Logo

संस्थागत समृद्धिमा कर्मचारीको योगदान

जनशक्ति
कम्पनी होस् या कुनै पनि संस्था, यसको मेरुदण्ड भनेकै यसमा कार्यरत जनशक्ति हो । संस्था अमूर्त चिज हो भने मूर्तरूप दिने या संस्थालाई प्राण वायु भर्ने कर्मचारी हुन् । सबल, सक्षम र सीपयुक्त दक्ष कर्मचारीले नै यसको लक्ष्य तथा प्रगति प्राप्त गर्न आवश्यक मार्ग प्रशस्त गर्न सक्छन् । सकारात्मक सोच, कार्यस्थलमा ऊर्जा र कार्य गर्ने हुटहुटीले मात्र संस्थाले आफ्नो लक्ष्य प्राप्त गर्न सक्छ । यसका लागि संस्थामा असल सुशासन, असल कार्य संस्कृति र मौद्रिक तथा गैरमौद्रिक प्रोत्साहन प्रदान गरिरहनुपर्छ ।

कर्मचारीको जीविकोपार्जनमा सहजता भएन भने उसले गर्ने कार्य र योगदानमा उल्लेख्य परिवर्तन नआउन सक्छ, जसले गर्दा तोकिएको लक्ष्य प्राप्त गर्न संस्थालाई कठिनाइ हुन्छ । यसको अर्थ कर्मचारीले पनि सधैँ संस्थाबाट पाउने अभिलाषा मात्र पनि राख्नु हुँदैन । संस्थालाई कार्य योगदान गर्‍यो भने पक्कै पनि यसको साख तथा मुनाफामा वृद्धि हुन सक्छ । मुनाफा वृद्धिसँगै आयका स्रोत वृद्धि हुँदै जान्छन् भन्ने कुरालाई कर्मचारीले कहिल्यै भुल्नु हुँदैन । कतिपय कर्मचारीमा कार्य नगर्ने तर संस्थाबाट अधिकतम सुविधा खोज्ने प्रवृत्ति देखिन थालेको छ ।

योगदानमा आधारित सेवासुविधाले कार्य गर्न प्रोत्साहित गर्ने हुँदा त्यसतर्फ पनि संस्थाले दृष्टि पुर्‍याउनुपर्छ । कर्मचारी भनेका सेवा क्षेत्रमा अपेक्षित सेवा प्रवाह गर्ने, निर्माण क्षेत्रमा पूर्वाधार निर्माणदेखि विकास निर्माणका कार्य समयमै गर्ने, गराउने प्रयोजनका लागि उपयोग हुन्छन् । यसका लागि हरेकले आफूसँग भएको ज्ञान, सीप र क्षमतालाई यथेष्ट रूपमा प्रयोग गर्नु, गराउनुपर्छ ताकि सरकारदेखि लिएर संस्थाले लिएका लक्ष्य तथा प्रगति समयमै हासिल होस् ।

जनशक्ति व्यवस्थापन
खासमा जनशक्ति व्यवस्थापन प्रक्रिया कर्मचारीको भर्ना प्रक्रियाबाट सुरु हुन्छ । मानव संसाधनको उचित प्रयोगले उत्पादकत्वमा वृद्धि हुनुका साथै ग्राहक सेवा प्रत्यक्ष रूपमा प्रभावित हुन्छन् । वास्तवमा संस्थाका लागि आवश्यक जनशक्तिको पहिचान गरी सोहीअनुसार छनोट गर्नुपर्छ । शैक्षिक योग्यता, अनुभव र सीपबाट उपयुक्त ठाउँमा सही जनशक्तिको व्यवस्थापन गरी कार्य गराउनुपर्छ । कर्मचारीको ज्ञान, सीप र क्षमतालाई विभिन्न तालिमका माध्यमबाट निखार्दै लैजानुपर्छ । खासगरी कर्मचारीमा सकारात्मक सोचको विकास गराई जुनसुकै परिस्थितिमा पनि सेवा प्रवाहलाई निरन्तरता दिन लगाउन सक्नुपर्छ । कर्मचारीले पनि अब काम पाइहालेँ, काम नगरे पनि तलब आइहाल्छ भन्ने सोच कहिल्यै राख्नु हुँदैन ।

