लेबनानमा नयाँ प्रधानमन्त्रीविरुद्ध हजारौँको प्रदर्शन «

लेबनानमा नयाँ प्रधानमन्त्रीविरुद्ध हजारौँको प्रदर्शन

बेरुत-लेबनानका नयाँ प्रधानमन्त्री हसन दियबविरुद्ध शनिबार हजारौँले सडकमा प्रदर्शन गरेका छन् ।
राजधानी बेरुतमा रहेको प्रधानमन्त्री दियबकै घरनजिकै पुगेर प्रदर्शनकारीहरूले प्रदर्शन गरेको जनाइएको छ ।
प्रधानमन्त्रीमा दियब नियुक्त भएकोमा उनीहरूले असहमति जनाएका छन् । भ्रष्ट राजनीतिक पार्टीहरूको सहयोगमा उनी प्रधानमन्त्री भएकाले उनी अस्वीकार्य भएको उनीहरूको भनाइ छ ।
अहिलेको सरकारले पनि देशको आर्थिक चुनौतीको सामना गर्न नसक्ने भएकाले विरोध गर्नुपरेको आन्दोलनकारीले बताएका छन् ।
आन्दोलनकारीहरूको मागलाई सरकारले बेवास्ता गरिरहेको एक आन्दोलनकारीको आरोप थियो । प्रदर्शनकारीहरूले देशव्यापी आन्दोलनको तयारी भइरहेको जानकारी दिएका छन् । उनीहरूले स्वतन्त्र व्यक्तिहरूको सहभागितासहित सरकारको पुनर्गठन गर्न माग गरेका छन् ।
देशलाई आर्थिक संकटबाट बाहिर निकाल्न उनीहरू सक्षम रहने आन्दोलनकारीहरूको दाबी छ, तर नयाँ प्रधानमन्त्री दियब भने सरकार पुनर्गठनका लागि असफल हुँदै आएका छन् । उनलाई सघाएका विभिन्न दलको दबाबका कारण उनले सरकार पुनर्गठन गर्न नसकेका हुन् ।
लेबनान अहिले आर्थिक कारणले खतरापूर्ण अवस्थामा रहेको छ । असफल राजनीतिक नेताहरूका कारण मुलुक यो अवस्थामा पुगेको आन्दोलनकारीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्