Logo

मदन भण्डारी राजमार्ग

पहिलो लक्षित समय सकिँदा बन्यो आधा

काठमाडौं– सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेको मदन भण्डारी राजमार्ग निर्माणका लागि तोकिएको समय सकिँदा उपलब्धि आधामात्र भएको छ ।

यो सडकको निर्माण सम्झौता आर्थिक वर्ष २०७५–७६ मा भएको थियो । त्यसबेला यो सडकको निर्माण चालु आवमा पूरा गर्ने लक्ष्य राखिएको थियो । आयोजनाले तोकिएको समयमा काम गर्न नसकेपछि सरकारले यसको समय थपेर आर्थिक वर्ष २०८४–८५ सम्म पुर्‍याएको छ ।

यो सडक आयोजनाअन्तर्गत ७४० किलोमिटर सडक कालोपत्रे गर्नु पर्नेछ । यस्तै, १८५ वटा पुल निर्माण गर्नु पर्नेछ । हालसम्म यसमा ३ सय ४३ किलोमिटर सडक निर्माण भएको छ । यो कुल लक्ष्यको ४४ प्रतिशत हो । यस्तै, १३९ वटा पुल निर्माण भएका छन् । पुल निर्माणमा ७३ प्रतिशत उपलब्धी पूरा भएको आयोजनाले जनाएको छ ।

मदन भण्डारी राजमार्गको कुल लम्बाइ १ हजार ३९० किलोमिटर हो । तर, यो आयोजनाभित्र निर्माण हुने सडकको लम्बाइ जम्मा ७४० किलोमिटर हो । आयोजनाको कुल अनुमानित लागत ७५ अर्ब रुपैयाँ हो । अहिलेसम्म यसमा ३७ अर्ब रुपैयाँ खर्च भएको छ । यो करिब ४९ प्रतिशत खर्च हो ।

आयोजनाका निर्देशक इन्जिनियर दीप बाराहीले अहिलेसम्म आयोजनाको भौतिक प्रगति लक्ष्यको आधा पुगेको जानकारी दिए । उनले लक्ष्यअनुसार आयोजनाले सडक र पुल बनाउन नसक्नुमा विभिन्न कारण रहेको बताए ।

उनका अनुसार सुरुमा आयोजनाको साइट क्लियर नभएकाले काम सुरु हुन सकेन । यस्तै, सरकारले सुरुमा बजेट पनि थोरै दियो । पछि आयोजनाले माग गरेअनुसार थप बजेट समयमा आउन सकेन । यिनै कारण आयोजनाले अपेक्षित प्रगति हासिल गर्न नसकेको उनले बताए । उनले भने, ‘यीमध्ये पनि बजेट अभाव नै मुख्य समस्या हो । आयोजना पूरा गर्न थप ३८ अर्ब रुपैयाँ आवश्यक छ । तर, आयोजनाले स्रोत सुनिश्चितता ८ अर्ब ८० करोड रुपैयाँमात्र पाएको छ । चालु आवमा ३ अर्ब ५३ करोड ७० लाख रुपैयाँ बजेट दिइएको छ ।’

मुआब्जाको व्यवस्था नहुँदा अलाइनमेन्ट सिधा-छोटो गर्न नसकिएकोले पनि आयोजना ढिलाइ भएको थियो । बस्ती छोएर जानुपर्ने माग हुने तर बस्ती भएको स्थानमा धेरै विवाद हुने गरेको छ । सडक सीमा नतोकिएकाले राजमार्ग संरक्षणमा कठिनाइ भइरहेको उनको भनाइ छ । उनले आव २०७५–७६ देखि आयोजना सुरू भए पनि एकै पटक सम्पूर्ण लम्बाइमा ठेक्का हुन नसकेको जानकारी दिए । यही कारण कतै सडक र पुल बनेका छन् भने कतै हालसम्म ठेक्का हुन पनि नसकेको निर्देशक बाराहीको भनाइ छ ।