एउटाको नकारात्मक सोचले उसको संगतमा रहेका अन्य सकारात्मक सोच भएकालाई समेत प्रभाव पार्छ, जसले गर्दा समग्र उत्पादकत्व तथा सेवा प्रवाह प्रवाहित हुन पुग्छ । यसका साथै संस्थाले पनि हरेक कर्मचारीको गतिविधिलाई नियाल्दै आवश्यक सहजीकरण तथा उत्प्रेरणा जगाइराख्नुपर्छ । उत्प्रेरणा भन्ने चिज एकपटकले लामो समयसम्मलाई पुग्दैन । यसलाई आवश्यकताअनुसार विभिन्न किसिमले उपलब्ध गराउँदै लैजानुपर्छ । खासगरी कर्मचारीमा पुरस्कार र दण्ड–सजायको व्यवस्थालाई यथोचित रूपमा समयमै प्रयोग गर्न सकियो भने दुवै पक्षलाई फाइदा पुग्छ । यदि यसमा कमी छ भने कर्मचारी नियन्त्रणभन्दा बाहिर जाने, कामचोर हुने, कार्य गर्ने तथा नगर्नेबीच तात्विक भिन्नता नहुने र काम गर्ने कर्मचारीमा निराशाजनक स्थिति पैदा भई संस्थाका कार्यहरू नै प्रभावित हुन पुग्छन् ।

कर्मचारीलाई समान अवसर प्रदान गर्ने र उनीहरूले पनि त्यस्ता अवसर पालन गरी जुनसुकै क्षेत्रमा पनि सक्षम छु भन्ने यकिन दिलाउन सक्नुपर्छ । उपयुक्त नवीनतम प्रविधिको प्रयोगले न्यून कर्मचारीको संलग्नतामा पनि अधिकतम कार्य प्रगति वा सेवा प्रवाह गर्न सकिन्छ । तसर्थ, कर्मचारी तथा संस्था दुवैले यसतर्फ ध्यान दिन जरुरी देखिन्छ, कम लागत तथा खर्चमा कार्य सम्पादन गर्न सकिने हुँदा प्रविधि र सफ्टवेयरको प्रयोगलाई स्थान दिन आवश्यक हुन्छ । हरेक जनशक्तिले संस्थामा आउन सक्ने विभिन्न किसिमका जोखिम आकलन गरी समयमै जोखिम व्यवस्थापनतर्फ सचेत रहनुपर्छ । हरेक कर्मचारीले आफ्नो कर्तव्य तथा दायित्वलाई ध्यान दिई सुरक्षित तवरले उत्पादकत्व बढाउने कार्यमा अग्रसर रहनुपर्छ ।

कर्मचारीको स्वास्थ्य सुरक्षाका विषयमा संस्थाले विभिन्न किसिमका बीमा योजना ल्याइदिनुपर्छ, जसले गर्दा कर्मचारीलाई आफू सदैव सुरक्षित छु र केही भइहाले उपचार खर्च संस्थाले बेहोर्छ भन्ने सोचका साथ उत्प्रेरित हुन सक्छन् । ग्रामीण क्षेत्रमा जनशक्ति व्यवस्थापन चुनौतीपूर्ण रहेको छ । नेपालजस्तो विकासोन्मुख मुलुकमा विविध भौगोलिक अवस्थाका कारण दुर्गम पहाडी क्षेत्रमा सेवा प्रवाह तथा उत्पादनमा कमी देखिन्छ । समयमै जनशक्तिको उपलब्धता नहुनु, भए पनि विभिन्न बहानामा सुगम क्षेत्रमा झर्ने र आफ्नो कार्यस्थलमा जान नमान्ने प्रवृत्ति पनि देखिन्छ । तसर्थ, सबैलाई समान रूपमा र तोकिएको समय सीमाभित्र सरुवा हुने व्यवस्थाको यकिन हुने हो भने जोकोही पनि सो स्थानमा जान तयार हुन्छ ।

जनशक्तिको योगदानको महत्व
सार्वजनिक होस् या प्राइभेट सेक्टरमा होस्, उपयुक्त रूपमा परिचालित उत्प्रेरित जनशक्तिले मात्र दिगो विकास, उत्पादकत्व, असल सेवा प्रवाह तथा समग्र रूपमा आर्थिक समृद्धिमा योगदान दिन सक्छ । यसमा कार्यरत संस्थाको स्पष्ट लक्ष्य, तोकिएको जिम्मेवारी, उपलब्ध प्रविधि तथा स्रोतसाधन र अपेक्षित कार्यस्थल तथा कार्य–वातावरणका साथ उच्च मनोबल र सकारात्मक सोचले पक्कै पनि व्यक्ति तथा संस्थालाई अगाडि बढाउन भूमिका खेल्छ । जनशक्तिमा नभइनहुने केही अपेक्षित गुणः

