करोड बढी लागतमा बन्यो कृयापुत्री भवन

नेपालगन्ज– बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा एक करोड बढीको लागतमा कृयापुत्री भवन निर्माण गरिएको छ । खासगरी सहरी क्षेत्रमा घर भाडामा बस्ने मानिसलाई काजक्रिया कर्म गर्न असहज हुँदै गएपछि नेपालगन्ज उपमहानगरपालिका–४ स्थित शिव पार्वती मन्दिर अगाडि किरियापुत्री भवन निर्माण गरिएको हो ।
क्रियापुत्री भवन निर्माण समितिका संयोजक सेमराज शाक्यका अनुसार करिब तीन कठ्ठा जग्गामा एक करोड १६ लाख रुपैयाँ लागतमा नागरिकस्तरबाट स्रोत जुटाएर साढे दुई तले सुविधा सम्पन्न भवन निर्माण गरिएको हो । कोरोना महामारीको समयमा उपचारका लागि आएका र कोठा भाडामा बस्ने व्यक्तिलाई मृत्यु संस्कारका कार्यमा एकदमै असहज भएको दृष्य देखेपछि यो अभियान थालेको संयोजक शाक्यले बताए ।
‘हिन्दू धर्ममा जन्म र मृत्यु संस्कार निकै महत्त्वपूर्ण मानिने भएकोले क्रियापुत्री घर निर्माणमा जुटेका हाैं, उनले भने नागरिकस्तरबाट पहल र सहयोगबाट क्रियापुत्री भवन निर्माण गर्न सफल भएका छौं ।’ नागरिकस्तरबाट क्रियापुत्री भवन बनाउने अभियान थालेर हाल पूर्णता पाउँदा खुसी लागेको उनको भनाइ छ ।
भवनको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले उद्घाटन गर्दै नेपालगन्जमा किरियापुत्री भवनको आवश्यकता महसुस हुँदै आएकोमा सबैको साझा प्रयास र सहभागिताबाट भवन बन्नु सराहनीय कार्य भएको र यसले दु:खमा परेका नगरवासीलाई सहजता प्राप्त हुने विश्वास व्यक्त गरे ।
साढे दुई तले उक्त भवनमा पुरुष र महिला क्रियापुत्री अलग अलग बस्न मिल्ने छ भने कुरुवा कोठा, शौचालय र प्रशासनिक प्रयोगका लागि समेत व्यवस्था मिलाइएको छ । विभिन्न क्षेत्रमा आबद्ध अगुवा समाजसेवीको पहलमा शिव पार्वती मन्दिरको जग्गामा विभिन्न दाता तथा सरकारी स्रोतको साझेदारीमा क्रियापुत्री घर निर्माण गरिएको निर्माण समितिका सचिव वसन्त लामिछानेले जानकारी दिए ।
नेपालगन्ज–६ फुल्टेक्रा निवासी माधवी शाहले १० लाख प्रदान गरी पहिलो संकल्पकर्ता बनेर नागरिकस्तरबाट क्रियापुत्री घर निर्माणको पहल थालेपछि सबै क्षेत्रबाट सहयोग प्रदान हुँदै आएको उनको भनाइ छ । क्रियापुत्री भवन निर्माणले खासगरी कोठा भाडामा बस्ने ब्यक्ति र उपचारका लागि नेपालगन्ज आएर मृत्यु भएका आफन्तको मृत्युसंस्कार कार्य गर्न सहज हुनेछ ।