उनका अनुसार आयोजनाको पूर्वी खण्ड पूरा हुने क्रममा छ । पश्चिम खण्ड भने ठेक्का प्रक्रियामा जान नै बाँकी छ । आयोजनाको ५६१ किलोमिटर ठेक्का प्रक्रियामा गएको छ भने १७९ किलोमिटर सडक ठेक्का लाग्नै बाँकी छ ।

यस्तै, पुलतर्फ १६१ पुल निर्माण प्रक्रियामा छन् भने २४ पुलको ठेक्का लगाउन बाँकी छ । ७७.७ किलोमिटर ठेक्का व्यवस्थापन अन्तिम चरणमा रहेको बाराहीको भनाइ छ । उनका अनुसार कतिपय स्थानमा रुख कटानमा विवाद छ भने कतिपय ठाउँमा विद्युत पोल र खानेपानीको पाइप स्थानान्तरण गर्न कठिनाइ भइरहेको छ । यस्तै, विवादमा आएका ठेक्काको अदालतमा मुद्दा चलिरहेको छ ।

ठेक्का व्यवस्थापन हुुन बाँकी खण्डमा माईखोला–कमलखोला (इलाम, झापा) २६ किलोमिटर छ । यस्तै, सर्दु खोला–झन्डा चोकको ७ किलोमिटर र रिडी–तम्घासअन्तर्गत भेडुवा–तम्घास खण्डको २० किलोमिटरमा पनि ठेक्का लागेको छैन । माडीचौर–घर्तीगाउँ–पातिहाल्ने बागचौरको ५२ किलोमिटर ठेक्का प्रक्रियामा रहेको छ । बड्डीचौर–गुटु–कर्णाली खण्डको ५५ किलोमिटर, कर्णाली–बिपीनगर खण्डको ६० किलोमिटर, जोगबुडा–रुपाल खण्डको ३७ किलोमिटर खण्ड ठेक्का प्रक्रियामा रहेको छ । यस्तै रिडी–बालकोट–हंसपुर, प्युठान–सुर्खेत राजमार्ग अन्तर्गतको गोखुङ्गा–बागदुला सडक खण्डको २० किलोमिटर डिपिआर सम्पन्न भएको छ ।

सरकारले चुरे तथा भित्री मधेशका उपत्यका र सो क्षेत्रभित्र पर्ने खानी स्थललाई देशका प्रमुख शहरसँग जोड्ने उद्देश्यले झापाको बाहुनडाँगीदेखि डडेल्धुराको रुपालसम्म सडक निर्माण गर्ने कार्यक्रम ल्याएको थियो । यसको नाम मदन भण्डारी राजमार्ग राखिएको हो ।

महेन्द्र राजमार्गको समानान्तर र उत्तरतर्फ पूर्व–पश्चिम भएर जाने यो राजमार्गलाई बाह्रै महिना प्रयोग गर्न सकिने गरी रेखांकन गरिएको छ । यसले १९ वटा जिल्लालाई जोड्दै ४० वटा राजमार्ग समेटेको छ । ७२ लाख जनसंख्यालाई प्रत्यक्ष-अप्रत्यक्ष सेवा पुर्‍याउने गरी यो सडक आयोजना कार्यान्वयनमा ल्याइएको हो ।
यो राजमार्गले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम गरी देशका ६ वटा प्रदेशलाई पूर्व–पश्चिम जोड्छ भने झापा, इलाम, मोरङ, सुनसरी, उदयपुर, सिन्धुली, मकवानपुर, चितवन, नवलपरासी पूर्व, पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठान, रोल्पा, सल्यान, सुर्खेत, डोटी, कैलाली र डडेलधुराभित्र सडक र पुल पर्छन् । पूर्व–पश्चिम राजमार्ग भए पनि साविकका सडकलाई जोड्दै जानुपरेकाले यो सडकको लम्बाई महेन्द्र राजमार्गको तुलनामा बढी भएको छ ।

प्रतिक्रिया दिनुहोस्