ज्ञान, सीप र क्षमताको विकासः कर्मचारीले विभिन्न माध्यमबाट स्वयंमा भएको ज्ञान, सीप र क्षमतालाई निखार्दै लैजानुपर्छ । विभिन्न अवसरको खोजी र संस्थाले प्रदान गर्ने विभिन्न अवसरको भरपुर प्रयोग गर्दै आफूलाई परिष्कृत गर्दै लैजानुपर्छ । ज्ञान यस्तो चिज हो जुन कहिल्यै पर्याप्त हुँदैन । समय, परिस्थितिअनुसार परिवर्तन र अद्यावधि भइरहन्छ । तसर्थ, आफ्नो कार्यक्षेत्रमा काम लाग्ने विषयवस्तु र ज्ञानका बारेमा सदैव नवीनतम खोजलाई जारी राख्नुपर्छ ।

सकारात्मक सोचः असल र सक्षम कर्मचारीको गुण भनेको सकारात्मक सोच नै हो । समय, परिस्थितिअनुसार सधैँ एकनासको कार्य–वातावरण नरहन सक्छ । यसका लागि जुनसुकै परिस्थितिमा पनि कार्य गर्छु भन्ने सकारात्मक सोच भयो भने अगाडि बढ्न सकिन्छ । संस्थाले उपलब्ध गराउने स्रोतसाधन यथोचित नहुन सक्छन्, उपलब्ध स्रोतसाधनको महत्तम उपयोग सुनिश्चित गर्दै जान सक्नुपर्छ । संस्थाले पनि कर्मचारीलाई उचित कार्य–वातावरण र न्यूनतम आवश्यक स्रोतसाधन तथा प्रविधिको उपलब्धता गराइदिनुपर्छ ।

संगतः सानादेखि ठूल्ठूला संस्थाहरूमा न्यूनतमदेखि अधिकतमसम्म कर्मचारी रहने गर्छन् । पूर्वदेखि पश्चिमबाट आएका विभिन्न भाषा, संस्कृति र कार्यसंस्कार भएका कर्मचारी संस्थामा भेटिन्छन् । सबैसँग एकै किसिमको सोच र कार्यक्षमता हुँदैन । तसर्थ, सकारात्मक सोच र कार्य गर्ने उत्साहित कर्मचारीको संगतमा ध्यान दिन जरुरी छ ।

उच्च मनोबल तथा कार्यक्षमताः आफूमा भएको क्षमतालाई अधिकतम प्रयोग गर्दै जानु नै हरेक कर्मचारीको जिम्मेवारी वा संस्थाप्रतिको दायित्व हो । उच्च मनोबल राखी कार्य गर्नाले अरूलाई समेत कार्य गर्ने प्रेरणा मिल्छ । नमुना कर्मचारीको रूपमा स्थापित गराउने हिसाबले कार्य गर्नुपर्छ । यसले गर्दा आफूभन्दा माथि जवाफदेही हुनुपर्ने पदमा बसेकाहरूको उच्च मूल्यांकन गर्दै वृत्ति विकासका लागिसमेत मार्गप्रशस्त गर्छ । उच्च मूल्यांकन, पुरस्कार होस् या बढुवा, जसले राम्रो गरिरहेको छ त्यसले नै अवसर प्राप्त गर्ने हुँदा हरेक क्षणमा चनाखो हुनु जरुरी छ ।

समयको परिपालनाः संस्थाले उपलब्ध गराएको समय सीमाभित्र तोकिएका कार्य सफल रूपमा सम्पादन गर्नुका साथै अन्य कार्यका लागि समेत सहयोग गर्ने बानीको विकास गर्नुपर्छ, जसले गर्दा एक कदम अगाडि बढ्न मद्दत मिल्छ । संस्थाको हितमा रहने गरी कार्य गर्न कहिलेकाहीं तोकिएको समयसीमाभित्र समयको अभाव हुँदा र कार्य प्रकृतिअनुसार बिदाका दिनमा पनि कार्य गर्नुपर्ने हुन सक्छ । यस्तो बेला पनि आफूलाई सहजीकरण गर्दै अगाडि बढ्नुपर्छ । धेरैजसो सरकारी निकायमा कार्यरत केही कर्मचारीको मनोवृत्ति कामचोर रहने पनि गर्छ । यस्तो प्रवृत्ति व्यक्ति तथा संस्था दुवैका लागि हानिकारक हुन्छ ।

