अनुदानको मल वितरणमा वृद्धि

दाङ– चालु आर्थिक वर्षको पुस मसान्तसम्म अनुदानको रासायनिक मल वितरणमा वृद्धि भएको छ । गत वर्षको ६ महिनामा युरिया, डिएपी र पोटास गरी तीन हजार पाँच सय ९० टन अनुदानको रासायनिक मल वितरण भएकोमा चालु आवको सोही अवधिमा ६ हजार चार सय तीन टन मल वितरण भएको हो ।
गत वर्षभन्दा धेरै मल वितरण भएको कृषि सामग्री कम्पनी लिमिटेड घोराही शाखाका प्रमुख टोपाराम गौतमले बताए । ‘गत आर्थिक वर्षको पुस मसान्तभन्दा यस आर्थिक वर्षको सोही अवधिमा कुल बिक्रीको ७७ प्रतिशतभन्दा बढी मल बिक्री भएको छ’ उनले भने, ‘हिउँदे सिजनमा दाङमा मल अभाव महसुस नै भएन ।’ उनले वर्षे सिजनका लागि पनि किसानले मौज्दात राखेकोले मल अभाव नहुने बताए । ‘बर्खे सिजनका लागि करिब ५० प्रतिशत युरिया मल पुर्याइसकेको छ ।
हिउँदमा पानी नपरेको कारण सिँचाइ नहुने ठाउँमा गत वर्ष जति पनि यस वर्ष मल प्रयोग नभएको उनले बताए । यस वर्ष मल अभाव हुने अवस्था नदेखिएको उनको भनाइ छ । ‘माघ अन्तिम साताबाट पुन: नयाँ कोटा अनुसार डिएपी बिक्री गर्ने तयारी छ । युरियाको कोटा डिएपीपछि आउँछ,’ उनले भने, ‘यही तरिकाले २/३ लट मल आए बर्खामा अभाव हुँदैन ।’
घोराही, लमही र तुलसीपुरमा रहेका कृषि सामग्री कम्पनी लिमिटेडका शाखा कार्यालयहरूबाट यस वर्ष चार हजार ६ सय ११ टन युरिया वितरण भएको छ । गत वर्ष सोही अवधिमा एक हजार आठ सय टन युरिया वितरण भएको थियो । डिएपी पनि गत वर्षभन्दा यस वर्षको ६ महिनामा बढी वितरण भएको छ ।
अहिले कृषि सामग्री कम्पनी लिमिटेडको जिल्लामा रहेका तीनवटा शाखा कार्यालयबाट १० वटै स्थानीय तहमा कोटा अनुसार सहकारीमार्फत मल बिक्री हुँदै आएको छ । कृषि सामग्री कम्पनी लिमिटेडको लमही शाखाले देउखुरीका लमही नगरपालिका, गढवा गाउँपालिका, राप्ती गाउँपालिका र राजपुर गाउँपालिकाका ४६ सहकारीमार्फत मल वितरण गर्दै आएको छ ।
बढ्दो क्रममा वितरण
गत आव २०८०/८१ मा दाङको १० वटै स्थानीय तहमा कृषि सामग्री कम्पनी लिमिटेडका तीनवटै शाखा र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट नौ हजार चार सय ६४ टन युरिया, ६ हजार आठ सय ६८ टन डिएपी र तीन सय ९२ टन पोटास वितरण भएको थियो । जिल्लामा समग्र मल वितरणको अवस्था हेर्दा युरिया, पोटास र डिएपी आर्थिक वर्ष २०७९/८० मा भन्दा गत आर्थक वर्षमा दुई हजार तीन सय टन मल बढी वितरण भएको थियो ।
आर्थिक वर्ष २०७९/८० मा सात हजार ६ सय ४६ टन मल वितरण भएकोमा गत आर्थिक वर्ष २०८०/८१ मा १० हजार ६ टन मल वितरण भएको कार्यालयले जानकारी दिएको छ । आव २०७९/८० मा पाँच हजार २० टन युरिया वितरण भएकोमा गत आर्थिक वर्षमा पाँच हजार आठ सय ४९ टन युरिया वितरण भएको थियो । त्यसैगरी अघिल्लो वर्ष दुई हजार चार सय ५२ टन डिएपी वितरण भएकोमा गत आर्थिक वर्षमा तीन हजार आठ सय ६० टन डिएपी वितरण भएको थियो ।