भारतीय पर्यटकले ५ हजार डलरबराबरको भारु ल्याउन पाउने

भैरहवा–भारतीय नागरिक नेपाल घुम्न आउँदा पाँच हजार डलरबराबरको भारतीय रुपैयाँ (भारु) ल्याउन पाउने भएका छन् । योभन्दा अघि २५ हजार भारतीय रुपैयाँभन्दा बढी लिउन नपाउने व्यवस्था थियो । भैरहवा तथा यस आसपासमा राजनैतिक दलका नेताहरू मात्र हैन मन्त्रीहरू आउँदा पनि २५ हजार भारु मात्रै लिएर आउने गरेका थिए । यस्तो प्रतिबन्ध हटाउन पर्यटन व्यवसायीहरूले माग गर्दै आएका थिए ।
सो सम्बन्धमा नेपाल राष्ट्र बैंक सिद्धार्थनगर प्रादेशिक कार्यालयका सूचना अधिकारी जीवनप्रकाश पाण्डेले नेपालमा भारतीय नागरिकले २५ हजार भारु भन्दा बढी रकम ल्याउन नपाइने कतै उल्लेख नभएको बताए । सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २९ (क) मा कसैले आफ्नो साथमा वा कार्गो, कुरियर, हुलाक वा अन्य माध्यममार्फत अमेरिकी डलर पाँच हजारसम्म वा सो बराबरको अन्य विदेशी मुद्रा वा सो बराबरको धारक विनिमय अधिकार पत्र नेपालबाट विदेश लैजान वा विदेशबाट नेपाल ल्याउन सकिने गरी सीमा तोकिएको सूचना अधिकारी पाण्डेले जानकारी दिए ।
यसले भारतीयहरू नेपाल आउँदा पाँच हजार डलरबराबरको भारु ल्याउन पाउने व्यवस्थालाई सम्वोधन गरेको छ । यो भन्दा बढी रकम ल्याउँदा भने भन्सार कार्यालयमा त्यसको घोषणा गरी ल्याउन पाइने व्यवस्था रहेको छ । भारतीय नागरिकहरू नेपाल भ्रमणका लागि मात्र नभई सीमावर्ती नेपाली सहरहरू भैरहवा, विराटनगर, वीरगञ्ज, नेपालगन्ज, धनगढी, महेन्द्रनगर, काँकडभित्तामा धेरै संख्यामा क्यासिनो खेल्न आउने गरेका छन् ।
भारतीयहरूलाई नै लक्षित गरी भैरहवामा आधा दर्जन बढी क्यासिनोहरू सञ्चालनमा रहेका छन् । क्यासिनो खेल्न आउने भारतीयहरूलाई प्रहरीले २५ हजार भारुको त्रास देखाउने गरेको पर्यटन व्यवसायी तथा होटल व्यवसायीहरूले बताउँदै आएका थिए । तर त्यस्तो बाध्यकारी नियम कतै नभएको जानकारी राम्ररी नहुँदा नेपाल आउने भारतीय नागरिक सधै त्रासमा आउने गरेको नेपाल भारत मैत्री केन्द्रका अध्यक्ष सिद्धार्थ अग्रवालले बताए ।
राष्ट्र बैंकका अनुसार बाध्यकारी नभएको कुरा राज्यले सूचना जारी गरे सबैलाई फाइदा हुने र भारतीय नागरिक ढुक्कसँग भ्रमण गर्न आउने मात्र नभई उनीहरूको संख्या पनि बढ्ने अग्रवालले बताए । लुम्बिनी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक दानबहादुर कार्कीले पर्यटकहरूलाई यस्ता साना तिना कुराहरूमा दुख नदिनु भनेर निर्देशन गरिएको बताए । ‘पर्यटकहरू नेपालमा पैसा खर्च गर्न आउने हुन, उनीहरूलाई यस्ता साना तिना कुराहरूमा अल्झाउनु हुँदैन, सुरक्षित वातावरण दिनुपर्छ ।’
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले भारतीय नागरिकले २५ हजार भारु भन्दा बढी ल्याउन नपाइने हल्लाले पर्यटन क्षेत्र प्रभावित भएको बताएका छन् । भारतीयहरू धार्मिक पर्यटनका लागी पशुपतिनाथ, मुक्तिनाथ, लुम्बिनी,जनकपुरधाम, स्वर्गद्धारी आउने गर्छन् । उनीहरूलाई पर्याप्त सुविधा दिई खर्च गर्न दिन सक्ने बाटो सहज बनाउन सके अर्थतन्त्र चलायमान हुँने सिद्धार्थ होटल संघ (सान) का अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले बताए ।