सिंगापुरको पर्यटनबाट नेपालले केही सिक्न सक्छ ?

पछिल्लो ताजा तथ्यांकअनुसार सन् २०२४ मा विश्व पर्यटन क्षेत्रमा ९९ प्रतिशतले रिकभर भएको छ । भनाइको मतलब अब विश्व पर्यटन क्षेत्रमा सन् २०१९ को तुलनामा पुग्न १ प्रतिशत मात्रै बाँकी छ । यसअघि सन् २०२५ लाग्नेबित्तिकैको तथ्यांकमा चाहिँ ९८ प्रतिशतले रिकभर भएको भनिएको थियो, विश्व पर्यटन क्षेत्रमा सन् २०१९ को तुलनामा पुग्नका लागि ।
हुन पनि सन् २०२४ मा विश्वमा १.४ बिलियन पर्यटन घुम्न निक्लेका थिए । जबकि सन् २०२३ मा चाहिँ १.२८ बिलियन पर्यटक विश्वभरि घुम्न निक्लेका थिए । जे भए तापनि यो लेखमा चाहिँ सिंगापुर र नेपालको पर्यटनलाई तुलना गरेर हेरिएको छ ।
हुन त धेरै कुरामा सिंगापुर र नेपालको तुलना गर्नै सकिँदैन । खास गरी विज्ञान, सूचना प्रविधि, सञ्चार, भौतिक विकास, सरकारले दिने सेवासुविधा, व्यक्तिको आयस्रोत, जीवनस्तर, आर्थिक स्थिति, जनस्वास्थ्य, शिक्षा, व्यापार, औसत आयु, सडक सञ्जाल, जल सञ्जाल, हवाई यातायात सेवामा मारेको फड्को आदिलाई लिने हो भने नेपाल र सिंगापुरबीच तुलना गर्दा न त ‘फेद’सँग मिल्छ, न त ‘टुप्पो’सँगै ।
नेपाल सिंगापुरसँग तुलनायोग्य भनेको जनसंख्या र भूगोलमा मात्रै हो । भूगोल र जनसंख्याका आधारमा चाहिँ नेपाल सिंगापुरभन्दा धेरै ठूलो देशका रूपमा रहेको छ । हुन पनि भूगोल र जनसंख्याको आधारमा तुलना गरेर हेर्दा नेपाल विश्वकोे मध्यमस्तरको देशहरूमा गनिन्छ, मानिन्छ । जबकि, सिंगापुरचाहिँ भूगोल र जनसंख्या दुवैका आधारमा हेर्दा लगभग अन्तिम देशका रूपमा गनिन्छ । जस्तो कि, भूगोलको आधारमा हेर्दा नेपाल विश्वको ९३ औँ देशका रूपमा रहेको छ । सिंगापुरचाहिँ विश्वको १ सय ९१ औँ (७ सय २५ किमि) स्थानमा रहेको छ । त्यस्तै जनसंख्याका आधारमा तुलना गरेर हेर्दा नेपाल विश्वको ४९ औँ जनसंख्या भएको देशका रूपमा रहेको छ । सिंगापुर विश्वको १ सय १५ औँ देशको रूपमा रहेको छ, जनसंख्याको आधारमा ।
नेपालको जनसंख्या २ करोड ९६ लाख ३२ हजार ५ सय ४९ छ भने सिंगापुरको चाहिँ ५८ लाख ५३ हजार ९ सय ५ जना मात्र छ । तर, मानिसको औसत आयुमा चाहिँ १३ वर्षको फरक देखिन्छ, नेपाली र सिंगापुरियनहरूको । नेपालीको औसत आयु केवल ७० वर्ष छ भने सिंगापुरका जनताको औसत आयु ८३ वर्ष रहेको छ ।
अन्य कुरामा पनि सिंगापुर धेरै अगाडि छ । जस्तो कि, विश्वका विकसित देशहरूको सूचीमा पनि सिंगापुर १२ औँ स्थानमा रहेको छ । हुन पनि मानव विकास, विज्ञान, सूचना प्रविधि, कलकारखाना, पर्यटन, व्यापार, सामुद्रिक बन्दरगाह, बैंक, वित्त, जल यातायात, सेवा क्षेत्र आदिका कारण सिंगापुर हाम्रो देशभन्दा धेरै अगाडि छ । विश्व बैंकले सन् २०२१ मा जारी गरेको एक तथ्यांकअनुसार सिंगापुरको प्रतिव्यक्ति आय ७२ हजार ९४ अमेरिकी डलर छ भने नेपालको केवल १ हजार २ सय २२ छ ।
त्यस्तै मानव विकास सूचकांक, २०२२ मा सूचीकृत देशहरूको सूचीमा पनि सिंगापुर ११ औँ स्थानमा रहेको छ । नेपालचाहिँ १ सय ३९ औँ स्थानमा रहेको छ । विदेशी पर्यटक भित्र्याउने सन्दर्भमा पनि नेपालले सिंगापुरलाई सयौँ वर्षसम्म पनि भेट्टाउन सक्ने देखिँदैन ।
