Logo

आठौँ अन्तर्राष्ट्रिय व्यापार मेला सुरु

निर्यात बढाउन व्यवसायीलाई आग्रह

काठमाडौं- नेपाल चेम्बर अफ कर्मसद्वारा आयोजित ‘आठौँ अन्तर्राष्ट्रिय व्यापार मेला–२०२५’ (एक्स्पो) बिहीबारदेखि भृकुटीमण्डपमा सुरु भएको छ । उक्त एक्स्पोको उद्घाटन समारोहलाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो मात्रामा उत्पादन गरेर छिमेकी भारत र चीनलगायत अन्तर्राष्ट्रिय बजारमा निर्यात बढाउने अवस्था सृजना गर्न उद्योगी–व्यवसायीलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले निर्यात बढाउन ठूलो मात्रामा उत्पादन गर्न र कुन चिज कहाँ बिक्री हुन्छ भन्ने थाहा पाएर त्यसअनुसारको व्यापारवृद्धि गर्न सक्नुपर्नेमा जोड दिए । पूर्वाधार विकासको क्रम जारी रहेकाले नेपाल अझ तीव्रताका साथ अगाडि बढ्ने बताउँदै प्रधानमन्त्री ओलीले बहुतै असहज राजनीतिक अस्थिरताजस्ता कुराले अर्थतन्त्रलाई प्रतिकूल असर परेका बेला त्यसलाई लयमा फर्काउन नयाँ सरकार बनेकाले सन् २०२६ मा नेपाललाई मध्यमस्तरको आय भएको मुलुकमा स्तरोन्नती गर्ने तयारीमा भएको जनाए ।

पूर्वाधार विकासका क्रममा सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थल बनाउँदै अन्य विमानस्थल विस्तारका साथै नदीको बाटोबाट समुद्रसम्म पहुँच विस्तार गराउने काम भइरहेकाले यी सबै उद्योग–व्यवसायको विकास तथा मुलुकलाई सम्पन्न बनाउनका लागि थालिएको स्पष्ट पारे । नेपाललाई न्यून आय भएको मुलुकबाट स्तरोन्नति गराउन सबै जुट्नुपर्ने आग्रह गर्दै प्रधानमन्त्री ओलीले आफू सप्रिउँ र देशलाई पनि सपारौँ भन्ने लक्ष्यका साथ चेम्बर एस्क्पो भएकामा खुसी व्यक्त गरे ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले कृत्रिम बौद्धिकताबारे नीतिगत स्पष्टता गरी कानुनी प्रबन्ध गर्ने र सूचना प्रविधि क्षेत्रको व्यवसायिक विकासका लागि सरकारले ल्याएका अध्यादेश उपयोगी हुने बताए ।

एक्स्पोमार्फत स्थानीय उत्पादनको प्रवर्द्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्य रहेको चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले बताए । उनका अनुसार एक्स्पोमा यस वर्ष अन्तर्राष्ट्रियस्तरको ‘सफ्टवयर’ र ‘एआई’ परियोजना आर्कषणको केन्द्रको रुपमा रहेका छन् ।

मुलुकमा अन्तर्राष्ट्रियस्तरको प्रर्दशनी कक्ष निर्माण गर्न अविलम्व पहल गरिनुपर्ने र यसका लागि सरकारसँग सहकार्य गर्न नेपाल चेम्बर अफ कमर्स सदैव तयार रहेको अध्यक्ष अग्रवालले बताए । पाँच दिनसम्म चल्ने एक्स्पो कम्तिमा ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । स्वदेशी र विदेशी गरी एक सय २५ भन्दा बढी स्टल एक्स्पोमा छन् ।

यस वर्ष पनि एक्स्पोमा कृषिजन्य वस्तु, हस्तकला, लत्ता कपडाका सामान, अटोमोबाइल, इलेक्ट्रोनिक्स, घरेलु उपकरण, कपडा, फर्निचर, गार्मेन्ट, छालाका सामान, गहनाका सामान, सौन्दर्य प्रसाधन सामग्रीलगायतको प्रदर्शनी आगन्तुकका लागि आकर्षणको केन्द्र बन्न सक्ने विश्वास गरिएको छ । एक्स्पोमा नेपाल, बङ्गलादेश, भारत, चीन, थाइल्याण्ड, युएई, दक्षिण कोरिया, मलेसिया, पाकिस्तानलगायतका व्यवसायीले उक्त देशमा उत्पादित वस्तुसहित सहभागिता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्