तनहुँलाई पूर्ण विद्युतीकरण गरिँदै «

तनहुँलाई पूर्ण विद्युतीकरण गरिँदै

तनहुँ-विद्युत् प्राधिकरण कार्यालय तनहुँले जिल्लालाई पूर्ण विद्युतीकरण गर्न लागेको छ । विद्युत् लाइन छुट भएका स्थानमा आपूर्ति गर्नका लागि बोलपत्र आह्वान गरी प्रक्रिया अघि बढाइएको छ ।
आर्थिक वर्ष २०७६-०७७ असार मसान्तभित्र सबै क्षेत्रमा विद्युत् पु-याउने लक्ष्य रहेको कार्यालयका इञ्जिनीयर रामबाबु चौधरीले जानकारी दिए । उनका अनुसार जिल्लाको दुई नगरपालिका र चार गाउँपालिका रहेका काठको पोल हटाएर स्टिल पोल राख्ने र नाङ्गो तार हटाएर कालो तारको व्यवस्था गरिनेछ । पोल राखिँदै क्षमता वृद्धि गर्ने, नयाँ ट्रान्सफर थप गरिनेछ ।
जिल्लाको भानु नगरपालिका–६, ७, ८ र ९ का बासिन्दालाई सामुदायिक ग्रामीण विद्युतीकरण सेवा सिसाघाट र वडा नं १०, १२, १३ मा लमजुङस्थित सूर्यपाल सामुदायिक विद्युत् उपभोक्ता समितिले विद्युत् वितरणको व्यवस्था गरेको छ भने बाँकी अन्य वडामा विद्युत् प्राधिकरणले नै काम गर्दै आएको उनले बताए ।
सदरमुकाम दमौलीमा छिन–छिनमा विद्युत् जाने समस्यालाई मध्यनजर गर्दै दमौली बजार क्षेत्रमा सिटिफिडर कायम गर्न लागिएको छ । दमौली हुँदै जिल्लाको केशवटार र रिसिङसम्म एउटै लाइन हुँदा समस्या रहेकाले एक महिनाभित्रमा पूर्णरूपमा लाइन जाने समस्या हट्ने इञ्जिनीयर चौधरीले बताए ।
बिजुलीको तार रुखमा छुँदा, हावापानी र चट्याङ पर्दा त्यसको असर सिधैँ सवस्टेशनमा पर्ने हुँदा विद्युत् जाने समस्या रहेकाले अब आउँदा दिनमा त्यस्तो नहुने गरी काम गर्न लागिएको उनले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्