Logo

जोगबनी–किमाथांका सडकको ट्रयाक खुलेसँगै पूर्वका उद्योगी उत्साहित

विराटनगर त्रिदेशीय व्यापारिक केन्द्र बन्न सक्ने सम्भावना

विराटनगर– जोगबनी–किमाथांका सडकको ट्रयाक खुलेसँगै पूर्वका उद्योगी व्यवसायी उत्साहित भएका छन् । नेपाली सेनाको लामो प्रयासपछि ट्रयाक खुलेको हो । चीनको नाका किमाथांकासम्मै दुईतर्फी यातायात सञ्चालन गर्ने गरी निर्माण गरिए विराटनगर त्रिदेशीय व्यापारिक केन्द्र बन्ने सम्भावना रहेको उद्योगी व्यवसायीको भनाइ छ ।

हाल नेपालले चीनले उपलब्ध गराएको तीनवटा सामुन्द्रिकसहित ६ वटा नाका प्रयोग गर्दै आएको छ । चीनले नेपालले प्रयोग गर्ने गरी उपलब्ध गराएको ६ वटा किमाथांका नाका पर्दैन । यो नाकामा सुख्खा बन्दरगाहा निर्माण गर्न सरकारले पहल गर्नुपर्नेमा उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले जोड दिए ।

उनले भने, ‘पहिलो त ट्रयाक खोलेर मात्रै हुँदैन । मालबाहक सवारी साधन आवतजावत गर्ने गरी निर्माण गर्नुपर्छ । त्यसपछि चीनसित कूटनीतिक पहल गरेर पूर्ण रूपमा सञ्चालनमा ल्याउनुपर्छ र अन्तर्राष्ट्रियस्तरको बनाउनुपर्छ ।’ यो नाका सञ्चालनमा आए चीनबाट कच्चापदार्थ र तयारी वस्तु आयातमा सहज हुने उनको भनाइ छ । जसले गर्दा ढुवानी खर्चमा कमी आई उपभोग्य वस्तुको लागत घट्नेछ ।

चट्टानी भूबनोटका कारण बाह्रै महिना नाका सञ्चालनमा ल्याउन सकिनेछ । भारतले समेत यो नाका प्रयोग गरेर आयात निर्यात गर्न सक्नेछ । ‘यो नाका पूर्ण रूपमा सञ्चालनमा ल्याउन सकेमा विराटनगर दुवै देशको व्यापारिक हब बन्ने प्रचुर सम्भावना छ,’ अध्यक्ष राउतले भने, ‘त्यसका लागि सरकारले काम गर्नुपर्दछ ।’

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष किशोर प्रधानले आफूले परिकल्पना गरेको जोगबनी–किमाथांका सडकको सम्पूर्ण ट्रयाक खोलिसक्दा निकै हर्षित भएको प्रतिक्रिया दिए । उनले उद्योग संगठन मोरङको अध्यक्ष हुँदा सरकारलाई सो सडक निर्माण गर्न सुझाव दिएको स्मरण गरे । सरकारले गम्भीर भएर यो नाका सञ्चालनमा ध्यान दिए नेपालले धेरै फाइदा लिन सक्ने प्रधानको भनाइ छ ।

विश्वकै सबैभन्दा बढी जनसंख्या भएका र आर्थिक रुपले समेत शक्तिशाली मुलुकका हिसाबले यो नाका सञ्चालनमा आएसँगै नेपाललाई धेरै लाभ पुग्ने उनले बताए । ‘यो नाका हुँदै नेपालले कच्चा पदार्थ र तयारी वस्तु ल्याउन सक्छ । भारतले चीनबाट र चीनले भारतबाट आयात निर्यात गर्न सक्छन्,’ प्रधानले भने, ‘सरकारले चलाखीपूर्वक अहिलेदेखि नै काम सुरु गर्नुपर्दछ ।’

नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवनकुमार सारडाले पनि ट्रयाक खुलेको खबरले मनमा केही उत्साह पलाएको बताए । उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीले नाका सञ्चालनका लागि सरकारले अहिलेदेखि नै पहल गर्नुपर्नेमा जोड दिए । सडक निर्माण गरिसकेपछि चीनतर्फबाट नाका सञ्चालन गरिएन भने त्यसको अर्थ नरहने उनको भनाइ थियो

भारतीय सीमा जोगबनीदेखि किमाथांकासम्म ३९० किलोमिटर लम्बाइ रहेको छ । जोगबनी नाकादेखि विराटनगर हुँदै संखुवासभाको खाँदबारीसम्म कालोपत्रे सडक छ । सो सडक राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्दछ । गत सोमबार संखुवासभाको सदरमुकाम खाँदबारीदेखि किमाथांकासम्मको १६२ किलोमिटर सडक ‘ब्रेक थ्रु’ गरिएको थियो ।