परिवर्तनः कर्मचारीको कार्यशैलीले पक्कै पनि अपेक्षित परिवर्तन आउनुपर्छ । केही न केही रूपमा परिवर्तन आउन सकेन भने त्यसमा योगदान नरहेको पुष्टि हुन्छ । सकारात्मक परिवर्तन र मूल्यांकन गर्ने सूचकमा आएको परिवर्तनले संस्थाका विभिन्न पक्षमा वृद्धि देखिनुपर्छ ।

संस्थागत सुशासन र संस्थाको भूमिका
कर्मचारीका आकांक्षा र अपेक्षा परिपूर्तिका लागि संस्थाले पनि आफ्नो तर्फबाट केही न केही सुविधा वा सहुलियत दिनु जरुरी देखिन्छ । कार्यस्थलमा कर्मचारीलाई बढीभन्दा बढी सक्रिय गराई उत्पादकत्वमा वृद्धि, गुणस्तरीय सेवा प्रवाह, कर्मचारी सन्तुष्टि तथा तोकिएका लक्ष्य हासिल गर्न–गराउन संस्थाले जिम्मेवारी दिई सोहीअनुसार उत्प्रेरित गरिरहनुपर्छ । संस्थामा व्यवस्थापकीय तहमा सुशासन भयो भने तल्लो तहमा पनि सोलाई कार्यान्वयन गर्न सकिन्छ । मूल नै धमिलो छ भने पानी सङ्लिन समय लाग्छ भनेजस्तै संस्थाले सफलता हात पार्न कठिन हुन्छ । नियामक निकायका नीतिनियम तथा निर्देशनहरू हुबहु पालना गर्दै संस्थालाई पारदर्शी ढंगबाट अगाडि बढाउन संस्थामा सुशासन हुन जरुरी छ । योसँगै हरेक कर्मचारीलाई जिम्मेवार र दायित्वबोध गराई अधिकतम कार्य लिन सकियो भने मात्र सफलता प्राप्त गर्न सकिन्छ । यसका लागि विभिन्न किसिमका उपाय अपनाउन सकिन्छ, जस्तैः

स्पष्ट उद्देश्य र निजको भूमिकाबारे जानकारी गराउने । व्यक्तिगत लक्ष्य र संस्थागत लक्ष्यबीच तालमेल गराउँदै लैजाने । कार्य प्रगति भए–नभएको समयमै रिपोर्टिङ गर्ने । भए उत्प्रेरणा जगाउने र नभए किन भएन, कसरी सम्भव छ, अब कति समयमा गर्न सकिन्छ भनेर थप उत्प्रेरणासहित कार्य प्रोत्साहित गराउने । सामाजिक सम्बन्ध र समन्वय बढाउँदै लैजान सिकाउने । मैत्रीपूर्ण व्यवहार र खुला रूपमा कार्य गर्ने वातावरण भए कर्मचारी कार्य उत्प्रेरित हुँदै जाने देखिन्छन् । कर्मचारीलाई कार्य क्षेत्रअनुसारका तालिम प्रदान गर्दै जाने, क्षमता र रुचिअनुसारको कार्य भए प्रोत्साहित गर्दै लैजाने तथा नयाँ–नयाँ प्रविधिसँग साक्षात्कार गराउँदै कार्य सम्पादनमा जोड दिने । उत्कृष्ट कार्य गर्नेलाई हौसला पुरस्कृत गर्ने तथा गलत कार्य गर्नेलाई दण्ड–सजायको व्यवस्था गर्ने ।

