Logo

९९ अर्ब निर्यातको आँकडामा प्रधानमन्त्रीको संशय

काठमाडौं– मुलुकको निर्यात व्यापार तथ्यांकप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले संशय व्यक्त गरेका छन् । चालु आर्थिक वर्षको ६ महिनामा झण्डै ९९ अर्ब रुपैयाँको निर्यात भए पनि त्यसमा भएको ‘मूल्य अभिवृद्धि’प्रति प्रधानमन्त्री ओलीले संशय व्यक्त गरेका हुन् । विदेशबाट सामान ल्याएर विदेशमा नै निर्यात गर्ने कामले नक्कली आँकडा स्थापित हुन खोजेको उनको भनाइ छ ।

नेपाल चेम्बर अफ कमर्शद्वारा आयोजित आठौं अन्तर्राष्ट्रिय चेम्बर एक्स्पो उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तेस्रो मुलुकबाट कच्चा पदार्थ ल्याएर भारत निकासी गर्ने प्रवृत्ति बढिरहेको भन्दै चिन्ता व्यक्त गरे । ‘निर्यात बढाउन ठूलो मात्रामा उत्पादन गर्ने र कुन चिज कहाँ बिक्री हुन्छ भन्ने थाहा पाएर त्यसअनुसारको व्यापार वृद्धि गर्न सक्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘विदेशबाट सामान ल्याएर विदेशमा नै निर्यात गर्ने कामले नक्कली आँकडा स्थापित हुन खोजेको देखिन्छ, जुन राम्रो होइन ।’

भन्सार विभागका अनुसार पुस मसान्तसम्म ९८ अर्ब ७८ करोड ९२ लाख रुपैयाँबराबरको वस्तु नेपालबाट निर्यात भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ३१.७८ प्रतिशतले बढी हो । अघिल्लो पुससम्म नेपालले ७४ अर्ब ९६ करोड ८० लाख रुपैयाँको वस्तु निकासी गरेको थियो । पुससम्म १८ अर्ब ९१ करोड रुपैयाँबराबरको सोयाबिन आयल तथा ४ अर्ब ९८ करोड ४८ लाख रुपैयाँको सनफ्लावर आयल निकासी हुँदा निकासी ह्वात्तै बढेको हो । नेपालमा तेस्रो मुलुकबाट कच्चा पदार्थ आयात गरी भटमास, सनफ्लावर र पाम तेल प्रशोधनपछि भारत निकासी हुँदै आएको छ । प्रधानमन्त्री ओलीले यसरी भइरहेको निकासीले मुलुकको अर्थतन्त्रलाई टेवा दिन नसक्ने भन्दै स्थानीय कच्चा पदार्थमा आधारित वस्तु निकासीमा जोड दिएका हुन् ।

प्रधानमन्त्री ओलीले ठूलो मात्रामा उत्पादन गरेर छिमेकी भारत र चीनलगायत अन्तर्राष्ट्रिय बजारमा निर्यात बढाउने अवस्था सिर्जना गर्न उद्योगी–व्यवसायीलाई आग्रह गरे । विश्वमा प्रतिस्पर्धी ढंगले सूचना प्रविधिको विकास भइरहेको सन्दर्भमा नेपालमा त्यसको उचित तवरले प्रयोग गरेर फाइदा लिन सक्नुपर्ने धारणा उनले राखे । ‘अहिले हामीले व्यापारको जुन आँकडा तयार गरिरहेका छौं, त्यो वास्तविक छैन । खपतका लागि किनेको वा आयात गरेको कार्यलाई मात्रै व्यापार मान्न सकिँदैन,’ प्रधानमन्त्री ओलीले भने, ‘हामी विज्ञान र प्रविधिको प्रयोग गरेर विभिन्न सामाजिक क्रियाकलाप र उत्पादन बढाउन लाग्नु पर्नेछ । अहिलेको सरकार अर्थतन्त्रको विकासका लागि अत्यन्तै गम्भीरताका लागि लागिरहेको छ ।’

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आईटी क्षेत्रमा नेपाल दक्षिण एसियामा सबैभन्दा पछाडि परेको धारणा राखे । उनले आईटी क्षेत्रमा नेपाल पछाडि परेको र यो वर्षभित्र आईटी क्षेत्रमा एआईको पोलिसीमा काम गर्ने बताए । ‘आईटी क्षेत्रमा नेपाल साउथ एसियाको सबैभन्दा पछाडि परेको छ । यस वर्षभित्र आईटी क्षेत्रमा कृत्रिम बौद्धिकता एवम् आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को पोलिसीमा काम गर्छौं र यससम्बन्धी ऐन पनि बनाउँछौं,’ उनले भने । मन्त्री गुरुङले आईटी क्षेत्रको विकासको लागि नलेज पार्क, आईटी पार्क, एआई अनुसन्धान केन्द्र निर्माण गर्ने बताए ।

आईटी क्षेत्रका समस्या समाधान गर्न नीति, कार्यक्रम, ऐन सबै बनाएपछि संरचनाहरु कसरी विकास गर्ने भन्नेमा केन्द्रित हुने उनको भनाइ छ । यसका लागि नलेज पार्क, आईटी पार्कका साथै एआई अनुसन्धान केन्द्र निर्माण भइरहेको उनले जानकारी दिए । मन्त्री गुरुङले आईटी क्षेत्रको संरचना अभावका कारण व्यवसायीहरुले काम गर्न नपाएको पनि बताए ।

चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवालले नेपाललाई अब आईटीका लागि विश्वकै उत्कृष्ट गन्तव्य बनाउन जरुरी देखिएको बताए । ‘कम लागतको जनशक्ति, डेटा र एआई केन्द्रहरुका लागि आवश्यक पर्ने पर्याप्त विद्युत आपूर्ति आदिले नेपालमा आईटी क्षेत्रको विकासमा ठूलो सम्भावना रहेको देखाएको छ,’ उनले भने, ‘आईटी केन्द्रहरुको स्थापनाका लागि आवश्यक तापक्रम अनुकूलको जलवायु नेपालमा रहेकाले यसको स्थापनामा थप सहजता दिनेछ ।’ यस्तै, मुलुकमा सूचना प्रविधिजन्य उत्पादनहरुलाई भारत र चीनजस्ता छिमेकी ठूला बजारसम्म पुर्‍याउन सकिने प्रचुर सम्भावना रहेको उनको भनाइ छ ।

मुलुकभित्र खपत हुने सफ्टवेयरको प्रयोग गर्दा आन्तरिक उत्पादन एवं प्रतिस्पर्धाकै आधारमा मात्र चयन गरिनुपर्ने उनले माग गरे । ‘नेपालको आन्तरिक खपतका लागि प्रयोग हुने सफ्टवेयर, एआईलगायत अन्य सूचना प्रविधिजन्य वस्तु उत्पादनका लागि आन्तरिक कम्पनीलाई प्रोत्साहन गरिनुपर्छ,’ उनले भने । क्लाउड अवसरको आकर्षणतर्फ विभिन्न देशहरु ढल्किन थालेको तथा नेपालको उच्च दक्षताका सफ्टवेयर र एआई स्नातक जनशक्ति उत्पादन गरी थप रोजगारी सिर्जना गर्न ध्यान दिनुपर्ने उनको भनाइ छ । क्लाउडको क्षेत्रमा लाखौं रोजगारी उपलब्ध हुने सम्भावना रहेको अध्यक्ष अग्रवालले बताए ।

प्रतिक्रिया दिनुहोस्