Logo

रविलाई सम्पत्ति शुद्धीकरणको मुद्दा लगाइ सांसदबाट निलम्बनको विरोध गर्ने निर्णय

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद अधिवेशनमा पार्टीका सभापति तथा संसदीय दलका नेता रवि लामिछानेलाई सम्पत्ति शुद्धीकरणको मुद्दा लगाएर सांसद पदबाट निलम्बनको विरोध गर्ने निर्णय गरेको छ ।

रास्वपाको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सरकारले राजनीतिक प्रतिसोधका आधारमा प्रतिनिधि सभा नियमावलीको विपरीत लामिछानेलाई सम्पत्ति शुद्धीकरण समेतको मुद्दा हालेर सांसद पद निलम्बन गरेको ठहर गरेको भन्दै संसद बैठकमा विरोध गर्ने निर्णय गरेको बताए ।

उनले सभापति माथि साँधिएको राजनीतिक प्रतिशोध, सहकारी र अर्थतन्त्र, असन्तुलित परराष्ट्र नीति र सत्ता समिकरणको सात बुँदाको समेत विरोध गर्ने निर्णय गरेको बताए । उनले संसदको हिउँदे अधिवेशनमा जाँदा सरकारले सदनलाई छलेर अध्यादेश ल्याउने काम गरेको भन्दै अध्यादेशको अस्वीकारको प्रस्ताव गर्ने निर्णय गरेको बताए ।

परियारले सरकारले ल्याएको नयाँ धितोपत्र बोर्डको अवधारणाको सैद्धान्तिक विमति नभएको तर नेप्सेलाई नै पुनसंरचना गर्नेमा व्यक्ति विशेष र स्वार्थ समूहका लागि नयाँ स्टक एक्सचेन्ज ल्याउने निर्णयको विरोध गर्ने निर्णय भएको उल्लेख गरे । उनले ताप्लेजुङको पाथीभरामा जुन केबलकार राख्ने विषयमा स्थानीय प्रशासन र स्थानीय बासीबीचको झडपको भ्रर्सना गर्दै राज्यबाट भएको ज्यादतीको विरोध गर्ने निर्णय भएको जानकारी दिए ।

रास्वपाको संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठको संयोजकत्वमा बैठक बसेको थियो । लामिछाने सहकारी ठगी तथा सम्पत्ति शुद्धीकरणको मुद्दा लागेसँगै सांसद पदबाट निलम्बन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्