संखुवासभाको भोटखोला गाउँपालिकाको च्याम्ताङ पुगेर संखुवासभाका प्रतिनिधिसभा सदस्य एवं ऊर्जामन्त्री दीपक खड्का, भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राईको उपस्थितिमा ‘ब्रेक थ्रु’ गरिएको थियो । खाँदबारी–किमाथांका सडकको कडा चट्टान नेपाली सेनाले फोडेर ट्रयाक खोलेर त्रिदेशीय लिंक गराउन सफल भएको छ । करिब १४ किलोमिटर अत्यन्तै चट्टान रहेको थियो । सेनाले चट्टान फोडेर ट्रयाक खोलेको हो ।

अब भारतको जोगवनीदेखि संखुवासभाको सदरमुकाम खाँदबारी–किमाथांका हुँदै चीन जोडिएको छ । उत्तरदक्षिण कोशी राजमार्गअन्तर्गत त्रिदेशीय लिंकको रूपमा रहेको सबैभन्दा छोटो राजमार्ग जोडिएको हो । भोटखोला गाउँपालिकाको च्याम्ताङ–घोङगोप्पाको साढे १० किलोमिटर ट्रयाक खोल्ने काम सेनाले पाँच वर्षअघि सुरु गरेको थियो । शंखेभीरको कडा चट्टान फोर्न विस्फोटक पदार्थ आवश्यक भएको भन्दै २०७६ भदौ २२ गतेको मन्त्रिपरिषद् बैठकले सेनालाई सडक निर्माणको जिम्मा दिएको थियो ।

राष्ट्रिय गौरवको जोगबनी–किमाथांका सडकको ‘ब्रेक थ्रु’ गरिएसँगै त्रिदेशीय लिंकको रूपमा उत्तर–दक्षिण कोसी राजमार्ग जोडिएको उत्तर–दक्षिण कोसी सडक आयोजनामा प्रमुख इन्जिनियर रामबहादुर गुरुङले बताए । अहिले नेपाली सेनाले सिंगल लेनको सडकको ट्रयाक खोलेको बताउँदै चैत मसान्तसम्म डबल लेन सडक बनाएर सरकारलाई बुझाउने बताए । खाँदबारीदेखि किमाथांकासम्म विभिन्न प्याकेजमा तीव्र गतिमा काम भइरहेको आयोजना प्रमुख इन्जिनियर गुरुङको भनाइ छ ।

उनका अनुसार खाँदबारी–नुम ३९ किलोमिटर शर्मा शिवशक्ति जेभीले पक्की गर्ने काम गरिरहेको छ । नुम–फ्याक्सिन्दा ११ किलोमिटर विवश ड्रागन जेभी, फ्याक्सिन्दा पुल एक किलोमिटर अरुण तेस्रो जलविद्युत आयोजनाद्वारा सडक पक्की बनाएको छ । यसैगरी, फ्याक्सिन्दा–बरुण २७ किलोमिटर स्वामीनारायण, बरुण–पुल विवस ड्रागन काम गरिरहेको छ भने बरुण–हुङहुङ स्वामीनाराण २८ किलोमिटर, हुङहुङ–च्याम्ताङ २१ किलोमिटर कोसिसमंगलादेवी सुवाससुन्दरा जेभीले काम गरिरहेको छ ।

बीचको कडा भाग च्याम्ताङ–घोङगोप्पाको साढे १० किलोमिटर ट्रयाक सेनाले ट्रयाक खोल्ने काम सम्पन्न गरेको हो भने त्यसभन्दा उत्तरको घोङघोप्पा–किमाथांका सडक खन्ने काम यसअघि नै सम्पन्न भइसकेको छ । विराटनगरको रानी भन्सार नाकाबाट इटहरी, धरान, धनकुटा, हिले, खाँदबारी हुँदै किमाथांकासम्म कोशी करिडोरको कुल लम्बाइ ३९० किलोमिटर छ ।

यसमध्ये खाँदबारी–किमाथांका सडक आर्थिक वर्ष २०६५/०६६ सालदेखि बनाउन सुरू गरिएको थियो । उत्तर–दक्षिण (कोशी) व्यापारिक मार्ग विस्तार आयोजनाका रूपमा यो सडकखण्ड २०७५ सालमै निर्माण पूरा गर्ने लक्ष्य अघि सारिएको थियो । तर धेरै ठाउँमा ठूलाठूला पहाड तथा चट्टान भएका कारण सडक खोल्न धेरै समय लागेको आयोजनाले बताएको छ । सरकारले आर्थिक वर्ष २०६५/०६६ बाट कोशी करिडोर निर्माण सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्