१५ वर्षमा १ हजार २९१ किलोमिटर बन्यो हुलाकी राजमार्ग

काठमाडौं– सरकारले महत्वपूर्ण आयोजनाका रुपमा लिएको हुलाकी सडक निर्माण सुरु भएको १५ वर्षमा १ हजार २९१ किलोमिटर बनेको छ ।
यो आयोजनामा अझै ५ सय ६३ किलोमिटर सडक निर्माण गर्न बाँकी छ । यस्तै, सडकमा पर्ने १ सय ८ पुल बनाउनु पर्नेछ । अहिलेसम्म हुलाकी राजमार्गको भौतिक प्रगति ६९.५२ प्रतिशतमात्र पूरा भएको छ ।
मुलुकका अन्य परियोजनाजस्तै यसको निर्माण पनि कछुवा गतिमा छ । आर्थिक वर्ष २०६६–६७ मा सुरु भएको आयोजना २०८३–८४ मा पूरा गर्ने लक्ष्य छ । तराई–मधेश जोड्ने हुलाकी राजमार्ग सरकारले १५ औं पञ्चवर्षीय योजनाअन्र्तगत आर्थिक वर्ष २०७९–८० मा सम्पन्न गर्ने लक्ष्य लिएको थियो । कोभिड महामारी र यस वर्षको वर्षाका कारण निर्माण सम्पन्न हुने समय पछि धकेलिएको छ । आयोजनाको कार्यान्वयन हुने क्षेत्र तराई–मधेशका २१ जिल्ला तथा लाभान्वित जनसंख्या ८० लाख रहेको छ ।
आर्थिक वर्ष २०७२–७३ मा हुलाकी राजमार्ग निर्देशनालय स्थापना गरिएको थियो । आयोजनाको प्रारम्भिक अनुमानित लागत ४७ अर्ब २४ करोड रुपैयाँ थियो । संशोधित लागत ६५ अर्ब २० करोड रुपैयाँ रहेको छ।
हुलाकी राजमार्ग निर्देशनालयका आयोजना निर्देशक कुबेर नेपालीका अनुसार विगतमा कोभिड महामारी र साइट क्लियर नहुँदा काममा ढिलाइ भएको हो । उनले भने, ‘पछिल्लो समय भने कार्यप्रगति सन्तोषजनक रहेको छ । पर्सा र चितवन जिल्लामा राष्ट्रिय निकुञ्ज पर्ने क्षेत्रमा रेखांकन गरेर सडक निर्माणको लागि वातावरणीय प्रभाव मूल्यांकन र विस्तृत आयोजना प्रतिवेदन तयारी चरणमा रहेको छ ।’
उनका अनुसार करिब ७० किलोमिटर सडक खण्डको ठेक्का लाग्न बाँकी रहेको छ । डिपिआर र इआइए अध्ययनमा रहेकाले ठेक्का लाग्ने चरणमा रहेको छ । सीमित साधनस्रोत र प्रक्रियागत ढिलाइले आयोजनामा विलम्ब भएको हो । कपिलवस्तु–दाङ खण्डमा डिपिआर पूरा भएर इआइए र ठेक्का व्यवस्थापन गर्न बाँकी रहेको आयोजनाको भनाइ छ । बाँकी १०८ पुल निर्माणको चरणमा रहेको निर्देशक नेपालीले बताए । मागअनुसार बजेट नआउँदा र निर्माण कम्पनीको भुक्तानी समयमा गर्न नसकिँदा पनि आयोजनाले गति नलिएको उनको भनाइ छ ।
‘डेढ अर्ब रुपैयाँको बिल फरफारक गर्न बाँकी छ । बजेट विनियोजन भयो भने समयमा काम पूरा हुने विश्वास छ,’ उनले भने । चालु आवमा ७५ किमी सडक कालेपत्रे र ९ वटा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएकोमा पुससम्म ४२ किमी पूरा भएको छ । यो वर्ष १० अर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य रहेकोमा ३ अर्ब खर्च भएको निर्देशनालयको भनाइ छ । हुलाकी राजमार्गको कुल लम्बाइ एक हजार ८५७ किमी छ । मुख्य सडक ९ सय ४५ किमी विस्तार हुनेछ भने २ सय ५० वटा पुल बन्नेछन्। १ सय ४२ वटा पुल निर्माण सम्पन्न भएको छ । सडकतर्फ १२ सय ९१ किमी सकिएको छ ।
२० वर्षे सडक गुरुयोजना (सन् २००२–२०२२)ले तीनवटा पूर्वपश्चिम राजमार्गको परिकल्पना गरेको छ । जसमा महेन्द्र राजमार्ग, मध्यपहाडी राजमार्ग र हुलाकी राजमार्ग पर्छन् । सडक यातायात नखुल्दा तराई क्षेत्रमा राणाकालसम्म हुलाक वा सञ्चारका कर्मचारीले चिठ्ठीपत्र लिएर हिँड्ने गोरुगाडा वा घोडेटो बाटाहरु क्रमशः माटे र खण्डाश्मित सडकका रूपमा विकास गरिँदै आएको थियो । यिनै सडक खण्डहरूलाई जोडेर मेचीदेखि महाकाली जोड्ने राजमार्गका रूपमा विकास गर्ने परिकल्पना गरिएको छ ।
सडक गुरुयोजनामा हुलाकी राजमार्गसमेत ३१ वटा अन्य उत्तर–दक्षिण सडकको स्तरोन्नति गर्नुपर्ने आवश्यकता औंल्याइएको छ । सरकारले यी सडकको स्तरोन्नति गर्न हुलाकी राजमार्ग आयोजना खडा गरेर आव २०६५–६६ बाट काम थालेको थियो ।
हुलाकी राजमार्ग आयोजनाअन्तर्गत सम्पूर्ण सडक सञ्जालको कुल लम्बाइ १ हजार ८ सय ५७ किमि रहेको छ । यसमध्ये पूर्व–पश्चिम सडकको लम्बाइ ९ सय ७५ किमि रहेको छ भने उत्तर–दक्षिण जोडिने सहायक सडकको लम्बाइ ८ सय ८२ किमि छ । सरकारले हुलाकी राजमार्गलाई स्तरोन्नति गरी पूर्व–पश्चिम जोड्ने वैकल्पिक राजमार्गको रूपमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित आयोजना सुरु गरेको थियो । हुलाकी राजमार्गलाई सरकारले राष्ट्रिय गौरवको आयोजना समावेश गरेको छ ।