Logo

प्राथमिक पुँजीकोष नपुग्दा बैंकहरूको कर्जा दिने क्षमता घट्यो

काठमाडौं– बैंकिङ क्षेत्रमा लगानीयोग्य रकम (तरलता) पर्याप्त रहँदा पनि बैंकहरूको कर्जा दिन सक्ने क्षमता घट्दो क्रममा देखिएको छ । बैंकहरूले पुँजीकोषमा दबाब झेल्दै आएकोमा यसले निरन्तरता पाएकोले कर्जा दिने क्षमता घटेको हो । बैंकहरूलाई कर्जा असुलीमा समस्या बढ्दै गएको र कर्जा नोक्सानी व्यवस्थाले बैंकहरूको पुँजी कोषमा दबाब बढ्दै गएको छ ।

गत आवको तुलनामा चालु आवमा बैंकहरूको पुँजीकोषमा झनै दबाब बढाउँदै लगेको तथ्यांकले देखाउँछ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा वाणिज्य बैंकहरूको औषत प्राथमिक पुँजीकोष ९.६८ प्रतिशत रहेको छ । २०८० को पुस मसान्तसम्ममा यी बैंकहरूको औषत प्राथमिक पुँजी कोष ९.७२ प्रतिशत थियो । औषतमा १ वर्षमा प्राथमिक पुँजी कोष ०.०४ प्रतिशत विन्दुले घटेको छ ।

पुँजीकोष घट्दै गए पनि १९ वटा बैंकहरूको प्राथमिक पुँजीकोष नियामकीय सीमाभित्रै रहेको छ । कुमारी बैंकको भने प्राथमिक पुँजीकोष सीमाभन्दा तल झरेको छ । यद्यपि ११ वाणिज्य बैंकको प्राथमिक पुँजीकोष गत आवको पुससम्मको तुलनामा घटेको छ । बाँकीको भने निकै न्यून मात्रै पुँजीकोष थपिएको छ ।

चालु आवको पुससम्ममा कुमारी बैंकको प्राथमिक पुँजीकोष ७.२३ प्रतिशतमा झरेको छ । त्यस्तै, हिमालयन बैंकको ८.५९ प्रतिशत, प्रभु बैंकको ८.७० प्रतिशत र एनआइसी एसिया बैंकको ८.८६ प्रतिशत छ । बैंकहरूले सार्वजनिक गरेको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार सबैभन्दा धेरै प्राथमिक पुँजीकोष स्ट्याण्डर्ड चार्टड बैंकको रहेको छ । यस बैंकको प्राथमिक पुँजीकोष चालु आवको पुससम्ममा १४.६१ प्रतिशत छ ।

गत आवको सोही अवधिमा यस बैंकको प्राथमिक पुँजीकोष १३.२६ प्रतिशत रहेकोमा चालु आवको पुससम्ममा १.३५ प्रतिशत विन्दुले बढेको हो । यस्तै कृषि विकास बैंकको प्राथमिक पुँजीकोष ११.४७ प्रतिशत रहँदा प्राइम कमर्सियल बैंकको १०.२८ प्रतिशत, ग्लोबल आइएमई बैंकको १०.१६ प्रतिशत, नेपाल बैंकको १०.०८ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १०.०५ प्रतिशत छ । यी बाहेकका बैंकहरूको १० प्रतिशतभन्दा कम प्राथमिक पुँजीकोष रहेको छ ।

राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिबाट पुँजी कोषको दबाबमा सहजीकरण गर्न विभिन्न किसिमका नीतिगत लचकता अपनाएको छ । मौद्रिक नीतिमार्फत असल वर्गमा वर्गीकरण भएको कर्जामा १.१ प्रतिशत मात्रै कर्जा नोक्सानी व्यवस्था गर्दा हुने व्यवस्था गरेको थियो । यसअघि १.२ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने प्रावधान थियो ।

यस्तै भाखा नाघेको कर्जाको बक्यौता ब्याज असुल भएर ६ महिनासम्म नियमित भएमात्रै असल वर्गमा वर्गीकरण गर्न पाइने व्यवस्था छ । सोही वर्गमा वर्गीकरण गर्दा कर्जा नोक्सानी व्यवस्था पनि त्यसै अनुसार गर्नुपर्ने व्यवस्था थियो । त्यसलाई संशोधन गर्दै केन्द्रीय भाखा नाघेको कर्जा असुल भएर नियमित हुनासाथ सूक्ष्म निगरानीमा राखेर ५ प्रतिशत मात्रै कर्जा नोक्सानी व्यवस्था गर्दा हुने र ६ महिनासम्म नियमित भए असल वर्गमा वर्गीकरण गर्न सक्ने व्यवस्था गरेको छ ।

यसबाट पुँजीकोषको अवस्थामा सुधारको अपेक्षा गरिएपनि सुधार भने देखिएको छैन । निजी क्षेत्रबाट कर्जाको मागसमेत हुन नसकेको परिदृष्यमा बैंकहरूमा लगानीयोग्य रकम अहिले पर्याप्त छ । यतिहुँदा हुँदै पनि बैंकहरूले कर्जा लगानीका लागि अगाडि बढ्न सकेका छैनन् । कर्जा लगानीका लागि एकातिर माग नै हुन सकेको छैन भने अर्कातिर प्राथमिक पुँजीकोषको सीमाका कारण बैंकहरूले कर्जा दिन सक्ने क्षमता पनि घट्दो क्रममा रहेकाले उनीहरूले पनि लचक भएर कर्जा दिने अवस्था नबनेको बैंकर बताउँछन् ।

राष्ट्र बैंकको नियम अनुसार बैंकहरूको जोखिम सम्पत्तिको तुलनामा प्राथमिक पुँजी अनुपात कम्तिमा ८.५ प्रतिशत हुनुपर्छ । यस्तो अनुपात एक आर्थिक वर्षको कुनै पनि त्रैमासमा तोकिएको भन्दा कम भएमा बैंकहरूको लाभांश वितरणमा समेत रोक लगाएको छ । यस आधारमा गत वर्षको नाफाबाट कुमारी बैंक, एनआइसी एसिया बैंक, प्रभु बैंकले लाभांश वितरण गर्न पाएका थिएनन् । यस त्रैमासमा पनि कुमारी बैंकको प्राथमिक पुँजी कोष नियामकीय प्रावधानभन्दा कम छ । यता, पुँजी कोष अनुपात भने ११ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्