मन्त्री केसीद्वारा योजना अनुगमन
समयमै पुल निर्माण सम्पन्न गर्न व्यवसायीलाई निर्देशन

पोखरा– गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले मन्त्रालय अन्तर्गतका लामो समयसम्म सम्पन्न नभएका समस्याग्रत योजनालाई आफूले चाँडै सम्पन्न गर्नतर्फ केन्द्रित गरेको बताए । मन्त्री केसीले तनहुँ शुक्लागण्डकीका दुई महत्त्वपूर्ण निर्माणाधीन योजनाको अनुगमन गरे पश्चात लामो समयसम्म सम्पन्न नभएका समस्याग्रत योजनालाई आफूले चाँडै सम्पन्न गर्नतर्फ केन्द्रित गरेको बताएका हुन् ।
समयमै विकास निर्माणका योजना सम्पन्न नहुँदा जनताले दु:ख पाउने गरेको बताउँदै उनले योजनालाई आर्थिक अभाव हुन नदिने प्रतिबद्धता जनाए । लामो समयदेखि निर्माणमा ढिलाइ भएको प्रदेशको एक निर्वाचन क्षेत्र एक रणनीतिक सडकअन्तर्गत दुलेगौंडा–हर्कपुर मोटरमार्ग र वडा नंं ५ र ८ जोड्ने सेती नदीमा निर्मित मोटरेबल पुलको बुधबार अनुगमन गरेका थिए । सो अवसरमा मन्त्री केसीले निर्माण व्यवसायीका कारण ढिलाइ भएका ती योजनालाई काममा गति दिन निर्माण व्यवसायीलाई निर्देशन दिए ।
विसं २०५२ सालमा ट्रयाक खोलिएको दुलेगौडा–हर्कपुर सडक १०.१८ किलोमिटर सडक कालोपत्रेका लागि विसं २०७६ कात्तिक ४ गते सम्झौता भई २०७६ साल मंसिर २४ गते शिलान्यास गरिएको थियो । २०७८ माघ १० गतेभित्र सम्पन्न हुनुपर्ने सडक पटकपटक म्याद थप गरिएको छ । आगामी असारसम्म म्याद रहेको उक्त खण्डको प्रगति हालसम्म ४१ प्रतिशत रहेको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख रवीन्द्र तिवारीले बताए ।
उक्त खण्ड कालोपत्रेका लागि एमएस शंकरमाली निर्माण सेवाले २५ करोड १० लाख ६० हजारमा सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो । शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका हुँदै व्यास नगरपालिकासँग जोडिने उक्त खण्डको दूरी २३ किलोमिटर छ । पहिलो चरणमा १० किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का सम्झौता भएको हो । ट्रयाक खुलेको २४ वर्षपछि स्तरोन्नति सुरु हुँदा स्थानीयबासी खुसी भएका थिए । तर कामको प्रगति नहुँदा स्थानीबासीले चुनावको बेलामात्र सडकको विषय बनाउने गरेको भन्दै टिप्पणी गर्ने गरेका छन् ।
स्थानीय एवम् दुलेगौंडा– हर्कपुर मोटरमार्ग उपभोक्ता समितिका पूर्वअध्यक्ष देउबहादुर गुरुङले यस क्षेत्रकै सबैभन्दा पुरानो सडक समयमै सम्पन्न नहुँदा स्थानीय र यात्रुले धुलो र हिलोको मार खेपेको बताउँदै चाँडो सम्पन्न गराउन ध्यानाकर्षण गराए । निर्माण व्यवसायी श्याम लामाले कोभिडसँगै निर्माण कम्पनीलाई आर्थिक रूपमा नोक्सान परेको बताउँदै आर्थिक समस्याका कारण काम सम्पन्न गर्न समस्या परेको बताए । उनले कामदारको संख्या बढाएर समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाए ।
गण्डकी प्रदेशका पूर्वआर्थिक मामिलामन्त्री किरण गुरुङ, मन्त्रालयका सचिव कमलकुमार अधिकारीसहित पुगेका उनले सरकारको तर्फबाट कुनै समस्या भए सहजीकरण गर्न तयार रहेको बताउँदै तत्काल कामदार बढाएर प्रगति बढाउन आग्रह गरे । यसैगरी शुक्लागण्डकी–५ र ८ स्थित बेलचौतारा–मुस्ताङ क्याम्प जोड्ने मोटरेबल पुलको कामले गति नलिएको भन्दै उपभोक्ता समितिले मन्त्री केसीलाई ध्यानाकर्षण गराए ।
सुरुको सम्पन्न गर्नुपर्ने मिति गत वर्षको जेठ २० गते भएकोमा २०८२ मंसिर २० सम्म म्याद थप भएको छ । कामको प्रगति करिब ३० प्रतिशतमात्र छ । २०७७ मंसिर २४ मा मूल्य अभिवृद्धिसहित १५ करोड ५९ लाख रुपैयाँमा पुल निर्माणका लागि महावीर खिम्ती अञ्जना पराजुली जेभीले सम्झौता गरेको थियो । टायल फाउण्डेसनमा निर्माण हुने पुल १५०.४ मिटर लामो रहने छ । चारवटा स्पानमध्ये हाल एक स्पानमात्र ढलान भएको छ । निर्माण कम्पनीलाई हालसम्म आठ करोड १३ लाख भुक्तानी भइसकेको छ ।
पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख तिवारीले कार्यालयको तर्फबाट काम गर्न कुनै समस्या नरहेको प्रष्ट पारे । उनका अनुसार वडा नंं. ८ तर्फ तीन वटासम्म स्पान थप भएमा ४०.२५ प्रतिशत अर्थात् ६ करोड २७ लाख रुपैयाँ बजेट थप गर्नुपर्ने देखिएको छ । स्थानीय बाबुराम कार्कीले पुल निर्माणको कामले गति नलिँदा वडा नं. ८ तर्फ कटान बढ्दै गएको बताए । उनले स्थानीय स्तरबाट निर्माण व्यवसायीलाई सबै सहयोग गर्दै आए पनि कामले गति लिन नसकेको गुनासो गरे ।