय करोड बनाइएको थियो । अहिलेको बजेटमा गत वर्षकै अनुदानले निरन्तरता दिएको छ ।

भारतले यस पटकको बजेटमा विभिन्न देशलाई दिइएको अनुदान सहयोगमध्ये भुटानलाई सबैभन्दा धेरै २ हजार १५० करोड भारु छुट्याएको छ । यसैगरी अफगानिस्तानलाई गत वर्ष दिएको ५० करोड अनुदान बढाएर १ सय करोड भारु पुर्‍याएको छ । बंगलादेशलाई १२० करोड र श्रीलंकाका लागि ३ सय करोड भारु बजेट छुट्याइएको छ । यसैगरी मालदिभ्सलाई दिँदै आएको बजेट यसपटक बढाएको छ । मालदिभ्सका लागि गत आर्थिक वर्ष ४७० करोड भारु दिएकामा यसपटक ६ सय करोड बनाइएको छ ।

१२ लाखसम्मको आम्दानीमा कर छुट
यसैगरी भारतले बजेटमा मध्यम वर्ग लक्षित आम्दानीको कर सीमालाई बढाएको छ । १२ लाखसम्मको आम्दानीमा कर नलाग्ने नयाँ कर प्रणाली व्यवस्था गरिएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार यसअघि सन् २०१४ मा ल्याएको बजेटमा यो सीमा साढे २ लाख, २०१९ मा ५ लाख र २०२३ मा ७ लाखसम्म बनाइएको थियो । अब १२ लाखसम्मको आम्दानीमा आयकर नलाग्ने भएपछि मध्यम वर्गलाई विशेष फाइदा पुग्ने अपेक्षा गरिएको छ । पारिश्रमिक वर्गको लागि ‘स्ट्यान्डर्ड डिडक्सन’ ७५ हजार भारु कायम गरिएको छ । यो भनेको १२ लाख ७५ हजार भारुसम्मको आम्दानीमा कुनै आयकर लाग्ने छैन । बजेटमा ज्येष्ठ नागरिकका लागि ब्याजमा कर छुटको सीमा ५० हजारबाट १ लाख भारु पुर्‍याइएको छ । सरकारले आगामी साता आयकर विधेयक ल्याउने वित्तमन्त्री सीतारमणले जानकारी दिइन् ।

अर्थमन्त्रीले आर्थिक वृद्धिलाई गति दिन, समावेशी वृद्धि सुनिश्चित गर्न, उद्योगलाई समर्थन गर्न र घरेलु भावनालाई बढावा दिने उद्देश्यसहित बजेट प्रस्तुत गरेको बताएकी छन् । बजेटले भारतको बढ्दो मध्यम वर्गको खर्च गर्ने क्षमता बढाउन जोड दिएको छ । उनले भनेकी छन्, ‘विगत एक दशकमा सरकारको विकास नीति र संरचनात्मक सुधारले भारतलाई विश्वको सबैभन्दा द्रुत वृद्धि हुने प्रमुख अर्थतन्त्रको रूपमा स्थापित गरेको छ ।’ भारतको अर्थतन्त्र वृद्धि ट्रयाक रेकर्ड र विगत १० वर्षको संरचनात्मक सुधारले विश्वव्यापी ध्यानाकर्षित गरेको दाबी उनको छ ।

प्रतिक्रिया दिनुहोस्