पर्यटनको कुरा गर्दा, सन् २०२१ मा सिंगापुरले ३३ लाख विदेशी पर्यटक भित्र्याउन सफल भएको थियो भने सन् २०२४ मा ५३ लाख विदेशी पर्यटक भित्र्याउन सफल भएको थियो । सन् २०२३ मा चाहिँ ३६ लाख विदेशी पर्यटकले सिंगापुर भ्रमण गरेका थिए । यसरी सिंगापुर भ्रमण गर्ने विदेशी पर्यटकको संख्या तुलना गरेर हेर्दा सन् २०२३ को तुलनामा सन् २०२४ मा २२ प्रतिशतले बढेको थियो । यता नेपालमा चाहिँ सन् २०२१ मा जम्मा १ लाख ५० हजार ९ सय ६२ विदेशी पर्यटकले मात्रै भ्रमण गरेको तथ्यांक छ भने सन् २०२३ मा ६ लाख १४ हजार चानचुन विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यस्तै सन् २०२४ मा चाहिँ ११ लाख ४७ हजार ५ सय ६७ जना विदेशी पर्यटक नेपाल भ्रमण गर्न आएका थिए ।
त्यस्तै गरेर सन् २०२१ मा सिंगापुर भ्रमण गर्न आएका ३३ लाख विदेशी पर्यटकबाट १.९ बिलियन सिंगापुरियन डलर आर्जन गर्न सफल भएको भनेर सिंगापुर पर्यटन बोर्ड (एसटिबी) ले जनाएको छ । एसटिबीका अनुसार सन् २०१९ को डिसेम्बर अन्तिममा चीनबाट विश्वव्यापी रूपमा फैलन थालेको कोरोना महामारीकै बीच सन् २०२० मा पनि २७ लाख विदेशी पर्यटकले सिंगापुर भ्रमण गरेका थिए भने ती विदेशी पर्यटकले ४.०४ बिलियन सिंगापुर डलर खर्च गरेका थिए ।
तर, हाम्रो देश नेपालमा चाहिँ सन् २०२० मा २ लाख ३० हजार ८५ विदेशी पर्यटकले भ्रमण गरेका थिए भने विदेशी पर्यटकबाट भएको आम्दानी २१ अर्ब ७ लाख रुपैयाँबराबरको विदेशी मुद्रा थियो । एसटिबीको तथ्यांकअनुसार सिंगापुरमा सन् २०१९ को तुलनामा सन् २०२० मा ८७.७ प्रतिशत कम विदेशी पर्यटकले भ्रमण गरेका थिए । यता नेपालमा चाहिँ लगभग ९१ प्रतिशतले विदेशी पर्यटक आगमनमा कमी आएको थियो ।
त्यस्तै एसटिबीको तथ्यांकअनुसार सन् २०१९ मा सिंगापुरमा १९.१ मिलियन अर्थात् १ करोड ९१ लाख विदेशी पर्यटकले भ्रमण गरेका थिए । साथै, ती विदेशी पर्यटकले सिंगापुर भ्रमणका क्रममा २७.७ बिलियन सिंगापुर डलर खर्च गरेका थिए । नेपालमा चाहिँ सन् २०१९ मा ११ लाख ९७ हजार १ सय ९१ जना विदेशी पर्यटकले भ्रमण गरेका थिए । साथै, सो वर्ष नेपाल भ्रमणमा आएका विदेशी पर्यटकबाट ७२ अर्ब ४३ करोड ३७ लाख रुपैयाँबराबरको विदेशी मुद्रा आम्दानी भएको तथ्यांक छ ।
सिंगापुरमा सन् २०२२ मा ४० देखि ६० लाख विदेशी पर्यटकले सिंगापुरको भ्रमण गर्ने भनी एसटिबीले अग्रिम प्रक्षेपण गरेको थियो । हुन पनि सन् २०२२ को प्रथम ६ महिनामै १५ लाखभन्दा बढी विदेशी पर्यटकले सिंगापुरको भ्रमण गरिसकेका थिए । ऊ बेला एसटिबीले निकालेको तथ्यांकअनुसार सन् २०२० मा सिंगापुर भ्रमणमा आउने सबैभन्दा धेरै पर्यटक इन्डोनेसियाका थिए भने दोस्रो नम्बरमा भारत, तेस्रोमा मलेसिया, चौथोमा अस्ट्रेलिया र पाँचौँमा फिलिपिन्सका रहेका थिए । एसटिबीको सो तथ्यांकमा उल्लेख गरिएअनुसार सन् २०२० मा इन्डोनेसियन पर्यटक २ लाख ८२ हजार, भारतीय पर्यटक २ लाख १९ हजार, मलेसियन पर्यटक १ लाख ३९ हजार, अस्ट्रेलियन पर्यटक १ लाख २५ हजार एवं फिलिपिनी पर्यटक ८१ हजारले सिंगापुर भ्रमण गरेको देखिन्छ । त्यस्तै सन् २०२१ मा चाहिँ ५४ हजार भारतीय पर्यटकले मात्रै सिंगापुरको भ्रमण गरेको देखिन्छ ।
हुन पनि विश्व भ्रमणमा निक्लने विदेशी पर्यटकको तथ्यांक हेर्ने हो भने सन् २०१९ सम्ममा हरेक वर्ष चिनियाँ पर्यटक सिंगापुर भ्रमण गर्ने विदेशी पर्यटकको संख्यामा पहिलो, दोस्रो, तेस्रो स्थानमा रहने गरेका थिए । सन् २०१९ मा मात्रै ३० लाख ६४ हजार चिनियाँ पर्यटकले सिंगापुरको भ्रमण गरेका थिए भने सो वर्ष ३० लाख ८ हजार इन्डोनेसियन पर्यटकले सिंगापुर भ्रमण गरेर दोस्रो स्थानमा रहेका थिए । त्यस्तै गरेर १० लाख ४२ हजार भारतीय पर्यटकले सिंगापुर भ्रमण गरेर तेस्रो स्थानमा रहेका थिए ।