Logo

‘सूचना प्रविधि क्षेत्रबाट वार्षिक १० खर्ब बढी आम्दानी गर्न सकिन्छ’

काठमाडौं- सूचना प्रविधि क्षेत्रका जानकारहरुले नेपालले सूचना प्रविधि (आईटी) जनशक्ति उत्पादन गर्ने हो भने वार्षिक १० खर्बभन्दा बढी आम्दानी गर्न सकिने बताएका छन् । नेपाली कांग्रेसको उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागले आयोजना गरेको सम्मेलनको आजको समूहगत छलफलमा उनीहरुले सो धारणा व्यक्त गरेका हुन् ।

कांग्रेस केन्द्रीय पार्टी कार्यालय सानेपामा जारी नेपाल ‘स्टार्टअप’ र ‘एसएमई’ सम्मेलनको दोस्रो दिनको ‘उद्यमशीलता र जनशक्ति विकास: आईटी क्षेत्रको लागि तयारी’ शीर्षकको सत्रमा भएको छलफलका वक्ताहरुले आईटीमा थोरै लगानी गर्नसके राम्रो परिणाम हात पार्न सकिने बताएका हुन् ।

इनोभेटिभ नेपाल (आईएनजी) ग्रुपका प्रमुख सुलभ बुढाथोकीले नेपालको आइटी क्षेत्रमा धेरै अवसर भएकाले दक्ष जनशक्ति निर्माणमा लगानी आवश्यक भएको बताए । आवश्यकताअनुसार जनशक्ति उत्पादन गर्नसकेमा वार्षिक १० खर्बभन्दा बढीको आईटी सेवा निर्यात गर्न सकिने उनको भनाइ थियो ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका डिन प्राडा महाननन्द चालिसेले अहिलेको समयमा प्राविधिक शिक्षासहितको व्यवसायिक ज्ञानमा राज्यले ध्यान दिनुपर्ने बताए । उनले पढाइमा सरकारले प्राविधिक पक्षमा ध्यान दिनुपर्ने उल्लेख गरे । यसका लागि त्रिभुवन विश्वविद्यालयले निरन्तर आफ्नो तर्फबाट काम गरिरहेको पनि उनले जानकारी गराए ।

सीनासका कार्यकारी निर्देशक मिर्गेन्द्र कार्कीले परिवर्तनशील समयअनुसार सपना देख्ने, लगानी गर्ने, र प्रयोग गर्ने क्षेत्रलाई छुट्याएर त्यसको ब्रान्डीङसहितको प्रचार गर्न आवश्यक भएको बताए । उनले देशको भुगोल अनुसारको उत्पादित सामग्रीको राज्यले प्रवर्द्धन गर्न सकेको अवस्थामा समग्र आर्थिक रुपान्तरण गर्न सहज हुने उल्लेख गरे ।

योङ इनोभेसनका संस्थापक विभूषण बिष्टले राज्यले आईटी क्षेत्रलाई समेट्ने गरी नीति ल्याएको अवस्थामा अहिलेको तुलानामा पाँच गुणा बढी जनशक्ति उत्पादन गर्न सकिने र त्यहीअनुसार सेवा निर्यात गर्न सकिने बताए ।

त्यस्तै खिम्भु टेकका सीईओ कार्भिका थापाले स्टार्टअप सुरु गर्दा आफ्नो रुचीको विषय छानेर काम गर्न सकेको अवस्थामा मात्रै सफलता हात पार्न सकिने बताइन् । कांग्रेस केन्द्रीय कार्यालयमा बुधबारदेखि सुरु भएको सम्मेलनले भर्खर भर्खर व्यवसाय प्रारम्भ गर्ने उद्यमी, व्यवसायीहरूलाई प्रोत्साहन गर्नुका साथै व्यवसायको प्रवर्द्धनसमेत हुने विभागका संयोजक उर्मिला थपलियाको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्