Logo

आर्थिक भविष्यको लागि नवीनतम पथको खोजी

वीरगन्ज– नेपालको आर्थिक विकासमा आवश्यक नवीनतम व्यवस्थापनको अभाव रहेको औंल्याईएको छ । नेपाल कमर्स एसोसिएसनले वीरगन्जमा आयोजना गरेको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागीहरूले कार्यपत्र प्रस्तुत गर्दै पुरानो शैली र प्रवृत्तिले नेपालको आर्थिक विकास र भविष्य राम्रो नहुने बताएका हुन् । सम्मेलनमा सहभागी विज्ञ अनुसन्धानकर्ताहरूले आफ्नो कार्यपत्र प्रस्तुतीमा नेपालमा आवश्यकता अनुसारको औद्योगिक विकास र कृषिमा औद्योगीकरण हुन नसकेको औंल्याएका थिए ।

नेपालमा व्यवसायमा प्रवर्तनका लागि अध्ययन अनुसन्धान गर्ने परिपाटी नरहेको बताउँदै उनीहरूले सम्भाव्यता अध्ययन र अनुसन्धान पनि आफू खुसी गर्दा त्यसले वास्तविक परिणाम दिन नसकेको बताएका छन् । सरकार, निजीक्षेत्र कसैले पनि सम्भाव्यता अध्ययन र अनुसन्धानमा व्यावसायिक मापदण्डहरू नअपनाउँदा र वास्तविक अनुसन्धानकर्ताहरूलाई पहुँचभन्दा बाहिर राख्दा अपेक्षित प्रतिफल प्राप्त गर्न नसकेको सहभागीहरूले बताए ।

अमेरिका नवप्रर्वतनकै कारण विश्व शक्ति राष्ट्र बन्न सफल भएको बताउँदै नेपाल कमर्स क्याम्पस काठमाडौंका सहअध्यक्ष डा.सुरेन्द्र महतोले अमेरिकाले अनुसन्धानका लागि गरेको लगानी नै उसको सुपर पावर रहेको बताए । वास्तविक अवस्थाको बारेमा जान्नका लागि वास्तविक तथ्यांकको आवश्यकता हुने र त्यसको लागि अध्ययन र अनुसन्धान महत्त्वपूर्ण हुने उनले बताए । महतोले वीरगन्जमा पहिलो पटक महत्त्वपूर्ण कमर्स सम्मेलनको आयोजना भएकोमा खुशी व्यक्त गरे ।

कार्यक्रममा भारतको उत्तर प्रदेशको जाउनपुरस्थित पूर्वाञ्चल विश्वविद्यालयका व्यवस्थापना संक्रायका विजनेश इकोनोमिक प्रमुख तथा इण्डियन कमर्स एसोसिएसनका पूर्व उपाध्यक्ष मानस पाण्डेले देशमा जन्मिएपछि देशको लागि केही गर्नुपर्छ भन्ने भावना जागृत गरेर नवप्रवर्तनमा लागेमा त्यसले देशको आर्थिक विकासका लागि महत्त्वपूर्ण काम गर्न सक्ने बताए ।

महेन्द्र बहुमुखी क्याम्पस धरानका डिन डा. अशोक कुमार झाले देशमा औद्योगीकरण र कृषिक्षेत्रको विकास हुन नसक्नु अध्ययन अनुसन्धानकै कमीले भएको बताए । उनले सम्भाव्यता अध्ययन र अनुसन्धान विना खोल्ने कृषि र उद्योगहरूको दिगोपन नरहने हुँदा देशमा औद्योगीकरण र कृषि क्षेत्रमा आधुनिकीकरण नहुँदा बेरोजगार बढेको बताए ।

वीरगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरि गौतमले व्यवस्थापनमा दक्ष जनशक्ति नहुँदा र अनुभव अभावले गर्दा औद्योगिक प्रतिष्ठानहरूमा व्यावसायिकताको विकास हुन नसकेको बताए । उनले विज्ञता हासिल गरे पनि नवीन व्यवस्थापकीय क्षमता भएका जनशक्तिको अभावले औद्योगिक प्रतिष्ठानहरूमा समस्या हुने गरेको बताए । उनले नेपाल कमर्स एसोसिएसनले आयोजना गरेको सम्मेलनले नेपालमा एउटा नवीनतम अभ्यासको सुरुवात गरेको बताए । यसलाई संस्थागत गरेर व्यावसायिक हितमा प्रयोगात्मक अभ्यासको थालनी गर्नुपर्ने उनको भनाइ थियो ।

उद्योग र व्यवसायमा गरिने अध्ययन र अनुसन्धान तथा सम्भाव्यतालाई संस्थागत गर्ने उद्देश्यले स्थापना गरिएको संस्थाले वाणिज्य र व्यवस्थापनमा नेपालको आर्थिक भविष्यको खोजीका लागि सम्मेलन महत्त्वपूर्ण हुने नेपाल कमर्स एसोसिएसन (एनसीए) का अध्यक्ष डा.दीपेन्द्र कुमार चौधरीले जानकारी दिए । सम्मेलनमा नेपालको व्यापार वृद्धिका लागि डिजिटल मार्केटिङको प्रभाव, नेपालको आर्थिक भविष्यको लागि व्यवस्थापनमा नवीनतम पथ प्रदर्शकको खोजीसहितको कार्यपत्रलगायतका आर्थिक क्षेत्रका लागि महत्त्वपूर्ण १७ वटा कार्यपत्र प्रस्तुत गरिएको चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस्