धौलागिरिमा मेडिकल कलेज खोल्छौं: मन्त्री पाठक

पर्वत– गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले चिकित्सकले सरुवा हुँदा दुर्गम क्षेत्र रोज्नेगरी मन्त्रालयले तयारी गरेको बताएका छन् ।
प्रदेश अस्पताल पर्वतको ३५औँ वार्षिकोत्सव समारोहलाई बुधवार सम्बोधन गर्दै मन्त्री पाठकले चिकित्सक तथा स्वास्थ्यकर्मी सुगम क्षेत्रमा दरबन्दीभन्दा बढी हुने तर विकट क्षेत्रका दरबन्दी नै खाली हुने प्रचलनलाई तोड्न मन्त्रालयले नीतिगत व्यवस्था गर्न थालेको बताए । अब सुगम क्षेत्रमा काम गर्नेभन्दा दुर्गम क्षेत्रमा काम गर्ने चिकित्सकलाई तलबसुविधा, बढुवा तथा अन्य प्रोत्साहनमा प्राथमिकता दिने तयारी गरिएको उनले बताए ।
राज्यवाट प्रवाह हुने सवैखालका आधारभूत स्वास्थ्य सेवा हरेक क्षेत्रका नागरिकले समान रूपमा पाउनुपर्छ भन्ने उद्देश्यले स्वास्थ्य क्षेत्रमा ब्यापक सुधारमा सक्रिय भएर लागेको पाठकले बताए । मन्त्रालयको काम सकिएपछि दुर्गम क्षेत्र जान चाहनेको संख्या उल्लेख्य हुने मन्त्री पाठकको दाबी छ । ‘हामीले प्रोत्साहनमूलक कार्यक्रम ल्याएपछि मुस्ताङ, मनाङ, गोरखाका विकट गाउँमा पठाइदिनुहोस् भन्नेको लाइन लाग्नेछ,’ उनले भने । मन्त्री पाठकले साविकको धौलागिरि क्षेत्रमा मेडिकल कलेज सञ्चालनको तयारी भइरहेको बताए ।
‘पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमध्ये एक जिल्लामा मेडिकल कलेज स्थापना गरिने र त्यो आफ्नै पालामा सुरु हुने उनको दाबी छ । मैले संघीय स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत भेटेर माग गरेको छु, धौलागिरिमा सुविधासम्पन्न मेडिकल कलेज अबको केही महिनामै सञ्चालन गर्नेछाैं ।’ सुरुमा स्टाफनर्स पढाइ हुने उनको भनाइ छ । मन्त्री पाठकले राज्यले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय बजेटको व्यवस्थपन गर्नुपर्ने बताए ।
नागरिकलाई सर्वसुलभ रूपमा स्वास्थ्य सुविधा दिनुपर्ने बताउँदै यसमा तीनै तहका सरकारको ध्यान जानुपर्ने उनको भनाइ छ । मन्त्री पाठकले पर्वत अस्पताललाई ५० शैयाको मान्यता दिने तयारी भइरहेको बताए । अहिले १५ शैयामा भएर पनि ७० बेड सञ्चालन गरिरहेको अस्पताललाई केही समयभित्रै ५० शैयामा स्तरोन्नति गरिने बताए । पर्वत जिल्लामात्र नभएर धौलागिरि क्षेत्रकै नागरिकले उपचार गर्ने भएकाले यसको स्तरोन्नतिलाई प्राथमिकता दिने उनको भनाइ छ । उनले यसै महिनामा २५ शैयाको धौलागिरि आयुर्वेदिक अस्पताल स्थापना गरिने जानकारी दिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका उपप्रमुख सोम जिसी, मोदी गाउँपालिकाका अध्यक्ष हीरादेवी शर्मा, फलेवास नगरपालिकाका उपप्रमुख शोभा क्षेत्री, प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मालगायतले शुभकामना व्यक्त गर्दै अस्पतालको गुणस्तरीय सेवा विस्तारका लागि आवश्यक सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता जनाए । वार्षिकोत्सवको अवसरमा उत्कृष्ट कर्मचारी, कार्यालय सहयोगी, सहयोगदातालाई सम्मान तथा विभिन्न खेलकुद प्रतियोगिताका विजयीलाई पुरस्कार वितरण गरिएको थियो ।