समयमै यसो गर्नाले कर्मचारीहरूमा कार्य गर्ने सोचमा विकास हुन्छ, अन्यथा काम गर्ने र नगर्नेबीच कुनै भिन्नता नहुँदा काम गर्ने कर्मचारी निरुत्साहित हुने, कार्य–वातावरण बिग्रँदै जाने हुन्छ; जसले गर्दा संस्थालाई प्रत्यक्ष रूपमा असर गरिरहेको हुन्छ । सकेसम्म कार्य गर्ने समयसीमा निर्धारण गर्दा उत्पादकत्व र सेवा प्रवाहमा सकारात्मक परिवर्तन आउने गरी समयसीमा निर्धारण गर्नुपर्छ । कसैलाई कुन समय, कसैलाई कुन समय मिल्छ । सोहीअनुसार फ्लेक्जिबल बनाई कार्य गर्न सके उत्पादकत्वमा अझ वृद्धि हुन सक्छ । दोहोरो संवादलाई संस्थामा मान्यता दिनुपर्छ ।

राम्रा कुरा अवलम्बन गर्ने बानी दुवैका लागि फलदायी हुन सक्छ । कर्मचारी कल्याण र स्वास्थ्यका विषयमा चासो दिइनुले कार्य–वातावरण अझ फराकिलो बनाउन सहयोग गर्छ । कर्मचारीको वृत्ति विकासमा जोड दिई कम लागतमा बढी प्रतिफल प्राप्त हुने आश्वासन संस्थाका तर्फबाट दिलाउन सक्नुपर्छ । सामूहिक कार्य र समन्वयसँगै संस्थागत लक्ष्य प्राप्तिका लागि अग्रसर रहने कर्मचारीहरूबीच राम्रो औद्योगिक सम्बन्ध स्थापित गर्न सके पक्कै पनि संस्थालाई थप फाइदा पुग्छ नै ।

संस्था र कर्मचारीबीचको सम्बन्ध
संस्था रहे मात्र कर्मचारी रहने र कर्मचारीको भूमिकाले संस्था रहने वा नरहने भन्ने भूमिका खेल्ने हुँदा यी दुई विषय एकअर्कासँग अन्योन्याश्रित देखिन्छन् । संस्थाको उन्नति र प्रगतिका लागि जनशक्ति र यसमा प्रयोग भएको स्रोतको सुनिश्चितता तथा कर्मचारीको भूमिका रथका दुई पाटाजस्तै हुन् । एकबिना अर्कोको स्थिति लंगडो प्रायः हुने गर्छ । कर्मचारीले बढी काम तबमात्र गर्छन्, जब उनीहरूलाई स्पष्ट मार्गनिर्देशन, उचित प्रोत्साहन, काम गर्ने र नगर्नेबीच फरक र सहयोगी कार्य–वातावरणको उपलब्धता सुनिश्चित हुन्छ । प्रेरणा, सम्मान र उचित अवसरका माध्यमबाट उनीहरूको क्षमता र उत्पादकत्व उच्चतम तहमा पुर्‍याउन सकिन्छ ।

अन्त्यमा जनशक्ति भनेका संस्थाका मजबुत पिल्लर हुन् । पिल्लर मजबुत भएन भने जतिखेर पनि भासिन सक्छ या भूकम्पका बेला बढी जोखिम सिर्जना हुन्छ । संस्थामा रहेका जनशक्ति सबल, सक्षम, सीपयुक्त र सकारात्मक सोच भएका छन् भने पक्कै पनि संस्था जुनसुकै परिस्थितिमा पनि नढलमलाई अगाडि बढ्न सक्छ । संस्थाभित्र पनि भूकम्पजस्तै विभिन्न किसिमका कम्पन या भनौँ धक्का आइरहन्छन् । त्यस्ता धक्का या कम्पन थेग्ने सामथ्र्य कर्मचारीमा छ भने संस्थाले त्यस्ता परिस्थितिको सामना सजिलै गर्न सक्छ । विषम परिस्थितिमा पनि समयानुकूल बन्दै संस्थामा दूरगामी लक्ष्य तथा योजनाहरूमा सफलता प्राप्त गर्न सहज र अहं भूमिका खेल्नु हरेक कार्यरत जनशक्तिको दायित्व रहन्छ । यसका साथसाथै संस्थाका तर्फबाट कर्मचारी र संस्थाकै विभिन्न पक्षमा हित हुने दूरगामी निर्णय समयमा गर्दै कार्यरत जनशक्तिको मनोबल उच्च बनाइराख्न र सोहीअनुसारको कार्य–वातावरण उपलब्ध सुनिश्चित गराउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्