यस वर्ष ठूला कष्टम हायरिङ सेन्टर चलाइने
साढे २२ करोडको कृषि औजार वितरण

धनगढी– सुदूरपश्चिम प्रदेशको कृषि विकास निर्देशनाले पाँच वर्षमा साढे २२ करोड कृषि औजार वितरण गरेको छ । निर्देशनालयले आर्थिक वर्ष २०७६/०७७ देखि २०८०/०८१ सम्म दुई हजार २३३ जना किसानलाई कृषि औजार खरिदका लागि ११ करोड एक लाख ५० हजार रुपैयाँ अनुदान दिएको हो । सो अवधिमा २२ करोड ६५ लाख ४१ हजार रुपैयाँको कृषि औजार खरिदका लागि निर्देशनालयले किसानसँंग सम्झौता गरेको थियो । निर्देशनालयले किसानलाई औजार खरिद सम्झौता रकमको ५० प्रतिशत अनुदान दिएको निर्देशनालयका अधिकृत केशवराज पाण्डेयले बताए ।
उनका अनुसार किसानले ११ करोड ५४ लाख ९१ हजार रुपैयाँ आफैले बेहोरेका छन् । पावर टिलर, मिनि टिलर, कम्बाइन राइस मिल, मल्टि क्रम थ्रेसर, हिले चक्का, उखु पेल्ने मेसिन, मिनि मल्टिक्रप थे्रेसर, कर्न सेलर, स्याउ र च्याउ सुकाउने ड्रायर, विद्युतीय कर्न सेलर, चुक पेल्ने मेसिन, रिपर, रोटाभेटर, डिस्क हैरो, आलु लगाउने मेसिन, खाडल खन्ने मेसिन, धान थ्रेसर, गहुँ थ्रेसरलगायतका कृषि औजार खरिद गर्न अनुदान दिइएको निर्देशनालयले जनाएको छ । निर्देशनालयले उपलब्ध गराएको तथ्यांकअनुसार सबैभन्दा बढी किसानले मिनिटिलर र पावर टिलर खरिद गरेका छन् ।
सबैभन्दा धेरै २०८०/०८१ मा ८८३ जना किसानलाई ६ करोड २५ लाख ८८ हजार रुपैयाँको कृषि औजार खरिद गर्न सम्झौता भएकोमा दुई करोड ९६ लाख ७९ हजार रुपैयाँ निर्देशालयले अनुदान दिएको छ । २०७९/०८० मा ४९७ जना किसानलाई पाँच करोड ३२ लाख ४५ हजारको औजार खरिद गर्न निर्देशनालयले दुई करोड ६१ लाख ५७ हजार रुपैयाँ अनुदान दिएको छ । २०७८/०७९ मा १२६ जना किसानलाई दुई करोड १० लाख २३ हजारको औजार खरिद गर्न एक करोड तीन लाख रुपैयाँ अनुदान दिएको थियो ।
२०७७/०७८ मा ३८२ जना किसानलाई ६ करोड पाँच लाख ८४ हजारको औजार खरिद गर्न दुई करोड ९८ लाख ९१ हजार रुपैयाँ अनुदान दिएको थियो । २०७६/०७७ मा २४५ जना किसानलाई दुई करोड ८२ लाखको कृषि औजार खरिद गर्नका लागि निर्देशनालयले एक करोड ४१ लाख रुपैयाँ अनुदान दिएको थियो । अधिकृत पाण्डेयले किसानलाई सहकारी, कृषि समूह र एकल रूपमा कृषि औजार खरिदका लागि अनुदान वितरण गरिएको बताए । निर्देशनालयले कृषि औजारले कृषि कार्य सहज हुनुका साथै उत्पादन वृद्धिमा समेत टेवा पुगेको दाबी गरेको छ ।
पाँच वर्षसम्म कृषि औजार खरिदमा अनुदान दिएको निर्देशनालयले चालु आर्थिक वर्षमा कृषि यान्त्रीकरणको मोडल परिवर्तन गरेको छ । कृषि विकास निर्देशनालयका निर्देशक खगेन्द्र शर्माले किसानलाई स्थानीय तह, प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना र रानी जमरा कुलरिया सिँंचाइ आयोजनालगायतले पनि कृषि औजार खरिदमा अनुदान दिंँदै आएको र किसानको पनि गुनासो रहेकोले कृषि यान्त्रीकरणको मोडल परिवर्तन गरिएको जनाए ।
उनले चालु आर्थिक वर्षमा कष्टम हायरिङ सेन्टर स्थापना गरी सञ्चालन गर्ने कार्यक्रम ल्याइएको बताए । उनले कञ्चनपुर जिल्लामा दुई वटा उखु हार्बेष्टर खरिद गरी सञ्चालन गर्ने, कैलाली र कञ्चनपुर जिल्लामा साझेदारीमा कष्टम हायरिङ सेन्टर सञ्चालन गर्ने र १० वटा कृषि एम्बुलेन्स सञ्चालन गर्ने कार्यक्रम ल्याइएको बताए । यी कार्यक्रमसमेत सञ्चालन गर्ने सहकारीको ५० प्रतिशत लगानी रहने र निर्देशनालयको ५० प्रतिशत अनुदान दिने निर्देशक शर्माले बताए ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले उखु हार्बेष्टर खरिद सहयोगका लागि दुई करोड, कष्टम हायरिङ सेन्टर सञ्चालन गर्न कम्बाइन हार्बेष्टर खरिद तथा सञ्चालनका लागि एक करोड र कृषि उत्पादन ढुवानी गर्न कृषि एम्बुलेन्स खरिदका लागि एक करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । यी कार्यक्रम कार्यान्वयनका लागि सूचना जारी भइसकेको बताउँदै निर्देशक शर्माले कष्टम हायरिङ सेन्टर सञ्चालनका लागि माग नपरेमा रकमान्तर गरी यसै आर्थिक वर्षमा पुन: किसानलाई औजार खरिद गर्न अनुदान दिइने बताए ।